शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एउटा दूरद्रष्टाप्रति श्रद्धासुमन जसले आफूलाई एक्लो वृहस्पति ठान्थे

मङ्गलबार, ०६ साउन २०८२, १८ : ३३
मङ्गलबार, ०६ साउन २०८२

विश्वेश्वरप्रसाद कोइरालालाई बीपी भनेर नै बढी भनिन्छ र लेखिन्छ । उहाँका बारेमा उहाँले नै भन्नुभएको थियो आफ्नो जीवनमा प्राप्त एक मात्र साहित्यिक सम्मानको सम्बोधनमा— ‘मेरो साहित्यको सही समीक्षा या समालोचना हुन सकेको छैन, म त लेफ्ट ह्यान्डेड क्रिटिकको फेला परेको छु, कसैले अति प्रशंसा त कसैले अति आलोचना, त्यो मेरो राजनीतिक कारण हो ।’ 

त्यो साहित्यिक सम्मान साहित्यिक पत्रकार संघले २०३८ सालको श्रीपञ्चमीका दिन डिल्लीबजारको सांस्कृतिक संघको हलमा गरिएको थियो । त्यहाँ उपस्थित हुनुभएका युगकवि सिद्धिचरण श्रेष्ठ र कवि तथा गीतकार, गायक जनार्दन समतिर देखाएर भन्नुभएको थियो, उहाँहरूजस्ता साहित्यिक महारथिका अघिल्तिर मलाई सम्मान गर्दा अप्ठेरो लागेको छ । त्यो साहित्यिक अभिनन्दन गर्ने मुख्य आयोजक त साहित्यिक पत्रकार संघ नै हो तर त्यसका अध्यक्ष अच्युतरमण अधिकारी र हर्ताकर्ता अनि संयोजनकर्ता साहित्यकार हरि अधिकारी हुनुहुन्थ्यो । सायद त्यही कारणले हरिदाइले नेपाल सरकारको निजामती सेवाबाट अवकाश पनि लिनुपरेको हो क्या रे । अर्थात् बीपीलाई पनि जीवनभर आफ्नो साहित्यिक मूल्याङ्कन भएको जस्तो लागेको थिएन । त्यसको प्रतिध्वनि त राजनीतिक रूपमा पनि आफ्नो क्षमताको पहिचान मुलुकले नगरेको पनि अनुमान लगाउन सकिन्थ्यो । 

वि.सं. २०१७ वरिपरि र त्यसपछिको पुस्ताले बीपीसँग नेपालमा त्यति धेरै साक्षात्कार गर्न पाएन किनभने २०१७ पुस १ गतेबाट उहाँ र उहाँका राजनीतिक सहकर्मीहरू कारागारमा हुनुहुन्थ्यो । आठ वर्षपछि कारागारबाट रिहाइ भए पनि उहाँ स्वनिर्वासनमा भारततिर जानुभयो । एकैचोटि २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ र उहाँको राजनीतिक समूह विनासर्त नेपाल आउनुभए पनि तत्कालीन पञ्चायती शासनले उहाँहरूलाई जेलमा बन्दी बनायो । जेलमा बन्दी बनाए पनि एउटा कुरा भने स्पष्ट देखिन्थ्यो, नेता भनेको कस्तो हुनुपर्छ ? उहाँले सशस्त्र क्रान्ति गरौँ भन्दा पनि तयार, सैयौँ कार्यकर्ताहरू जेलमा थिए अनेकानेक आरोप र मुद्दामा जो पञ्चायती शासनको कोपभाजनमा परेका थिए, ती पनि नेताको एउटा अपिलमा राष्ट्रिय मेलमिलापका लागि तयार भए । 

राष्ट्रिय एकता तथा मेलमिलापको अर्थ सिधा थियो, राष्ट्रियताका प्रश्नमा राजासँग मिल्ने, प्रजातन्त्रका प्रश्नमा भने अपरिहार्य रूपमा प्रजातन्त्र आवश्यक छ भनेर प्रजातन्त्र पुनर्बहालीका लागि अनवरत लागिरहने । मुलुकभित्र शान्तिपूर्ण आन्दोलन गरेर जसरी पनि प्रजातन्त्रको पुनर्बहाली गर्ने उहाँको र उहाँको दल नेपाली कांग्रेसको अभीष्टता देखिन्थ्यो । बीपी क्यान्सरबाट ग्रस्त भएको प्रमाण त राजाले नै बीपीलाई देखाएर स्वास्थ्योपचारका लागि विदेश समेत जानका लागि पेरोलमा रिहा गरेर । बीपीको जिद्दी थियो, मेरो स्वास्थ्यभन्दा मुलुकको स्वास्थ्य खराब छ, यसको उपचार राजा र जनताका प्रतिनिधि मिलेर गरौँ । राजा वीरेन्द्रले बीपीलाई सम्झाउँदै भनेका रहेछन्— अहिले तिम्रो स्वास्थ्योपचार जरुरी छ । नभन्दै बीपीको उपचार अमेरिकासम्म गएर भयो र उहाँ फर्केर आएपछि मुलुकमा बिस्तारै राजनीतिक रूपान्तरणको सन्देश फैलिन थालेको थियो । 

बीपी अमेरिकाबाट नफर्कंदै फाँसीको सजाय पाएर जेलमै रहेका क्याप्टेन यज्ञबहादुर र भीमनारायणलाई फाँसी दिइयो । स्वयं बीपीलाई पनि सातवटा मुद्दाहरू लगाइएका थिए जसको परिणाम फाँसी समेत हुन सक्थ्यो । पञ्चहरूलाई यसरी बीपीको ज्यान बचाएकोमा चित्त बुझेको थिएन र पञ्चर्‍याली गर्दै बीपीलाई फाँसी दे भन्ने नारा घन्काइन थालेको थियो । एकातिर बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर न संघर्ष, न समर्पण भन्दै हुनुहुन्थ्यो भने बीपीका अनुयायीलाई तामेलीमा रहेको फाँसी अचानक दिइएर बीपीलाई उहाँका मुद्दाको परिणाम कस्तो हुनेछ भन्ने सङ्केत दिएको ठानिएको थियो तर बीपी विचलित हुनुभएन । 

बीपीलाई स्वास्थ्योपचारपछि घरमै बस्ने सुविधा पनि दिइयो तर नजरबन्दको रूपमा । अर्थात् बीपीको क्रियाकलापलाई सूक्ष्म रूपमा अनुगमन गरिन्थ्यो भन्ने बुझ्न सकिन्छ तर बीपीले आफ्नो अडान कायम गर्नुभयो र अदालतमा आफ्नो जवाफदेहिताको जिम्मा लिनुभयो । बीपी अब प्रवासमा जाने मुडमा हुनुहुन्नथ्यो । उहाँले कार्यवाहक सभापतिको जिम्मा कृष्णप्रसाद भट्टराईलाई दिनुभएर पार्टीको दैनिक कार्यमा भन्दा किन राष्ट्रिय मेलमिलाप आवश्यक परेको हो भन्ने विषयमा आफ्ना धारणा व्यक्त गर्नुहुन्थ्यो । बीपी नेपाल आउनु भएपछि प्रतिबन्धित रूपमा रहेको नेपाली कांग्रेसले आफ्नो सांगठनिक कार्य गर्न थाल्यो । बीपी र गणेशमानजीले कमलाक्षीको अप्टिकल हाउसको माथि सम्पर्क कार्यालय राख्नुभएको थियो । सरकारको निगरानीमा हुँदाहुँदै पनि बीपी जेसुकै होस् भनेर अदालत पनि धाउने अनि संगठन पनि गर्ने गर्दा त्यसको प्रभावले नेपाली कांग्रेसको संगठन बिस्तारै विस्तारित हुन थाल्यो । पुराना र नयाँ कार्यकर्तामा नयाँ उत्साह देखिन थालेको थियो । उहाँको अभीष्टता भनेको नेपालमा बहुदलीय प्रजातान्त्रिक प्रणालीको पुनस्र्थापना गर्नु थियो । राजाले २०१७ पुस १ गते गरेको विघटनको पश्चाताप गर्दै प्रजातन्त्र पुनस्र्थापना गरेमा मुलुकमा फेरि प्रजातन्त्र प्राप्तिका लागि रक्तपातपूर्ण क्रान्ति गर्नुपर्दैनथ्यो भन्ने बुझ्न सकिन्थ्यो । 

आफ्नो जीवनको उत्तरार्द्धमा बीपीमा सत्ताको भोकभन्दा पनि मुलुकको अस्मिताप्रतिको चिन्ता अत्यधिक थियो ।

सामान्यतया बीपी पेरोलमा छुटेपछि स्वर्गीय तारिणीप्रसाद कोइरालाको घर जयवागेश्वरीमा बस्न थाल्नुभएको थियो । त्यहाँ जानु पनि निरापद थिएन । बाहिर सडकमै उहाँका घरमा को को आउँछन् भनेर निगरानी गर्नेहरू चेस या बाघचाल खेलेर बसेका हुन्थे तर बीपीको कुरा सुन्न, उहाँको सल्लाह लिन र आदेश प्राप्त गर्न युवाहरू हजारौँ संख्यामा आउँथे । शनिबारको दिन ठुलो भेला हुन्थ्यो र बीपी आफ्ना अनुभव बाँड्नुहुन्थ्यो । एक दिन बीपीले सत्याग्रह गर्दा पनि राजा महेन्द्रले संविधानसभाको निर्वाचन गर्न नचाहेको तर आफैँले एउटा प्रजातान्त्रिक संविधान दिने भनेकाले राजाको निर्देशनमा एउटा संविधान मस्यौदा समिति गठन गरिएको थियो । संविधान आएको त छैन तर सहमतिमा नेपाली कांग्रेसका नेता सुवर्णशमशेर राणाको अध्यक्षतामा दलहरू र राजाका मानिसहरू समेत राखेर संयुक्त मन्त्री परिषद् गठन गरिएको थियो । संविधान बन्दै गर्दा के कुरा थाहा पाइएछ भने राजाले संविधानमा आफूलाई सहज हुने गरी सङ्कटकालको घोषणा गर्ने व्यवस्था गर्न लागेका रहेछन्, धारा ५५ मा । संविधान बनाउन आएका विज्ञ आइभर जेनिङ्स्लाई बीपीले सोध्नुभएछ, भोलि प्रजातान्त्रिक सरकारविरुद्ध कुनै पनि अधिकार राजाले कसरी पाउँछन् ? आइभर जेनिङ्सले भनेछन्— यो अधिकार राजाले मन्त्री परिषद्को सिफारिसविना प्रयोग गरे भने सर्पले छुचुन्द्रो मुसो भनेर खाएजस्तो अवस्था आउनेछ । छुचुन्द्रो र मुसो उस्तै देखिन्छन् । सर्पले छुचुन्द्रोलाई मुसो सम्झेर खायो भने निल्न आँट्यो भने छुचुन्द्रोले त्यस्तो ग्यास छोड्ने छ कि सर्प तत्काल दृष्टिविहीन हुनेछ । कसै गरी निल्यो भने त्यसले सर्पको जिउभरि फोका उठेर पटपट फुट्नेछ र कोर हुनेछ । सर्प मर्नेछ अकालमा । बीपीले भन्नुभयो— तर राजाले मन्त्री परिषद्को सिफारिसविनै २०१७ पुस १ गते मन्त्री परिषद् मात्र भंग गरेनन्, दुवै सदन नै भंग गरे, प्रजातान्त्रिक व्यवस्थाको हत्या गरे । यसको फल एक दिन आउने नै छ । नभन्दै त्यही प्रजातन्त्रको हत्याको ४८ वर्षपछि त्यो छुचुन्द्रोका कारणले राजतन्त्र नै नाश भयो जसको साक्षी बीपी हुन पाउनुभएन । आइभर जेनिङ्सको व्याख्या पुग्यो । राजा कहिले पनि प्रजातन्त्रका पक्षमा देखिन चाहेनन् । भन्न त भने २०३६ जेठ १० गते बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायत तर आफैँले घोषणा गरेको जनमत संग्रहलाई समेत निष्पक्ष गराउन चाहेनन् र पञ्चायतलाई जिताउन सबै गर्न हुने नहुने हतकण्डा अपनाएको देखिन्थ्यो । सानो मतले बहुदल हारेको भए पनि त्यसपछि सुधारिएको भनेको पञ्चायतमा दलहरूप्रति झन्झन् कठोर व्यवहार गर्दा त्यो जनमत संग्रहको परिणाम १० वर्षमै जनताले, दलहरूले संयुक्त जनआन्दोलन गरेर प्रजातन्त्रको पुनस्र्थापना गरे २०४६ चैत २६ गते राति । त्यसपछि संवैधानिक राजा भएर बस्ने बेलामा पनि प्रजातन्त्रका विपक्षमा अनेक काम गरिरहेका थिए ।

अन्ततः २०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्रलाई सदाका लागि नेपालबाट बिदा गरेको छ । राजाका बारेमा अहिले पक्ष र विपक्षमा नेपाली जनमत बाँडिएको देखाइएको छ । अनावश्यक रूपमा बीपीलाई कसैले पक्षमा त कसैले विपक्षमा देखाउँछन् । पक्षमा देखाउनेहरू भन्छन्, आफूलाई फाँसी दिन सक्ने राजतन्त्रका पक्षमा सधैँ बीपी देखिनुभयो र राजतन्त्रको अपरिहार्यताको बारेमा बोलिरहनुभयो । त्यसैले बीपीवादले राजाको पक्षमा बोल्छ । विपक्षमा व्याख्या गर्नेले भन्छन् बीपीले राजतन्त्रलाई फुर्क्याएको मात्र हो, रणनीतिक रूपमा राजाराजा भनेको मात्र हो, राजाका विरुद्धमा दुईदुईपटक सशस्त्र क्रान्ति गर्नेले राजाको वकालत कसरी गर्थे होलान् र ? बीपीको अनुपस्थितिमा राजाको पक्ष र विपक्षमा उहाँलाई व्याख्या गरिनु भनेको उहाँको राजनीतिक वजनको अपव्याख्या गरिएको हो । आजको अवस्थाको हिजो कल्पना गरिएको थिएन तर राजा ढिलो–चाँडो राजनीतिबाट ओझेलमा पर्ने कुरा पक्का नै थियो, किनभने राजामा अति नै शासनको भोक जागेर आएको देखिन्थ्यो । चाहे त्रिभुवनमा होस्, महेन्द्रमा होस् या ज्ञानेन्द्रमा । विधिवत् राजतन्त्र गएका बेलामा जनताको अधिकारका पक्षधर बीपीले राजतन्त्रको वकालत गर्नुहुन्थ्यो होला भन्ने कल्पना पनि गर्न सकिँदैन । आज पनि बीपीलाई सम्झनुपर्दा संसदीय प्रजातन्त्रका पक्षमा, उदारवादी सामाजिक प्रजातन्त्रका पक्षमा, सामाजिक न्यायमुखी समावेशी प्रजातन्त्रका पक्षमा नेपालको राष्ट्रियता, प्रजातन्त्र, समाजवादको प्रणेताका रूपमा मानिन्छ । २००३ देखिको अनवरत रूपमा नेपाली राजनीतिलाई छाइरहने व्यक्तिको रूपमा बीपीलाई सम्झनुपर्छ । 

बीपीका बारेमा अनेक सत्य कथाहरू छन्, जुन किंवदन्ती जस्तै लाग्छ र मृत्योपरान्त पनि अनवरत नेपाली राजनीतिलाई आदर्श मार्गदर्शन गरिरहनु पनि उहाँको विकल्पमा कुनै नेता नदेखिनु पनि हुन सक्छ । त्यस्ता अद्भुत, अपूर्व नेताको देहावसान भएको पनि ४३ वर्ष भएको छ र त्यो रिक्तता अझै पूरा हुन सकेको देखिँदैन । नेता त धेरै जन्मिए होलान् तर दूरदृष्टि राखेर नेपालका बारेमा सोच्ने नेताको कमी खड्केको छ । 

आफ्नो जीवनको उत्तरार्द्धमा बीपीमा सत्ताको भोकभन्दा पनि मुलुकको अस्मिताप्रतिको चिन्ता अत्यधिक थियो । आफूलाई एक्लो वृहस्पति भनेर भन्न थाल्न भएको थियो तर पनि राजासँग मिलेर मुलुकमा प्रजातन्त्रको पुनर्बहालीका लागि अनेक प्रयत्न गर्नुभएको हो, ओरालो बाटो लाग्न थालेको राजतन्त्रले यति धेरै अहंकार देखायो कि अन्ततः विनाशको बाटो आफैँ रोज्यो । 

सबैलाई मिलाएर जाउँ, मुलुकको अस्मिता जोगाउन सबैको प्रयत्न जरुरी छ र प्रजातान्त्रिक व्यवस्थामा मात्र मुलुकको अस्मिता जोगिन्छ भन्ने महान् नेताको सम्झनामा श्रद्धासुमन अर्पण गर्नु नै श्रेयस्कर हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिविनोद अधिकारी
हरिविनोद अधिकारी
लेखकबाट थप