सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कुलेखानी सिमखोलमा बेलिब्रिज जडान धमाधम

बुधबार, ०७ साउन २०८२, १२ : ४३
बुधबार, ०७ साउन २०८२

सारांश

  • मकवानपुरको कुलेखानीस्थित सिमखोलमा बेलिब्रिज जडान कार्यलाई तीव्रता दिइएको छ, जसले गर्दा साउनभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ।
  • बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडानका लागि साउन १५ गतेभित्र काम सक्ने लक्ष्य राखिएको छ।
  • हेटौँडा काठमाडौँ जोड्ने सडक सञ्चालनका लागि सिमखोलामा डाइभर्सन गरेर सवारीसाधन सञ्चालन गरिएको छ।

मकवानपुर । मकवानपुरको कुलेखानी स्थित सिमखोलमा बेलिब्रिज जडान कार्यलाई तीव्र बनाइएको छ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान कार्य तीव्र बनाइएको हो ।

वर्षा अघि नै सञ्चालनको योजना बनाइएको उक्त बेलिब्रिज पूर्वतयारीका काम गर्न केही ढिलाई भएपनि साउन अगावै काम सक्ने तयारी रहेको छ । आगामी साता भित्रै काम सम्पन्न गरेर सञ्चालनको योजना रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख इन्जिनियर नवीन कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार बेलिब्रिज जडान कार्य सकेर साउनभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । गत सातादेखि बेलिब्रिज जडानको काम थालिएको उनले बताए । दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको उनको भनाइ छ । 

सिमखोलामा ५७ मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले सोही सडक अन्तर्गतका २ वटा बेलिब्रिज झिकेर ल्याएको निर्देशक सिंहले बताए । सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डु खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको उनले बताए ।

belly bridge 2

साउनको १५ गते भित्र नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको र हालसम्म पुल निर्माणको ८० प्रतिशत काम भएको उनले बताए । निर्माण व्यवसायीको तर्फबाट पनि साउन १५ मा काम सक्ने गरी प्रतिबद्धता आएको र सोही अनुसार संचनलनको तयारी गरिएको उनको भनाई छ ।

belly bridge 3

बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको उनले बताए । उक्त कम्पनीले गत वैशाखदेखि काम थालेको र बढीले क्षति पुगेका स्थानमा पहुँच मार्ग निर्माणका लागि प्लम्प वाल लगाउने, बाँध सहितको मेसिनरी वाल निर्माण, बेलिब्रिजको लागि बेस निर्माण लगायतको काम सम्पन्न गरेको भइसकेको छ । 

belly bridge 5

भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसंगै सडक क्षतिग्रस्त बनेको थियो । सिमखोलाको पुलमा क्षति पुगेसँगै हेटौँडा काठमाडौँ जोड्ने उक्त सडक सञ्चालनका लागि खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप