बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ : उपसभामुख राना

शुक्रबार, ०९ साउन २०८२, ११ : १५
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • उपसभामुख इन्दिरा रानाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता औंल्याइन्।
  • उनले जलवायु परिवर्तनले पारेको असर र हरित ऊर्जाको प्रवर्द्धनबारे प्रकाश पारिन्।
  • नेपालले द्वन्द्वबाट शान्ति र विकासको लागि सहकार्यलाई प्राथमिकता दिँदै आएको बताइन्।

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी छन् । चीनको हेनान प्रान्तमा सांघाई सहयोग मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले जलवायु परिवर्तनको लागि योगदान नगरे पनि त्यसको प्रत्यक्ष असर भोगेको नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी हुन् ।  

‘विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्दै उपसभामुख रानाले हिमाली राष्ट्रको रूपमा नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको चर्चा गर्दै मौसम परिवर्तनका असरले हिमाली र ग्रामीण क्षेत्रका नागरिकमा त्यसको प्रत्यक्ष प्रभाव परेको बताइन् । 

 ‘जलवायु परिर्वतनका असर कम गर्दै लैजान, हरित ऊर्जा प्रवर्द्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न हामीलाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ’ उनले भनिन्–  ‘हामीले यो सङ्कट निम्त्याएनौँ, तर हामी समाधानको हिस्सा बन्न दृढ छौँ।’

जलवायु परिवर्तन, असमानता वा क्षेत्रीय तनाव आज हामीले सामना गर्ने चुनौतीहरू एक देशले मात्र सम्बोधन गर्न नसक्ने भएकाले सांघाई सहयोग मञ्च जस्ता प्लेटफर्महरू प्रभावकारी हुने उनको भनाइ छ ।  विकास पहाड, तराई र दुर्गम गाउँहरूमा पनि सबैभन्दा बढी आवश्यकता पर्ने ठाउँमा पुग्नुपर्ने धारणा राख्दै उपसभामुख रानाले नेपालले वातावरणको संरक्षण गर्दै मानिसहरूलाई गरिबीबाट मुक्त गर्ने काम गरिरहेको बताइन् । 

नेपालले द्वन्द्वबाट शान्तिसम्मको लामो यात्रा तय गरेको चर्चा गर्दै उपसभामुख रानाले  लोकतान्त्रिक गणतन्त्रमा  रूपान्तरण सजिलो नभए पनि संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागिता मार्फत यो सम्भव भएको उनको भनाइ थियो । 

नेपालले जहिले पनि प्रतिस्पर्धाभन्दा पनि सहकार्यलाई प्राथमिकता दिँदै आएको बताउँदै उपसभामुख रानाले नेपालले पूर्वाधार निर्माण गर्न, व्यापारिक सम्बन्ध बढाउन र जनता जनता बिचकाे सम्बन्धलाई बलियो बनाउन चीन र अन्य छिमेकीहरूसँग नजिकबाट काम गरिरहेको बताइन् । नेपाल साझेदारीले पारस्परिक सम्मान, वातावरणीय दिगोपन र त्यसबाट लाभ लिन सक्ने सिद्धान्तबाट निर्देशित हुँदै आएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप