स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान
सारांश
- स्याङ्जामा 'एक सामुदायिक वन, एक पोखरी' अभियान अन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन्।
- डिभिजन वन कार्यालयका अनुसार, आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म विभिन्न सामुदायिक वनमा पोखरी निर्माण भएका हुन्।
- पोखरी निर्माणले पानीका मुहान संरक्षण, वन्यजन्तुलाई पानीको स्रोत र सिँचाइमा सहयोग पुर्याउने बताइएको छ।
स्याङ्जा । स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको अभियानलाई कार्यान्वयन गर्दै जिल्लाका विभिन्न सामुदायिक वनमा २७ वटा रिचार्ज पोखरी निर्माण भएका हुन् ।
पछिल्ला चार आर्थिक वर्षमा जिल्लास्थित सामुदायिक वनमा पोखरी निर्माणलाई अभियानका रूपमा अगाडि बढाइएको जिल्लास्थित डिभिजन वन कार्यालयका वन अधिकृत अम्मरबहादुर पराजुलीले जानकारी दिए । उनका अनुसार आव २०८१/८२ मा तीन, आव २०८०/८१ मा १२, आव २०७९/८० मा आठ र आव २०७८/७९ मा चार वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
‘एक सामुदायिक वन, एक पोखरी’ अभियान लागू भएसँगै हालसम्म २७ सामुदायिक वनमा २७ वटा पोखरी निर्माण गरेका छौँ’, पराजुलीले भने, ‘आगामी दिनमा पनि अन्य सामुदायिक वनमा यस्तै प्रकृतिका रिचार्ज पोखरी निर्माणलाई निरन्तरता दिँदै जानेछौँ ।’
पछिल्ला केही वर्षयता खोला खोल्सीमा पानीका मुहान सुक्दै गएकाले वनको बीच तथा माथिल्लो भागमा रिचार्ज पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रमा पानीका मूल फुट्ने, पानीको स्रोत बढ्ने भएकाले यसलाई अभियानका रूपमा सञ्चालन गरिएको उनले बताए ।
वन जङ्गलमा वन्यजन्तुलाई पिउनका लागि पानी नहुँदा वन्यजन्तु पानीको खोजीमा जङ्गलबाट गाउँघरतिर आउनेक्रम बढ्दो रहेकाले वन्यजन्तुलाई गाउँतिर प्रवेश गर्न नदिनका लागि पनि यस प्रकारको रिचार्ज पोखरीले महत्त्व राख्ने उनको दाबी छ ।
‘कतिपय ठाउँमा सडक निर्माण गर्ने कार्यले पानीका स्रोतहरू हराउँदै गएका छन्’, वन अधिकृत पराजुलीले भने, ‘माथिल्लो भागमा रिचार्ज पोखरी हुँदा तल्लो तटीय क्षेत्रमा पानीका स्रोत दिगो हुने, वन्यजन्तु तथा चरनका लागि लगिएका पशुचौपायालाई पानी खुवाउन सहज हुने र आवश्यक परेको खण्डमा सिँचाइका लागि पनि प्रयोग गर्न सकिन्छ ।’ पोखरीको चारैतिर वा आवश्यकता अनुसार पक्की पर्खाल लगाइएको छ भने तल्लो जमिनलाई पुरानै अवस्थामा छोड्ने गरिएको उनको भनाइ छ ।
वनमा निर्माण गरिएका पोखरी बहुउपयोगी रहेका फेदीखोला गाउँपालिका– ४ स्थित कुचेको मुहान सामुदायिक वनका पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष उमाकान्त सुवेदीले बताए । ‘वनमा निर्माण गरिएका पोखरीलाई उपभोक्ताले बहुउपयोगी तरिकाले प्रयोग गरिरहेका छौँ’, उनले भने, ‘रिचार्ज पोखरीभन्दा तल्लो भागमा पानीको मुहान जोगाइराख्न सहयोग पुग्ने, पशुचौपायालाई खुवाउन, सिँचाइका लागि प्रयोग गर्दै आएका छौँ । वन्यजन्तुले पनि यही पोखरीको पानी खान सक्नेगरी निर्माण गरेका हौँ ।’
पोखरी निर्माणसँगै वन क्षेत्र मनमोहक र सुन्दर देखिन थालेको सुवेदीले बताए । डिभिजन वन कार्यालय स्याङ्जाले प्रतिपोखरी निर्माणका लागि रु एक लाख उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण