सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व एक्वेटिक्स च्याम्पियनसिप : नेपालका ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने

शुक्रबार, ०९ साउन २०८२, १५ : ५५
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गर्ने छ ।

प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् ।पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी श्रेष्ठले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । 

महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

व्यवस्थापकमा नेपाल पौडी सङ्घका सदस्य विकास शर्मा तथा प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन् । 

जुलाइ ११ देखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुने नेपाल पौडी सङ्घका सचिव गंगालाल गोलेले जनाएका छन् ।

जुलाइ २७ मा अजलले ५० मिटर बटरफ्लाइ, २८ मा डुवानाले १ सय मिटर ब्रेस्टस्ट्रोक र इर्भिनले २ सय मिटर फ्रिस्टायल तथा २९ मा डुवानाले २ सय मिटर फ्रिस्टायलमा खेल्ने तालिका छ ।

जुलाइ ३० मा इर्भिनले १ सय मिटर फ्रिस्टायल, ३१ मा आर्याले १ सय मिटर फ्रिस्टायल, अगष्ट १ मा अजलले ५० मिटर फ्रिस्टायल र २ मा आर्याले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली अगष्ट ४ तारिखमा स्वदेश फर्किने छ ।

टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतले शुक्रबार नै एक कार्यक्रमबिच बिदाइ गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप