जापानको रेल यात्रा : समय र प्रविधिको सुन्दर संयोजन
जापानको यात्रा एउटा सपनाजस्तो लाग्छ, जहाँ हरेकपल नयाँ अनुभवको रङले रङ्गिन्छ । आज म तपाईंहरूलाई जापानको रेल यात्राको अनुभव सुनाउनेछु । यो यात्रा केवल यातायातको साधन होइन, यो त जापानको आत्मा हो— अनुशासित, प्रविधिमा आधारित र समयको सुईजस्तो चल्ने । म यहाँ आएपछि धेरै रेलहरू चढेँ, टोकियोको व्यस्त यामानोटे लाइनदेखि सिन्कानसेनको हावासँगै दौडने गतिसम्म । हरेक यात्राले चकित पार्छ, जस्तो कि प्रविधि र प्रकृतिको सुन्दर मेलामा डुबिरहेको छु । यो लेखमा म मेरा व्यक्तिगत अनुभव, रेल प्रणालीको विशेषता र यात्रुहरूलाई उपयोगी सुझावहरू बाँड्ने कोसिस गर्नेछु ।
जापान पुग्दा हानेदा विमानस्थलबाट मेरो पहिलो रेलयात्रा सुरु भयो । त्यसपछि मैले टोकियो मोनोरेल टिकट किनेँ, यो मेरो जापानको पहिलो रेल अनुभव थियो । रेल स्टेसनमा प्रवेश गर्दा मानिसहरूको अनुशासित पङ्क्ति, क्युआर कोड र स्मार्ट कार्ड ट्याप गरेर प्रवेशद्वार पार गर्ने दृश्यलाई मैले पछ्याउँदै थिएँ । रेलभित्र प्रवेश गर्दा शान्त वातावरणले मन छोयो, कुनै कोलाहल थिएन, मानिसहरू आफ्नै दुनियाँमा मग्न थिए । नेपालको बसहरूको हल्ला र धक्कमधक्का सम्झँदा मन अतिन्थ्यो, यो शान्ति एउटा काव्यात्मक सङ्गीतजस्तो लाग्यो । स्टेसनहरू सफा र व्यवस्थित थिए, जसले जापानी जनजीवनको अनुशासन झल्काउँछ ।
जापानको रेल प्रणाली विश्वकै उत्कृष्ट मानिने रहेछ, यो कुरा यहाँको यात्रा गर्दा अनुभव हुन्छ । जापान रेलवे (जेआर) ले मुख्य रूपमा रेल सञ्चालन गर्छ, जसमा जेआर इस्ट, जेआर वेस्ट, जेआर मध्यजस्ता क्षेत्रीय समूह छन् । यसबाहेक निजी कम्पनीहरू तोबु र ओदाक्युले पनि सेवा दिन्छन् । यहाँको रेलको इतिहास सन् १८७२ बाट सुरु भएको रहेछ, तर १९६४ मा सिन्कानसेनको सुरुवातले यो प्रणालीलाई विश्वमै चर्चित बनायो । सिन्कानसेन, जसलाई बुलेट रेल भनिन्छ, जो ३२० किलोमिटरप्रति घण्टाको गतिमा चल्छ । मेरो पहिलो सिन्कानसेन यात्रा टोकियोबाट टाकासाकी जाँदा–आउँदा थियो । बाहिरको दृश्य (वरपरका पहाड, हरियाली, अग्ला भवनहरू र साना गाउँहरू) यति छिटो छाडिन्थे कि मलाई लाग्यो, समयलाई नै उछिनेको छु । रेलभित्रको सुविधा (आरामदायी सिट, इन्टरनेट र खानेकुरा) ले यात्रालाई विमानको यात्रा भन्दा पनि उत्कृष्ट बनाएको थियो । 
जापानका रेलहरू विभिन्न प्रकारका छन्, जसले हरेक यात्रुको आवश्यकता पूरा गर्छन् । स्थानीय रेलहरू सहरभित्र छोटो दूरीका लागि उपयुक्त छन् । उदाहरणका लागि— टोकियोको यामानोटे लाइन, जसले सिन्जुकु, सिबुया र उएरोजस्ता मुख्य ठाउँहरू जोड्छ । यो लाइनमा हरेक दुई–तीन मिनेटमा रेल आउँछ र यो पर्यटकका लागि निकै सुविधाजनक छ । द्रूत रेलहरू अलि छिटो हुन्छन् र कम स्टेसनमा रोकिन्छन् । सिन्कानसेन नै यहाँको गहना हो । यसमा नोजोमी (सबैभन्दा छिटो), हिकारी र कोदामा जस्ता प्रकार छन् । नोजोमीमा यात्रा गर्दा सबैभन्दा रमाइलो लाग्यो, किनभने यो रेलले समयको महत्त्व बुझाउँछ । यसबाहेक भूमिगत रेल र एकल रेलले सहरभित्रको यात्रालाई सहज बनाउँछ । सिन्जुकुमा भूमिगत रेल चढ्दा मलाई लाग्यो, यो प्रणालीले ट्राफिक जामलाई पूरै हराइदिएको छ । ओसाकामा युनिभर्सल स्टुडियो जाँदा यो रेलले समय बचाएर यात्रालाई अझ रमाइलो बनायो । जापानको रेल यात्रा महँगो लाग्न सक्छ । सिन्कानसेनको टिकट २५०० येनभन्दा माथि तिर्नुपर्छ, तर पर्यटकका लागि जेआर पासले यो खर्चलाई धेरै हदसम्म कम गर्छ । यो पास विदेशी पर्यटकका लागि मात्र उपलब्ध छ, जसले ७, १४, वा २१ दिनसम्म असीमित जेआर रेल यात्रा गर्न दिन्छ । छोटो यात्रा हो भने सुइका वा पास्मोजस्ता स्मार्ट कार्डहरू उपयोगी छन् । यी कार्डमा पैसा चार्ज गरेर ट्याप गरेर रेल चढ्न सकिन्छ । स्टेसनमा टिकट भेन्डिङ मेसिनहरू छन्, जसमा अङ्ग्रेजी भाषा विकल्प हुन्छ तर मलाई पहिलोपटक टिकट किन्दा अलमल भएको थियो । सिन्जुकु स्टेसनमा एक कर्मचारीले सहयोग गरे र उनको विनम्र व्यवहारले मन जित्यो । उनको मुस्कान र सहयोगी स्वभावले जापानी आतिथ्यको झलक दियो ।
यहाँको रेलको इतिहास सन् १८७२ बाट सुरु भएको रहेछ, तर १९६४ मा सिन्कानसेनको सुरुवातले यो प्रणालीलाई विश्वमै चर्चित बनायो । सिन्कानसेन, जसलाई बुलेट रेल भनिन्छ, जो ३२० किलोमिटरप्रति घण्टाको गतिमा चल्छ । मेरो पहिलो सिन्कानसेन यात्रा टोकियोबाट टाकासाकी जाँदा–आउँदा थियो ।
जापानको रेल यात्राले मलाई धेरै कुरा सिकायो । सिन्जुकु स्टेसनमा पहिलोपटक भिड देख्दा मलाई नेपालको माइक्रोबसको सम्झना भयो तर यहाँको भिडमा पनि अनुशासन थियो । मानिसहरू पङ्क्तिमा बस्थे, धकेलाधकेल थिएन । रेलभित्र खानेकुरा बेच्ने कार्टले मलाई बेन्टो डब्बाको स्वाद चाख्न प्रेरित गर्यो । मैले चिकेन टेरियाकी बेन्टो खाएँ, जुन स्वादिष्ट थियो तर मूल्य १२०० येन ! यो देख्दा मलाई लाग्यो, यो त मेरो खल्तीको ‘फास्ट ट्रेन’ हो !
अर्को अनुभव : सिन्कानसेनमा सिट आरक्षण नगर्दा गाह्रो हुने रहेछ । स्वतन्त्र डब्बामा सिट पाउन मुस्किल तर एक जापानीले विदेशी ठानेर मलाई आफ्नो सिट छाडिदिए । उनको यो विनम्रताले जापानी संस्कृतिको गहिराइ देखायो ।
रेलभित्रको रमाइलो दृश्य यो थियो— सबै यात्रुहरू मोबाइलमा झुम्मिने, कसैको अनुहारमा हेरेको समेत देखिएन, सबै आफ्नै धुनमा ! एकपटक यामानोटे लाइनमा चढ्दा मलाई लाग्यो, यो त ‘मोबाइल जंगल’ हो, जहाँ सबै फोनको स्क्रिनमा हराएका छन् । बाहिर पहाडको रमाइलो दृश्य देखिँदा पनि धेरैजसो यात्रु मोबाइलमा व्यस्त थिए । मलाई लाग्यो— यस्तो सुन्दर दृश्य छुटाएर टिकटक रिल्स हेर्दै छन् ! एक युवक त फोनमा गेम खेल्नमा यति मस्त थिए कि स्टेसन पुग्दा पनि थाहा पाएनन् र अर्को स्टेसनमा झरेर फर्किनुपर्यो । यो देख्दा मलाई लाग्यो, जापानको रेल समयमा चल्छ, तर यात्रुहरू ‘मोबाइल टाइम’मा बाँच्छन् । यो शान्त व्यस्तताले जापानी जीवनशैलीको अनुशासन र प्रविधिप्रेमी स्वभाव दुवै झल्काउँछ ।
जापानको रेल प्रणालीका विशेषता धेरै छन् । यो वातावरणमैत्री छ, किनभने यसले कार्बन उत्सर्जन कम गर्छ । यो सुरक्षित छ, दुर्घटना दर लगभग शून्य छ । यो पहुँचयोग्य छ, अशक्तका लागि र्याम्प र लिफ्टहरू छन् । कमजोरी पनि छन्, व्यस्त समयमा भिडभाडले सास फेर्न गाह्रो हुन्छ । भाषा समस्या पनि छ, सबै सङ्केतहरू अङ्ग्रेजीमा हुँदैनन् तर अनुवाद गर्ने मोबाइल एपहरू र स्टेसन कर्मचारीहरूले यो समस्यालाई कम गर्छन् । एकपटक म गलत रेल चढेँ, तर कर्मचारीको सहयोगले सही बाटो पाएँ । मलाई लाग्यो, यो त नेपालको ‘बाटो सोध्ने’ संस्कृति जस्तो हो, तर यहाँ कर्मचारीले मुस्कानसहित नक्सा र एपको सहायता दिन्छन् ।
एक युवक त फोनमा गेम खेल्नमा यति मस्त थिए कि स्टेसन पुग्दा पनि थाहा पाएनन् र अर्को स्टेसनमा झरेर फर्किनुपर्यो । यो देख्दा मलाई लाग्यो, जापानको रेल समयमा चल्छ, तर यात्रुहरू ‘मोबाइल टाइम’मा बाँच्छन् ।

यहाँ यात्रा गर्नेहरूलाई सुझाव
जेआर पास किनेर पैसा बचाउनुहोस् । हाइपरडिया वा गुगल नक्सा प्रयोग गरेर योजना बनाउनुहोस् । रेलमा खानेकुरा बोकेर चढ्नुहोस् तर सफाइमा ध्यान दिनुहोस् । साकुरा सिजनमा आरक्षण अनिवार्य छ, सबैभन्दा महत्त्वपूर्ण कुरा रेलको झ्यालबाट दृश्यहरूको मजा लिनुहोस् । फुजी पहाड, समुद्र र गाउँहरूको दृश्यले मन लोभ्याउँछ । सूर्यास्तको समयमा यात्रा गर्दा प्रकृतिको सौन्दर्यले भावुक बनाउँछ । एकपटक सूर्यास्तमा समुद्रको किनारमा रेल गुड्दा लाग्यो, यो त जीवनको कविता हो ।
जापानको रेल यात्रा मेरा लागि केवल यातायात होइन, एक जीवनको पाठ हो । यो प्रणालीले समय, अनुशासन र प्रविधिको सन्तुलन सिकाउँछ । यो अनुभवले जापानको विकासलाई नजिकबाट बुझ्ने अवसर दियो, जसले नेपालको यातायात प्रणालीसँग तुलना गर्दा धेरै सोच्न बाध्य बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
-
पूर्वकार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा मृत फेला
-
मधेस प्रदेश र १३ जिल्लामा रास्वपाको अधिवेशन गर्न बाँकी
-
रातभरि निद्रा लाग्दैन ? हुन सक्छ यी रोग
-
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण