सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

कर्णालीका अर्थमन्त्रीमाथि आर्थिक हिनामिनाको आरोप

आइतबार, ११ साउन २०८२, १५ : ५४
आइतबार, ११ साउन २०८२

सारांश

  • कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहमाथि आर्थिक हिनामिनाको आरोप लागेको छ।
  • एथलेटिक्स संघका सदस्यहरूले शाहले एसियन क्रसकन्ट्री दौड प्रतियोगितामा आर्थिक हिनामिना गरेको आरोप लगाएका छन्।
  • मन्त्री शाहले प्रतियोगितामा सहभागी निर्णायकहरुलाई तलब नदिएको र आर्थिक विवरण सार्वजनिक नगरेको आरोप छ।

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ ।

एथलेटिक्स सङ्घका ६ जना सदस्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शाहले संङ्घकाे अध्यक्ष भएकाे समयमा विभिन्न सुविधा लिँदै आर्थिक हिनामिना गरेको आरोप लगाएका हुन् ।

शाहले १६ औँ एसियन क्रसकन्ट्री दौड प्रतियोगितामा आर्थिक हिनामिना गरेको ती सदस्यहरूको आरोप छ । एसियन एथलेटिक्स सङ्घबाट आएको १८ हजार अमेरिकी डलरलाई शाहले एकलौटी ढङ्गबाट खर्च गरेको समेत आरोप लगाइएको छ । 

‘प्रतियोगितामा आफ्नो मनोमानी ढङ्गले खर्च भएको छ । शाहले डलर मै विदेशी भुक्तानी दिएर राजश्व छली पनि गरेका छन् । प्रतियोगितामा समावेश सामग्री पनि आफ्नै घरमा राख्नु भएको छ,’ सङ्घका महासचिव धनवीर चौधरीले भने । 

प्रतियोगितामा सहभागी ९० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूलाई अहिलेसम्म कुनै पनि तलब भुक्तानी नदिएको समेत शाहमाथि आरोप लगाइएको छ । 

विश्व एथलेटिक्सका संस्थापक अध्यक्ष आगरिक सजेर्य नेपाल भ्रमणमा आउँदा एथलेटिक्सका भूकम्प पीडितलाई दिने भनिएको ३ हजार पाउण्ड खर्च नगरी आफैँ राखेर हालसम्म शाहले खर्च विवरण सार्वजनिक नगरेको सङ्घका केन्द्रीय सदस्य दिपक रानाभाटले बताए । 

त्यस्तै बागमती प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्य सचिव तथा एथलेटिक्स सङ्घका सदस्य सूर्यलाल भण्डारीले २०७९ सालमा चितवनमा भएको जुनियर एथलेटिक्स प्रतियोगितामा पनि शाहले हिनामिना गरेको आरोप लगाएका छन् । 

प्रतियोगिता सञ्चालन गर्दा बागमती प्रदेश खेलकुद विकास परिषद् र माडी नगरपालिकाले सहयोग गरे पनि तत्कालीन अध्यक्ष शाहले एसियन र विश्व एथलेटिक्स सङ्घमा विदेशी सहायतामा प्रतियोगिता गरेको रिपोर्ट बझाएको सङ्घका सदस्य भण्डारीले बताए । 

आफूसँग शाहविरुद्ध लागेका सबै आरोपहरूको प्रमाण रहेको समेत भण्डारीले बताए । ‘उहाँ विरुद्ध लागेका सबै आरोपका प्रमाण हामीसँग छ । यदि उहाँले प्रतिवाद गरेर सबै झुटो भन्नुहुन्छ भने हामी प्रमाण देखाउन तयार छौँ’ भण्डारीले पत्रकार सम्मेलनमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप