बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) गण्डकीले सीडीओमार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आइतबार, ११ साउन २०८२, १८ : ५६
आइतबार, ११ साउन २०८२

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा धर्ना कार्यक्रम सम्पन्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ज्ञापनपत्र पठाएको छ ।

पार्टीको ११ वटै जिल्ला समन्वय समितिले जिल्ला प्रशासन कार्यालयमार्फत सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा देशको समसामयिक राजनीतिक, प्रशासनिक र आर्थिक समस्याहरूको समाधानका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औँल्याइएको छ । 

पुराना राजनीतिक दलहरू हिजोकै सोच, शैली र पूर्वाग्रहमा अड्किएको बताइएको छ। बदलिँदो युगमा पुराना चेतनाले देशको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै वैकल्पिक सोच र कार्यशैली आवश्यक रहेको जनाइएको छ ।

पार्टीले लोकतन्त्र सिमित र औपचारिक मात्र बनेको, दलतन्त्र र नेतातन्त्र संस्थागत हुँदै गएको तथा सिन्डिकेट प्रणाली हाबी भएको आरोप लगाएको छ। साथै देशभर व्यापक रूपमा फैलिएको भ्रष्टाचार, बेरोजगारीका कारण लाखौं युवा विदेशिनु परेको, नागरिकहरू निरीह र आजित हुँदै गएका अवस्थाले राजनीतिक पुनर्संरचनाको आवश्यकता झनै बढेको पार्टीको निष्कर्ष छ ।

पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री, संसद्मा पूर्ण समानुपातिक प्रणाली, मन्त्री नियुक्तिमा विज्ञता र दक्षता, ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था लगायतका प्रस्ताव अघि सारेको छ। नयाँ शक्तिले संविधानको भाग–३ अन्तर्गतको मौलिक हकहरू (धारा १६–४८) लाई अविलम्ब र बिना सर्त कार्यान्वयन गर्न माग गरेको छ ।

साथै, उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन, शक्तिशाली जनलोकपालको गठन, न्यायालयको पुनर्संरचना, संवैधानिक निकायहरूमा दलिय भागबन्डा अन्त्य र प्रविधि प्रयोगमार्फत जनमैत्री प्रशासन निर्माणको माग पनि उठाइएको छ। अर्थतन्त्रमा आत्मनिर्भरता ल्याउने, स्वरोजगार सिर्जना गर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने लगायतका विषयमा समेत पार्टीले ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा गोरखकाली रबर उद्योग सञ्चालन, बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना छिटो निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, पोखरा बसपार्क निर्माण र मध्य पहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न आग्रह गरिएको छ ।

उक्त ज्ञापनपत्रमा अबको दशक विचार र एजेन्डा सहितको वैकल्पिक शक्तिको दशक बन्नुपर्ने जनाइएको छ। पार्टीले देशको अग्रगमन र सुशासनका लागि संविधान संशोधनसहितका संरचनागत सुधार आवश्यक रहेको जनाएको छ ।

प्रजिअलाई ज्ञापनपत्र बुझाउनु अघि नेसपा नयाँ शक्तिले ११ वटै जिल्ला प्रशासन कार्यालय अगाडि स्वाधीनता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका पक्षमा तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप