आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरीदेखि विद्या भण्डारी बहकिएको ओलीको निष्कर्षसम्म

आइतबार, ११ साउन २०८२, २२ : ००
आइतबार, ११ साउन २०८२

आज २०८२ साउन ११ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी, विद्या भण्डारी बहकिएको ओलीको निष्कर्ष, बागमती कांग्रेस संसदीय दलको विवाद मिलाउने जिम्मा केसीलाई, हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको भन्दै कारागारबाट दुर्गा प्रसाईंको अपिल, संसदीय समितिका गतिविधि, पत्रकारसँग सिटौलाले गरे चर्चा, घरेलु मदिरालाई वैधानिक बनाउन कार्यविधि तयार लगायत छन् ।

१. अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी
नेपाल वायुसेवा निगमको दुई वटा वाइड बडी विमान खरिदमा अनियमितता भएको विषय यतिवेला फेरि चर्चामा छ । विशेष अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि यो विषयमा बहस चुलिएको हो । खरिद प्रक्रियामा सहभागी रहेका केही पदाधिकारीले अभियोजनबाटै उन्मुक्ति पाएको विषय विशेष अदालतले फैसलामै उल्लेख गरेको थियो ।

यसरी उन्मुक्ति पाउनेमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहेका प्रेमकुमार राई मुख्य हुन् । उनीविरुद्ध युवराज सफलले अख्तियारमै उजुरी दर्ता गराएका छन् भने सांसदहरूले पनि महाअभियोग लगाउनुपर्ने भनेर आवाज उठाउन थालेका छन् ।

२. विद्या भण्डारी बहकिएको ओलीको निष्कर्ष
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बहकिएको र सोही आधारमा सक्रिय राजनीतिमा आउने घोषणा गरेको टिप्पणी गरेका छन् । पार्टीका कर्णाली र सुदूरपश्चिमका नेताहरूसँगको छलफलमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

३. बागमती कांग्रेस संसदीय दलको विवाद मिलाउने जिम्मा केसीलाई
नेपाली कांग्रेसले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिएको छ । काठमाडौँ–१०बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

४. हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको भन्दै कारागारबाट दुर्गा प्रसाईंको अपिल
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको बताएका छन् । तीनकुने घटनालाई लिएर डिल्लीबजार कारागारमा रहेका प्रसाईंले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

५. संसदीय समितिका गतिविधि
आइतबार विभिन्न संसदीय समितिका बैठक बसेर आफ्ना कार्यक्षेत्र अन्तर्गतका विषयमा छलफल गरेका छन् । 

६. पत्रकारसँग सिटौलाले गरे चर्चा
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आइतबार पत्रकारसँग कांग्रेस महाधिवेशनदेखि संविधान संशोधनका एजेण्डासम्म चर्चा गरेका छन् । उनले संविधान संशोधनका लागि कार्यदल बनाउनुपर्नेमा जोड दिएका छन् ।

७. घरेलु मदिरालाई वैधानिक बनाउन कार्यविधि तयार
सरकारले घरेलु मदिरा ब्रान्डिङलाई वैधानिक बनाउन कानुन बनाएको छ । उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले रैथानेरस्थानीयरपरम्परागत मदिरा उत्पादन कार्यका लागि उद्योग स्थापनार्थ इजाजत प्रदान गर्ने तथा उद्योग सञ्चालनका लागि कार्यविधि तयार गरेको हो ।

८. खडेरीको मारमा मधेस
मधेस प्रदेश खडेरीको मारमा परेको छ । मध्य साउनसम्म पनि किसानले धान रोपाइँ गर्न सकेका छैनन् । सरकारले चैत यता ३०० डिप बोरिङ खनिएको दाबी गरिरहँदा समेत मधेसका किसानले पानीको अभावमा रोपाइँ गर्न नसकेका हुन् ।

९. कम्युनिस्ट घटकका दोस्रो पुस्ताका प्रभावशाली नेतासँग विप्लवको भेट कति अर्थपूर्ण ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विभिन्न वामपन्थी दलका दोस्रो पुस्तासँगको भेटवार्तालाई तीव्र बनाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको अवसरमा काठमाडौँ आएका विप्लवले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका दोस्रो पुस्ताका नेतासँग छलफल गरेका हुन् ।

१०. नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले किन दिइन् बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी ?
नागरिक उन्मुक्ति पार्टीभित्र केन्द्रीय समिति बैठकको माग उठिरहेको वेला सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी छन् । पार्टीका बहुमत केन्द्रीय सदस्यले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएपछि रञ्जिताले केन्द्रीय समितिको बैठक नै नबोलाई आफ्नो सम्पूर्ण अधिकार दिएर बास्तोलालाई कार्यवाहक बनाएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप