विप्लवले किन भेटे शंकर, जनार्दन र वर्षमान ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विभिन्न वामपन्थी दलका दोस्रो पुस्तासँगको भेटवार्तालाई तीव्र बनाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको अवसरमा काठमाडौं आएका विप्लवले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलका दोस्रो पुस्ताका नेतासँग छलफल गरेका हुन् ।
विप्लवले शुक्रबार माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग ललितपुरस्थित बखुण्डोलमा भेटवार्ता गरेका थिए । शर्मासँगको भेटमा पार्टी एकता, वामपन्थी ध्रुवीकरण र साझा मोर्चा बनाउने विषयमा छलफल भएको विप्लवको सचिवालयले बताएको छ ।
‘प्रभाकरसँग पार्टी एकताको विषयमा पहिलेदेखि नै छलफल हुँदै आएको छ । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी पुनर्गठन गर्ने भन्ने विषयमा लामो छलफल भयो । दुई नेताबिच नयाँ सिराबाट एकता र सहकार्य गरौं भन्ने कुरा भएको छ । अर्को चरणमा छलफलले मूर्तरुप लिने विश्वास महासचिवले लिनुभएको छ,’ विप्लवका सचिवालयका नारायण चन्दले रातोपाटीलाई बताए ।
शनिबार दिउँसो माओवादीका अर्का उपमहासचिव वर्षमान पुनसँग ललितपुर सातदोबाटोस्थित निवासमा करिब दुई घण्टा छलफल भएको सचिवलयले जनाएको छ । दुई नेताबिचको छलफलमा पुनले पार्टी एकताका लागि विप्लवसँग प्रस्ताव गरेका थिए ।
जवाफमा यथास्थितिमा एकता सम्भव नभएको र बरु मोर्चामार्फत सहकार्य गरौं भन्ने कुरा गरेको चन्दले जिकिर गरे ।
‘भेटवार्तामा अनन्तले एकता गरौं भन्ने प्रस्ताव राख्नुभएको थियो । हाम्रा महासचिवले यथास्थितिमा एकता सम्भव छैन । अहिले एकताभन्दा पनि मोर्चामार्फत सहकार्य गरौं भन्नुभयो । सबै पार्टीका दोस्रो पुस्ताले त्यसको पहलकदमी गर्न आग्रह गर्नुभयो,’ उनले भने ।
आइतबार एमाले महासचिव शंकर पोखरेलसँग उनकै निवासमा भेट भएको विप्लवका स्वकीय सचिव नारायण चन्दले दाबी गरे । सबै कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूसँग छलफल गर्ने नीति अनुसार नै पोखरेलसँग भेटवार्ता गरेको चन्दले बताए ।
पोखरेलसँगको भेटवार्तामा एमालेको आन्तरिक विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याबारे छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।
‘महासचिव विप्लव काठमाडौं आएको दिनदेखि नै सबै कम्युनिस्ट पार्टीका दोस्रो पुस्ताका नेताहरूसँग छलफल तीव्र पार्नुभएको छ । वर्तमान नेतृत्वबाट वामपन्थीबिच एकता, सहकार्य र ध्रुवीकरणको सम्भावना देखिएन । दोस्रो पुस्ताका नेताहरूबाट केही हुन्छ कि भनेर भेट्नुभएको हो । यो क्रम अझै केही दिन जारी रहन्छ । हेरौं यसको परिणाम सकारात्मक हुन्छ कि ?’ चन्दले भने ।
विप्लवले पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ६ र ७ गते वामपन्थी शक्तिहरूबिच एकता र सहकार्यमा केही उथलपुथल हुने संकेत गरेका थिए । एकचरण दोस्रो पुस्ताका सबै नेताहरूसँग भेटवार्ता गरी केन्द्रीय समिति बैठकको तयारीका लागि विप्लव कपिलवस्तु फर्किंदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण