शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए नेताको चरित्र : हुण्डी र मानव तस्करीको धन्दा

सोमबार, १२ साउन २०८२, १३ : ३३
सोमबार, १२ साउन २०८२

सारांश

  • लेखकले विदेशमा एनआरएनए संस्थाहरूको भूमिका र कार्यशैलीको आलोचना गरेका छन्, जसले नेपालीहरूको समस्यामा सहयोग नगरेको आरोप लगाएका छन्।
  • एनआरएनए नेताहरू मानव तस्करी, हुण्डी र आर्थिक अनियमिततामा संलग्न भएको र चुनाव व्यापारीकरण भएको कुरालाई जोड दिइएको छ।
  • लेखकले एनआरएनएका नेताहरूको व्यवहार र कार्यशैलीप्रति प्रश्न उठाएका छन् र तिनलाई भोट हाल्न नहुने तर्क गरेका छन्।

घरदेश छाडेर परदेश भासिएको धेरै भएछ । कहिले विद्यार्थी भिसामा कुन देश गइयो, कहिले अन्य भिसामा अर्कै देशमा काम गरेर बसियो । 

विदेशमा लामो समय बस्दा खट्किएको कुरा हो- आफ्नाका लागि बनेको गतिलो संस्था भेटिएन ।

जापान हुँदा भाषा पढ्न आएका भाइबहिनीहरुले आत्महत्या गरेका घटना आफ्नै आँखा अगाडि देखियो । मृत्युपछि शव नेपाल पठाउनुपर्छ भनेर लाग्दा एनआरएनए भन्ने संस्थाले खास चासो देखाएन । 

अझ रोचक कुरा त के थियो भने धेरै नेपाली नेताका नेपाली इण्डियन रेस्टुरेन्ट थिए । जनही करिब १० लाख असुलेर जापान मान्छे बोलाउँथे र मासिक १२ मानमा काम लगाउँथे । उनै साथीहरु एनआरएनएका नेता थिए । 

अर्कोथरी नेता थिए, उनीहरु बडो मेहनतले कमाएको पैसा देश पठाउन सहयोग गर्ने । सहयोग पनि कस्तो भने हुण्डीमार्फत । आज उनै साथीहरु नेता भएछन् । उनैका उम्मेदवारीका तस्बिर ठुला र चहकिला देखिन्छन् । मिडियामा पनि उनैको चर्चा छ ।

यो जापानको मात्र हैन, हरेक देशका एनआरएनए नेताहरुको चरित्र वा चित्र हो । नेपाली नारीहरुलाई काम लगाइदिन्छु भनेर यौन शोषण गर्ने गरेका घटना पनि तपाईं हामीले नदेखेको नसुनेको होइन । 

कहिल्यै तिनीहरुको संस्थाबाट समस्यामा परेकाहरुले साथ पाएनन् । न त ‘होमलेस’हरुले गाँस, बास र कपास पाए, न ट्रम्प सरकारले कडाइ गर्दा रोजगार गुमेकाहरुले सान्त्वना र विद्यार्थी भिसामा आएकाले सहयोग पाए । 

अझ युरोपमा त एनआरएनए नेताहरुको धन्दा गज्जब छ । त्यो कुराको नालीबेली युरोप बस्ने धेरैलाई थाहा नै छ । काममा लगाइदिन्छु भनेर पैसा असुल्नेदेखि लिएर नेपालबाट पैसा पठाइदिन्छु भनेर असुली गर्नेसम्मका घटना हामीले सुनेका छौं । 

‘फलानो नेतालाई ल्याएर फलानो होटलमा राखी फलानो थोक पनि गराएको हो, हाम्रो एयरपोर्टमा पनि सेटिङ छ’ भनेर हप्ता असुली सुरु हुन्छ । यो संस्थाले आवश्यक नभएका थुप्रै कार्यक्रम सिर्जना गरेर पत्र थमाइदिएर मानव तस्करीको थालनी गर्छ । त्यसैको आवरणमा मान्छे बेच्ने धन्दा चलेकै छ । 

पछिल्लो समय व्यापारीहरुको चुनावजस्तो मात्रै भइरहेको छ एनआरएनएको चुनाव । उनीहरुको उम्मेदवारी विदेशमा रहेका नेपालीलाई सहयोग र सुविधा प्रदान गर्ने भन्दा पनि मान्छे बेचेर पैसा कमाउने लाइसेन्सका लागि भइरहेको जस्तो लाग्छ । 

कुनै पनि एनआरएनए नेताको एजेण्डा किन मानव तस्करी र हुण्डीविरुद्ध बन्न सकेन ? यो प्रश्न निकै गम्भीर छ । सबैलाई त नभनौं अधिकांश एनआरएनए नेताहरु हुण्डी र मानव तस्करीमा जोडिएका छन् । 

अमेरिका बसाइको करिब एक वर्षको अनुभवले के भन्छ भने एनआरएनएका नेता बन्न खोज्ने धेरैको अनुहारमा कालो पोतिएकै छ । नयाँ होस् वा पुरानो हिजोका पुराना पार्टीमा लागेर लुटको धन्दा चलाएकाहरु आज नयाँ पार्टीभित्र छिरेर पनि त्यसै गरिरहेका छन् । 

कहिल्यै तिनीहरुको संस्थाबाट समस्यामा परेकाहरुले साथ पाएनन् । न त ‘होमलेस’हरुले गाँस, बास र कपास पाए, न ट्रम्प सरकारले कडाइ गर्दा रोजगार गुमेकाहरुले सान्त्वना र विद्यार्थी भिसामा आएकाले सहयोग पाए । 

बस् उनीहरु धन्दा चलाइरहे । उनीहरुको काम भनेको नेपालबाट नेता आउँदा जी हजुरी गर्ने, बिचतिर घुमाउने र मदिरा खुवाउने मात्र भयो । त्यो नयाँ पार्टीका हुन् वा पुराना पार्टीका मूल चरित्र एउटै थियो । नारायणकाजी र तोसिमा आउँदा घुमाउने सर्कल एउटै थियो । जुन विचारमा रहे पनि उनीहरुको चेतनास्तर एउटै छ- ‘लुट्नुपर्छ ।‘ 

अरु व्यक्ति वा संस्थाले गो फण्ड क्रिएट गरेर शव स्वदेश पठाउँदा एनआरएनएले सक्दैन । त्यही एनआरएनएको चुनाव हुँदैछ, जसलाई आफ्नो देशका मान्छे काम नपाएर मर्दा दुख्दैन । कहिल्यै त्यो दु:खमा काम आउँदैन । तर हुण्डी गर्न र मानव तस्करीमा तिनका नेताहरु नेपालका नेता भन्दा नि तगडा छन् । अनि हामी चाहिँ त्यस्तालाई भोट हाल्न किन जाने ? 

-बाल्टिमोर, अमेरिका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप