बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संस्कृति

धनगढीको गुरही चोकमा ठडियो थारु संस्कृतिको प्रतीक

मङ्गलबार, १३ साउन २०८२, १३ : २२
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • धनगढीको क्याम्पस चोकलाई 'गुरही चोक' नामकरण गरिएको छ, जहाँ थारु समुदायको पहिचान झल्किन्छ।
  • गुरही पर्वको अवसरमा गुरहीको मूर्ति अनावरण गरियो, जसले थारु समुदायको प्रकृतिप्रतिको आस्था र संघर्षलाई दर्शाउँछ।
  • थारु समुदायले गुरहीलाई देवताका रूपमा पुज्ने र यसले धानबाली जोगाउनुका साथै स्वास्थ्य रक्षामा सहयोग गर्छ।

धनगढी । धनगढीको क्याम्पस चोकलाई अहिले ‘गुरही चोक’ भनेर चिनिन्छ ।

‘गुरही’ अर्थात् गाइने किराको नामबाट चोकको नामकरण गरिएको हो । चोकको बिच भागमा गुरहीको मूर्तिसमेत बनाइएको छ ।

यो एउटा मूर्तिका नाममा मात्र सीमित छैन, थारु समुदायको पहिचान, प्रकृतिप्रतिको आस्था र वर्षौं लामो संघर्षको जीवन्त प्रतीक पनि हो यो ।

गुरही पर्वको अवसर पारेर बुधबार यस मूर्तिको अनावरण गरिँदैछ, जसले एउटा चोकको नामकरणदेखि सांस्कृतिक पहिचान स्थापना गर्नेसम्मको लामो यात्रालाई साकार पारेको छ ।

थारु समुदायलाई प्रकृतिपूजक समुदायका रूपमा चिनिन्छ । उनीहरूको जीवनशैली, संस्कृति र परम्परा प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ । यही प्रकृतिको एउटा जीव हो ‘गुरही’, जसलाई थारु समुदायले देवताका रूपमा पुज्छन् ।

सखी सञ्जालकी अध्यक्ष उन्नति चौधरीका अनुसार यसको पछाडि वैज्ञानिक र सांस्कृतिक दुवै महत्त्व लुकेको छ ।

‘गुरहीले धानबालीलाई नोक्सान पुर्‍याउने हानिकारक किराहरूलाई खाइदिन्छ । त्यतिमात्र होइन, मलेरिया, डेंगु जस्ता रोग सार्ने लामखुट्टे र भुसुनाजस्ता किरालाई पनि यसले आफ्नो आहारा बनाउँछ,’ उनले भनिन् ।

यसरी गुरहीले एकातिर बालीनाली जोगाएर जीविकामा सघाउँछ भने अर्कोतिर रोग व्याधिबाट बचाएर मानव स्वास्थ्यको रक्षा गर्छ । यही कारण पुर्खाहरूले यो किरालाई संरक्षण गर्न र यसको महत्त्व बुझाउन पूजा गर्ने परम्परा बसालेको चौधरीको भनाइ छ ।

चौधरीका अनुसार दशकौँ अघि अस्पतालको सुविधा नहुँदै पुर्खाहरूले किराबाटै कसरी स्वस्थ रहने भन्ने वैज्ञानिक ज्ञान राखे । गुरही पूजा त्यसैको एउटा उदाहरण रहेको उनको भनाइ छ ।

गुरही पर्व परापूर्वकालदेखि नै थारु गाउँहरूमा धुमधामसँग मनाइन्थ्यो । जब बजार क्षेत्रमा थारु समुदायको बसोबास बढ्न थाल्यो, यो पर्व बिस्तारै छुट्दै गयो । गाउँमा मनाउने तर यत्रो बाहुल्यता भएको सहरमा नमनाउँदा हाम्रो संस्कृति हराउँछ भन्ने चिन्ता भयो ।

यही चिन्ताले २०६७ सालतिर थारु समुदायसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूलाई एकै ठाउँमा ल्यायो । आदिवासी जनजाति पत्रकार महासंघको पहलमा थारुवान दैनिकको कार्यालयमा बसेको पहिलो बैठकले धनगढीमा सामूहिक रूपमा गुरही पर्व मनाउने निर्णय गर्‍यो । थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु महिला सभा लगायत दर्जनौँ संस्था एक भए ।

त्यही वर्षदेखि हरेक वर्ष गुरही पर्वका दिन यही चोकमा हजारौँ थारु जम्मा भएर नाचगान र पूजापाठ गर्दै आएका छन् । तर उनीहरूको संघर्ष यतिमै सीमित रहेन । धनगढीमा थारुहरूको ठुलो योगदान हुँदाहुँदै पनि उनीहरूको पहिचान झल्किने एउटा पनि चोक वा स्मारक नभएको महसुस गरेपछि उनीहरूले यो चोकको नाम ‘गुरही चोक’ राख्न अभियान थाले ।

uunati chaudry

‘हामीले २०६९–०७० सालतिरै नामकरणका लागि अभियान थालेका थियौँ । लामो संघर्ष र निरन्तरको दबाबपछि २०७३ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको हातबाट यो चोकको नाम गुरही चोक भनेर औपचारिक रूपमा घोषणा भयो,’ चौधरीले भनिन् ।

नामकरणपछि थारुहरूको अर्को सपना थियो– चोकमा गुरहीको एउटा स्थायी पहिचान स्थापना गर्ने । यसका लागि उनीहरूले मूर्ति स्थापना गर्ने योजना बनाए र बजेटका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म निरन्तर डेलिगेसन गए ।

‘हामीले हरेक वर्ष बिदाको माग गर्दै ज्ञापनपत्र बुझाउँथ्यौँ, मूर्तिको लागि बजेट माग्थ्यौँ । धेरै पटक निराश पनि भयौँ तर यो वर्ष हाम्रो अभियान सफल भयो,’ चौधरीले सुनाइन् ।

चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको सहयोगमा यो आकर्षक मूर्ति निर्माण भएको हो । यो मूर्ति स्थापना हुनु धनगढीको गुरही चोकमा एउटा संरचना थपिनुमात्र होइन, यो त यहाँका थारुको समुदायको वर्षौंको अभियानको प्रतिफल रहेको स्थानीय शेर चौधरीले बताए ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा थारु समुदायको बसोबास छ । आज मंगलबार यो समुदायले गुरही पर्व धुमधामका साथ मनाइरहेका छन् । धनगढीमा आज दिउँसोदेखि कार्यक्रम हुनेछ । गुरही पर्वको महत्त्व बुझ्दै यहाँका थारु समुदायले यसलाई अँगाल्दै आएका छन् । गुरही पर्व मनाउने तरिका मौलिक र प्रतीकात्मक छ । थारु समुदायका छोरीचेली कपडाको पुतली (गुरही) र थालीमा भुजा लिएर चोकमा जम्मा हुन्छन् । पुरुष भने कोर्रा जस्तो ‘सोटा’ बोकेका हुन्छन् ।

जब केटीहरूले पुतलीलाई सेलाउन थाल्छन् । केटाहरूले त्यसलाई सोटाले पिट्छन् । बाहिरबाट हेर्दा पुतली पिटेको जस्तो देखिए पनि यसको गहिरो अर्थ छ । यो पुतलीलाई पिटेको होइन, यो त समाजमा भएका रोग, दुःख, कष्ट र नकारात्मक शक्तिलाई धपाएको हो ।

‘घाउ, खटिरा लैजा, रोग व्याधि लैजा’ भन्दै रोगलाई बिदाइ गर्ने गरेको सखी सञ्जालकी अध्यक्ष चौधरीले बताइन् ।

धनगढीमा पर्वको अवसरमा भव्य रूपमा गरिने कार्यक्रममा लोप हुन लागेका सखिया नाच, झुम्रा नाच देखाइन्छ र युवाहरूलाई मादल बजाउन सिकाइन्छ, ताकि नयाँ पुस्ता आफ्नो संस्कृतिसँग जोडिन सकोस् ।

‘सुरुमा धनगढी उपमहानगरपालिकाले मात्र दिने गरेको गुरही पर्वको बिदा आजका दिन कैलालीका ११ वटा स्थानीय तहले दिएका छन्, यो अभियानको अर्को ठुलो उपलब्धि हो । धनगढीको गुरही चोकमा स्थापना भएको यो मूर्तिले थारु समुदायको प्रकृतिप्रेम, उनीहरूको सांस्कृतिक पहिचान र आफ्नो पहिचानका लागि गरेको लामो संघर्ष देखाउने छ । हामीले हाम्रो पहिचान यसमा समेटेका छौँ,’ अध्यक्ष चौधरीले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप