सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
राजनीति

निर्वाचन आयोगको पत्रमा राप्रपाले पठायो जवाफ

मङ्गलबार, १३ साउन २०८२, १८ : ०१
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • राप्रपा विवादबारे निर्वाचन आयोगले सोधेको प्रश्नको जवाफ दिन राजेन्द्र लिङ्देनसहितका नेताहरू आयोगमा पुगेका थिए।
  • आयोगले राप्रपालाई विधान विपरीत नेताहरूलाई हटाएको विषयमा स्पष्टीकरण सोधेको थियो।
  • राप्रपाले अध्यक्षले अधिकार प्रयोग गरेको र सुवेदीले पद त्याग गरिसकेको जवाफ दियो।

काठमाडौँ । राप्रपाको विवादका सन्दर्भमा अनुशासन आयोगको अध्यक्षबाट हटाइएका नेता नवराज सुवेदीले उजुरी दिएपछि निर्वाचन आयोगले पठाएको पत्रमा उक्त पार्टीले जवाफ पठाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सोमबार आयोग पुगेर जवाफ पेस गरेका हुन् । 

आयोगले साउन ५ गते राप्रपालाई पत्र पठाएर २ वटा विषयमा खुलाउन आग्रह गरेको थियो ।  दलका वरिष्ठ नेता नवराज सुवेदी, प्रवक्ता सगुन सुन्दर लावती, केन्द्रीय सदस्य तथा सदस्य सचिव धनसुर शाही, महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शम्शेर जबरा र उपाध्यक्ष मुकुन्द श्याम गिरी समेतले अध्यक्ष विधानअनुसार नचलेको भनेर उजुरी दिएको भन्दै यसम्बन्धमा ७ दिन आवश्यक कागजात सहित यथार्थ विवरण खुलाइ पेस गर्न आयोगले राप्रपालाई भनेको थियो । 

जसअनुसार आयोगले ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य एवं अनुशासन समितिको अध्यक्ष, वरिष्ठ नेता नवराज सुवेदी समेतलाई निजहरूको ४ वर्षको कार्यकाल बाँकी रहँदै पार्टीको विधान विपरीत हटाइएको भन्ने व्यहोराको निवेदन यस आयोगमा प्राप्त भएकोले यस सम्बन्धमा निज निवेदकहरूलाई अनुशासनात्मक कारबाही भएको हो होइन सो सम्बन्धमा कारबाही भएको भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८, १९ को व्यवस्था एवं तहाँ दलको यस आयोगबाट स्वीकृत विधानको धारा ४३ बमोजिमको प्रक्रिया अवलम्बन गरिएको छ छैन’ भनेर सोधेको थियो । 

यस्तै ‘दलको स्वीकृत विधानको धारा ३१ (ग) र (ङ) बमोजिम कुनै कारबाही भएको छ छैन ?’ भनेर पनि सोधेको थियो । 

सोअनुसार राप्रपाले अध्यक्षले आफ्नो अधिकारअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गरेको बेहोरासहितको जवाफ पेस गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै जवाफी पत्रमा नवराज सुवेदीले सार्वजनिक रूपमै पदत्याग गरिसकेको भन्दै अहिले आएर आफू अनुशासन आयोगमा रहेको भन्नु राजनीतिक रूपमै नमिल्ने जिकिर गरिएको छ । यस्तै पार्टी विधानतः पूर्ण रूपमा चलेको पनि जवाफमा उल्लेख गरिएको छ । राप्रपामा पछिल्लो पटक दुई लाइन सङ्घर्ष चर्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप