जब रोजिनालाई विद्यार्थीले सोधे – महिला वडाध्यक्ष हुन कत्तिको सहज छ ? (भिडियोसहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बालाजुमा मंगलबार कक्षा ८ देखि १० सम्मका विद्यार्थी सामाजिक चेतना, राजनीतिक रुचि, समावेशिता र आधुनिक प्रविधिको कुरा गर्दै थिए ।
पछिल्लो पुस्ता मोबाइलमा व्यस्त छन्, सामाजिक ज्ञान, राजनीतिप्रति रुचि खासै हुँदैन भन्ने भाष्य उक्त दृश्यले चिरिरहेको थियो । बालाजु शैक्षिक मञ्चले आयोजना गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू वर्तमानदेखि भविष्यको कुराकानी गर्दै थिए । उनीहरू आफैं सत्र सञ्चालकदेखि वक्तासम्म थिए ।
एक सत्रमा सोही वडाकी वडाध्यक्ष रोजिना श्रेष्ठ र बालाजु शैक्षिक मञ्चका अध्यक्ष डीएन अधिकारी वक्ता थिए । सत्रमा तीन विद्यार्थीले प्रश्नहरू दुवै जनालाई सोधिरहेका थिए । सोही क्रममा विद्यार्थी विभूति भण्डारीले वडाध्यक्ष श्रेष्ठलाई सोधिन्, ‘यति ठुलो काठमाडौंको एक मात्रै महिला वडाध्यक्ष हुन कति सहज हुन्छ ?’
जवाफमा वडाध्यक्ष श्रेष्ठले सहज बनाउन खोजिरहेको बताइन् । भनिन्, ‘म आएको धेरै भएको छैन, उपनिर्वाचन भएर आएको हो । सजिलो त पक्कै छैन, तर म आएपछि सहजीकरण गरेका काम गर्ने प्रयास गरिरहेको छु । महिलाहरू पनि अगाडि बढ्न सक्छन् है भनेर म नयाँ पुस्ताका भाइबैनीहरूलाई भन्न चाहन्छु,’ श्रेष्ठले भनिन् ।
उनलाई विद्यार्थीले थप प्रश्न सोधेका थिए । अर्की विद्यार्थी दिपना श्रेष्ठले सोधिन्, ‘त्यसोभए वडा चलाउन कत्तिको गाह्रो हुन्छ ?’ वडाध्यक्ष श्रेष्ठले जवाफ दिइन्, ‘मलाई धेरै ठाउँमा त गाह्रो भएको छैन तर केही ठाउँमा राजनीतिक आस्थाको कारण काम गर्न, योजना सम्पन्न गर्ने कुरामा असहज पक्कै भएको छ,’ रोजिनाले थपिन्, ‘पहिले वडा कार्यालयमा आउने सेवाग्राहीहरूले वडाध्यक्ष नभेटेको, सहज पहुँच नभएको भन्दै गुनासो गरिरहेका हुन्थे तर अहिले म आएपछि त्यो समस्या समाधान भएको छ ।’

अर्की विद्यार्थी स्तुति गिरीले विद्यार्थीकालमा कसरी पढेको, के उद्देश्य थियो भन्ने प्रश्न गरेकी थिइन् । यस्तै उनीहरूले वडाध्यक्ष श्रेष्ठ र बालाजु शैक्षिक मञ्चका अध्यक्ष डीएन अधिकारीलाई सामुदायिक विद्यालय र निजी विद्यालयको फरकबारे प्रश्न गरेका थिए । उनीहरूले विद्यार्थीहरूलाई पढाउने शैलीको विषयमा पनि बहस गरेका थिए ।
कम उमेर, बहस परिपक्व
१६ नम्बर वडाको ८ वटा निजी विद्यालयबाट सहभागी विद्यार्थीले गरेको बहस परिपक्व सुनिन्थ्यो । उनीहरूले विद्यार्थीप्रति समाजको, परिवारको अपेक्षा कस्तो छ भन्दै बहस गरिरहेका थिए । विद्यार्थी इच्छा चापागाईंले सहजीकरण गरेको एक सत्रमा विद्यार्थीहरू भूमिका परियार, कुसुम खतिवडा, परिशा श्रेष्ठ, सुनारिका मल्लले नयाँ पुस्तामा सामाजिक हुन कतिको चुनौती छ, पढाइ, परिवार लगायत विषयमा मानसिक स्थितिले कसरी काम गर्छ भन्नेबारे छलफल गरेका थिए ।
उनीहरूले पढाइका क्रममा महिनावारीको समस्या, जीपीएको प्रेसर र अतिरिक्त क्रियाकलाप लगायतको विषयमा पनि बहस गरेका थिए । उनीहरूले कक्षाकोठमा शिक्षकको, घरमा अभिभावकको गतिविधि र त्यसले विद्यार्थीमा हुने प्रगति तथा दबाबबारे खुलेर छलफल गरेका थिए ।

छलफलपछि रातोपाटीसँग वडाध्यक्ष श्रेष्ठले विद्यार्थीहरूको प्रस्तुति उत्कृष्ट लागेको प्रतिक्रिया दिइन् । ‘हामीले अब यस्तै कार्यक्रम महानगरमा पनि गर्ने प्लान गर्छौँ । विद्यार्थीहरूको क्षमता देख्ने अवसर पायौँ, अहिले युवाहरूमा पनि सामाजिक र राजनीतिक चेत छ भन्ने देखियो,’ उनले भनिन् ।
मञ्चका अध्यक्ष डीएन अधिकारीले महिना प्रत्येक यस्ता क्रियाकलाप हुने गरेको जानकारी गराए ।
भिडियो : योगेन्द्र नगरकोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण