'त्यसपछि जसरी पनि शिशुलाई बचाउनुपर्छ भन्ने आँट आयो'
सारांश
- बैतडीको सिगास गाउँपालिकामा एक अनमीले ८ घण्टासम्म मुखले सास दिएर नवजात शिशुको ज्यान बचाइन्।
- शिशुको स्वास्थ्य अवस्था गम्भीर भएपछि अनमी जानकी पुजाराले आफ्नै मुखले शिशुलाई सास दिएर बचाएकी थिइन्।
- दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभाव र चुनौतीका बाबजुद अनमीले देखाएको साहसको स्थानीय प्रशंसा भयो।
धनगढी । साउन ८ गते राति । बैतडीको सबैभन्दा दुर्गम मानिने सिगास गाउँपालिका–४, कान्धारको आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रसूति कक्षा । बाहिर झमझम पानी परिरहेको थियो, प्रसूति कक्षमा चाहिँ सन्नाटा थियो ।
नवजात शिशु रोएको आवाजले गुञ्जिने प्रसूति कक्षमा सन्नाटा छाउनुको कारण थियो, सिगास गाउँपालिका-४ कै २० वर्षीया लक्ष्मी धामीले जन्म दिएको शिशु रोइरहेको थिएन । नवजात शिशुको मौनताले प्रसूति कक्षाभित्र रहेका लक्ष्मीका आफन्त र स्वास्थ्यकर्मी सबै चिन्तित थिए । लक्ष्मी पहिलोपटक आमा बनेकी थिइन् ।
राति ठीक ९ बजेर ३३ मिनेटमा जन्मिएको शिशु नरुने, सास नफेर्ने र शरीरमा कुनै प्रतिक्रिया नभएपछि २७ वर्षीया अनमी जानकी पुजाराले आफ्नो ६ वर्षे करिअरको सबैभन्दा कठिन परीक्षाको सामना गर्नुपर्यो ।
‘आमाको स्वास्थ्यका सबै सूचकहरू सामान्य थिए, तर पहिलो बच्चा भएकाले अन्तिममा उहाँले बल गर्न सक्नुभएन । हामीलाई पहिल्यै डर लागिरहेको थियो, आखिर त्यही भयो,’ जानकी भन्छिन् ।
शिशुको अवस्था गम्भीर देखेपछि जानकीले एक पल पनि खेर फालिनन् । उनले तत्कालै गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई अवस्थाबारे जानकारी गराइन् । तर रातिको समय, खराब मौसम र विकट भूगोलका कारण हेलिकप्टर आउन नसक्ने जवाफ आयो । अर्को विकल्प गाडी बोलाउनु थियो, तर गाडी चल्ने कच्ची सडकसम्म पुग्न सुत्केरी र नवजात शिशुलाई बोकेर चार घण्टा पैदल हिँड्नुपर्थ्यो । यी दुवै विकल्प मध्यरातमा सम्भव थिएनन् ।
सबै ढोका बन्द भएपछि जानकी र उनका सहकर्मीसँग एउटै मात्र विकल्प थियो, आफूले काम गर्दा सिकेको सीप र साहस । स्वास्थ्यचौकीमा रहेको कृत्रिम श्वास दिने ‘एम्बु ब्याग’ शिशुको सानो मुखमा ठ्याक्कै मिलेन र हावा बाहिर फुस्किरहेको थियो ।
अब अन्तिम विकल्प थियो, आफ्नै मुखले शिशुको मुखमा श्वास भर्नु । जानकीले यही बेला आफ्नो सीप र साहस जुटाइन् । मन बलियो बनाइन् र कृत्रिम सास दिन उनी तयार भइन् । जानकीले लगातार शिशुको चिसो ओठमा आफ्नो न्यानो श्वास भर्न थालिन् । करिब २०–२५ मिनेटको प्रयासपछि शिशुको छातीबाट मसिनो घ्यार–घ्यार आवाज आयो, जसले आशाको सानो किरण देखायो ।
‘त्यसपछि हामीलाई जसरी पनि बचाउनुपर्छ भन्ने थप आँट आयो,’ उनी सुनाउँछिन् ।

समय बित्दै जाँदा कोठामा निराशा बाक्लिँदै थियो । लक्ष्मी र उनका आफन्तले आशा मारिसकेका थिए । ‘हामी सबै रोइरहेका थियौँ । बच्चा गइसक्यो भन्ने लागेको थियो । मेरो मनले पनि हार मान्न लागेको थियो, तर मेरो हात रोकिएनन्,’ उनी भन्छिन् ।
जानकीले पूरै ८ घण्टा लगातार सास दिइन् । राति करिब १० बजेदेखि सुरु भएको त्यो जीवन–मरणको लडाइँ बिहानसम्मै चल्यो । धेरै प्रयासपछि, जब बिहानको ३ बज्यो, अचानक शिशुले रुन सुरु गर्यो र हातखुट्टा चलाउन थाल्यो । त्यो रुवाई जानकी र त्यहाँ उपस्थित सबैका लागि संसारको सबैभन्दा ठूलो खुसी बन्यो ।
‘मैलेँ त्यो क्षण सम्झिँदा मेरो आँखाबाट आँसु खस्छन्, भगवान् रहेछन् भन्ने लाग्यो, कति डर थियो, अहिले पनि हात काँप्छन्, मुट चिसो हुन्छ त्यो रातिको अवस्था सम्झिँदा । हामीलाई भगवानले साथ दियो,’ जानकी भन्छिन् ।
बच्चा रोएको आवाजले आमा लक्ष्मीको अनुहारमा खुसी छायो ।
‘मैलेँ त ड्युटी गरेको हो, सबैले राम्रो काम गर्नुभयो भनेर साहस दिए, यति धेरै माया पाउँछु भन्ने सोचेको थिइनँ । धेरैको मायाले काममा थप बल आउने रहेछ’, जानकी भन्छिन् ।
सिगास सुदूरपश्चिमकै सबैभन्दा दुर्गममध्ये एक पालिका हो । सिगासका सबै ठाउँका अहिलेसम्म बिजुली पुगेको छैन । बर्खामा महिनौंसम्म गाडी चल्दैन । जानकी कार्यरत आधारभूत स्वास्थ्य केन्द्रमा उनी र एक अहेब गरी दुई जना कर्मचारी छन्, त्यो पनि करारमा ।
‘हामीलाई दक्ष जनशक्ति र स्रोतसाधनको खाँचो छ । यदि आवश्यक उपकरण र स्थायी कर्मचारी हुने हो भने हामी अझै राम्रो सेवा दिन सक्छौं । दुर्गमको दुःख यहाँ काम गर्नेले मात्र बुझ्छ,’ जानकी भन्छिन् ।
साउन ८ गतेको त्यो घटनापछि जानकी तेस्रो दिन लक्ष्मीको घरमा गत साउन ११ गते शिशुको घरमा उसको अवस्था बुझ्न पुगिन् । शिशु र आमा दुवैको स्वास्थ्य सामान्य थियो । शिशुको परिवार जानकीप्रति यति कृतज्ञ छ कि उनीहरूका लागि शब्दले धन्यवाद दिन अपर्याप्त छ । शिशुकी हजुरआमा फोनमा भक्कानिँदै भन्छिन्, ‘तपाईं नभइदिएको भए आज हाम्रो घरमा रुवाबासी चल्थ्यो । तपाईं हाम्रो लागि भगवान् बनेर आउनुभयो ।’

त्यही घरभेटको समयमा खिचेको भिडियो उनले आफ्नो व्यक्तिगत खुसी साट्न फेसबुकमा राखेकी थिइन्, जुन भाइरल भयो ।
‘मैले यत्रो संघर्षमा सफलता पाएँ भनेर आफ्नो खुसीका लागि त्यो भिडियो राखेको थिएँ, प्रचारका लागि होइन,’ जानकी भन्छिन् ।
डोटीमा जन्मेकी जानकीका लागि स्वास्थ्य सेवा उनको पेसा मात्र होइन, परिवारको सपना थियो । बुवा र दिदीको प्रेरणाले उनले दिपायलको सेती प्राविधिक शिक्षालयबाट २९ महिने अनमी कोर्स पूरा गरिन् । सरकारी सेवामा आउनुअघि उनले धनगढीको अस्पतालमा करिब चार वर्ष काम गरिन् ।
‘आज मैले शिशुलाई बचाउन सकेको सीप त्यही बेला अस्पतालमा डाक्टरहरूसँग काम गर्दा सिकेकी हुँ,’ उनी आफ्नो अनुभव सुनाउँछिन् ।
विगत ६ वर्षदेखि सरकारी सेवामा रहेकी जानकीले चार वर्ष डोटी र पछिल्लो डेढ वर्षदेखि बैतडीको सिगासमा काम गरिरहेकी छिन् । उनी आफैँ दुई वर्षीय छोराकी आमा हुन् । उनी स्वास्थ्य चौकी नजिकै कोठा भाडामा लिएर बस्छिन् । आफ्नो घर पुग्न दुई घण्टा पैदल हिँड्नुपर्छ ।
‘भेटघाटका लागि घर जाँदा बच्चालाई छोडेर जानुपर्छ । दुई घण्टा जान र दुई घण्टा आउन समय लाग्छ । यो दुःख भोग्नेलाई मात्र थाहा हुन्छ, त्यही भएर घरबाट टाढा डेरा गरेर बस्नुपरेको छ’, जानकी भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण