बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारत र अमेरिकाद्वारा अत्याधुनिक भू–उपग्रह सफलतापूर्वक प्रक्षेपण

बुधबार, १४ साउन २०८२, २२ : ०२
बुधबार, १४ साउन २०८२

सारांश

  • भारत र अमेरिकी अन्तरिक्ष एजेन्सीहरूले निसार भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरे।
  • निसारले पृथ्वीको सतहमा हुने स-साना परिवर्तनहरू निगरानी गर्नेछ र जलवायु परिवर्तनको अनुगमनमा सहयोग गर्नेछ।
  • उपग्रहले भू-स्खलन, समुद्री सतह परिवर्तन, हिमनदी पग्लिने जस्ता घटनाहरूको निगरानी गर्नेछ।

नयाँ दिल्ली । भारत र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू इसरो र नासाले संयुक्त रूपमा बनाएको अत्याधुनिक भू–उपग्रह ‘निसार’ बुधबार आन्ध्र प्रदेशको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ। २ हजार ३९२ किलोग्राम तौल भएको यो उपग्रहले पृथ्वीको सतहमा हुने स–साना परिवर्तनहरू निगरानी गर्नेछ।

उपग्रहलाई सूर्यको ‘सिङ्क्रोनस पोलार कक्ष’मा पठाइएको हो, जसले पृथ्वीको एउटै भागमाथि निश्चित अन्तरालमा पुनः स्क्यान गर्न सक्नेछ। नासाका अनुसार यो उपग्रहले भूमि, समुद्र, हिमाल लगायतका क्षेत्रहरूमा केबल केही सेन्टिमिटरको परिवर्तनसमेत पत्ता लगाउन सक्नेछ। नासाका अनुसार निसार अहिलेसम्मकै सबैभन्दा उन्नत राडार यन्त्र भएको भू–प्रेक्षण उपग्रह हो।

निसारमा नासाको एल–ब्यान्ड र इसरोको एस–ब्यान्ड राडार प्रविधिको संयोजन गरिएको छ। यी प्रविधिहरू प्रयोग गरेर पृथ्वीको सतहमा भएका सूक्ष्म परिवर्तनहरू पनि स्पष्टसँग देख्न सकिनेछ। उपग्रह हरेक १२ दिनमा एउटै स्थानको स्क्यान दोहोर्‍याउनेछ, जसले दीर्घकालीन तथ्याङ्क सङ्कलनमा सहयोग पुर्‍याउनेछ।

यो उपग्रहको तथ्याङ्क केवल भारत र अमेरिका मात्र नभएर विश्वभरका देशहरूलाई पनि प्राकृतिक प्रकोप व्यवस्थापन र जलवायु परिवर्तनको अनुगमनमा उपयोगी हुने विश्वास गरिएको छ। भू–स्खलन, समुद्री सतहमा हुने परिवर्तन, हिमनदी पग्लिने र तटीय क्षयजस्ता घटनाहरूको निगरानी गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

निसारको प्रक्षेपण यसै महिना सम्पन्न एक्सियम–४ मिसनपछि भारतको अन्तरिक्ष कार्यक्रमका लागि अर्को महत्त्वपूर्ण उपलब्धि मानिएको छ। उक्त मिसनमार्फत पहिलो पटक एक भारतीय अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) पुगेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप