‘जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्दैनन्’
सारांश
- कमल गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरी कुन विद्यालयमा पढ्छन् भन्ने विवरण सार्वजनिक गरेको छ।
- सार्वजनिक विवरण अनुसार, धेरैजसो जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढ्दैनन्।
- पालिकाले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन यस्तो निर्णय गरेको जनाएको छ, जसलाई सकारात्मक रूपमा लिइएको छ।
झापा । कमल गाउँपालिकाले आफ्ना पालिकाका जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुले छोराछोरी कहाँ पढाउँछन् भन्ने विवरण सार्वजनिक गरेको छ । ‘सरोकारवालाहरुको जानकारीका लागि’ भन्दै पालिकाले सूचनामार्फत सार्वजनिक गरेको विवरण अनुसार आधाभन्दा धेरै जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्दैनन् ।
सार्वजनिक गरिएको विवरणलाई पालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रमाणित गरेका छन् । पालिकाले सार्वजनिक गरेका ४१४ जना जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुमध्ये ६७ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाएका छन् ।
निजी विद्यालयमा छोराछोरी पढाउनेहरु ९९ जना रहेका छन् । बाँकी २४८ जनामध्ये अधिकांशले आफ्ना छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको विवरण पालिकालाई उपलब्ध गराएका छन् । केहीले अविवाहित रहेको समेत जनाएका छन् भने केहीको छोराछोरी विदेशमा पढिरहेको समेत उल्लेख छ ।
पालिकाले सामुदायिक विद्यालयका २५७ जना शिक्षक, ३९ जना जनप्रतिनिधि र ११८ जना कर्मचारीको छोराछोरीको नाम, कक्षा र उनीहरु पढ्ने विद्यालयको नाम सार्वजनिक गरेको हो । पालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेका छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको जनाइएको छ । विद्यालय तहमा पढाउँदा कुन विद्यालयमा पढेका थिए भन्ने चाहिँ उल्लेख छैन ।
प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका दुई छोराछोरीमध्ये एउटी छोरी लिलीपुट प्रिमियर स्कुल (निजी विद्यालय) को कक्षा ३ मा अध्ययनरत् रहेको जनाइएको छ । वडा नं. २ का वडा सदस्य भीमबहादुर कार्की, कार्यपालिका सदस्य ज्ञानबहादुर नेपाली लगायतका जनप्रतिनिधिले आफ्ना छोराछोरी आफ्नै वडाको सामुदायिक विद्यालयमा पढाउने गरेको उल्लेख छ । कार्कीका छोरा सन्दिपसिंह कार्की महेन्द्ररत्न माविमा र नेपालीका दुई छोराछोरी नरेन्द्र जनता माविमा अध्ययनरत् छन् ।
वडा नं. १ का वडा सदस्य चैतन्यप्रसाद चम्लागाईले ज्ञानज्योति बोर्डिङ गौरादह र वडा नं. ७ की वडा सदस्य हिमादेवी नेपालीले स्मारिका बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउने गरेको विवरण सार्वजनिक भएको छ । पालिकाकी लेखा अधिकृत सृजना राईले आफ्ना दुवै जना छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराएका छैनन् ।
उनका छोराछोरी ज्ञानोदय बालवाटिका विद्यालय र सूर्योदय इङ्लिश स्कुलमा अध्ययनरत् छन् । पालिकाको वि.सं. २०८० वैशाख १९ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराउनु पर्ने निर्णय गरेको पालिकाका प्रमुख हुकुमसिंह राईले बताए ।
सोही निर्णयलाई आधार मानेर पालिकाले छोराछोरी पढ्ने विवरण संकलन गरेको थियो । शिक्षा ऐनले जनप्रतिनिधि, सामुदायिकका शिक्षक र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनै पर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । तथापि पालिकाको सामुदायिक विद्यालयप्रति जनआकर्षण बढाउन कार्यपालिकाले निर्णय गरेको पालिकाको सूचनामा उल्लेख छ ।
सामुदायिक विद्यालयका शिक्षकहरु नै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन लैजान्छन् भन्ने गुनासो आइरहेका बेला कमल गाउँपालिकाको निर्णयलाई सर्वसाधारणले भने सकारात्मक रुपमा लिएको पाइएको छ । पालिकाका २५७ जना शिक्षकमध्ये ५७ जनाले मात्र सामुदायिक विद्यालयमा र ५३ जनाले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
वडा नं. ७ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक रामकुमार सुब्बाले आफ्ना दुई जना छोराछोरीलाई आफुले पढाउने विद्यालयमै पढाउने गरेको जनाइएको छ । उनका छोराछोरी कक्षा ४ र ६ मा पढ्छन् । सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक प्रभाखर काफ्लेका दुबै छोराछोरी निजी विद्यालयमा पढ्ने गरेका छन् ।
दमकको सिंहदेवी बोर्डिङ स्कुल दमक र सनसाइन बोर्डिङ स्कुल कमलमा उहाँका छोराछोरी अध्ययन गर्दै आएको पालिकाको सूचनामा उल्लेख छ । पालिकाका ३९ जनप्रतिनिधिमध्ये चार जनाले, कर्मचारी ११८ जनामध्ये छ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण