आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध

आइतबार, ०७ असार २०८३, ०० : ४७
आइतबार, ०७ असार २०८३

सारांश

  • अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई ५–१ गोलले पराजित गरेको छ ।
  • डच टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै ३ अंक बटुलेको छ ।
  • यो जितसँगै नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

काठमाडौं ।अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले स्विडेनमाथि ५–१ को सानदार जित दर्ता गरेको छ । शनिबार राति भएको यस खेलमा डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूहको शीर्ष स्थानमा आफ्नो कब्जा जमाएको छ ।

नेदरल्याण्ड्सको जितमा ब्रायन ब्रोबी र कोडी गाक्पो नायक बने । ब्रोबीले खेलको ५ औँ र १७ औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफमै २–० को बलियो स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफमा पनि नेदरल्याण्ड्सको आक्रामक लय जारी रह्यो । कोडी गाक्पोले खेलको ४७ औँ र ५४ औँ मिनेटमा लगातार दुई गोल थपेर टोलीलाई ४–० को विशाल अग्रता दिलाए । खेलको अन्त्यतिर ८९ औँ मिनेटमा क्राइसेन्सियो समरभिलले पाँचौं गोल थप्दै जितको अन्तर फराकिलो बनाए ।

यता, पहिलो खेलमा ट्युनिसियालाई हराएर उच्च मनोबलमा रहेको स्वीडेनका लागि ५९ औँ मिनेटमा एन्थोनी इलांगाले एक मात्र सान्त्वना गोल फर्काउन सके । यो हारसँगै स्विडेन तालिकाको दोस्रो स्थानमा झरेको छ ।

पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेल्दै १ अंक मात्र जोडेको नेदरल्याण्ड्स यो विशाल जितपछि ४ अंकका साथ समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । यो सानदार नतिजाले नेदरल्याण्ड्सको अघिल्लो चरण प्रवेशको सम्भावनालाई निकै बलियो बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप