शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीका ४ हजारभन्दा बढी द्वन्द्व पीडितलाई ९ करोड ६९ लाख भत्ता वितरण

बिहीबार, १५ साउन २०८२, १५ : ३२
बिहीबार, १५ साउन २०८२

सारांश

  • कर्णाली प्रदेश सरकारले द्वन्द्वपीडित सहिद परिवार र घाइतेहरूलाई सम्मान स्वरूप आर्थिक वर्ष २०८१/०८२ मा ९ करोड ६९ लाख ८४ हजार रुपैयाँ वितरण गरेको छ।
  • यस कार्यक्रमबाट प्रदेशभरका ४ हजार ४१ जना लाभान्वित भएका छन्, जसमा सहिद परिवार र घाइतेहरू समावेश छन्।
  • सहिद परिवारलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वितरण गरिन्छ, जसले उनीहरूको जीवन निर्वाहमा सहयोग पुर्‍याउँछ।

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा ९ करोड ६९ लाख ८४ हजार रुपैयाँ द्वन्द्वपीडित सहिद परिवार तथा घाइतेहरूको सम्मान र जीवन निर्वाहका लागि वितरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विवरणअनुसार यस कार्यक्रमबाट प्रदेशभरका ४ हजार ४१ जना लाभान्वित भएका छन् ।

मन्त्रालयले सहिदका लागि ‘सहिद स्मृति भत्ता’ र घाइतेका लागि ‘जीवन निर्वाह भत्ता’ वितरण गर्दै आएको छ ।

तथ्याङ्क अनुसार प्रदेशभरका दुई हजार १२१ सहिद तथा बेपत्ताका परिवार र एक हजार ९२० घाइतेलाई भत्ता प्रदान गरिएको छ ।

सहिद तथा बेपत्ता परिवारका लागिमात्रै ५ करोड ९ लाख ४ हजार र घाइतेतर्फ ४ करोड ६० लाख ८० हजार गरी कुल ९ करोड ६९ लाख ८४ हजार वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी तुलसीप्रसाद आचार्यले बताए ।

उनका अनुसार प्रत्येक लाभान्वितले मासिक दुई हजार रुपैयाँका दरले वार्षिक २४ हजार रुपैयाँ प्राप्त गर्छन् ।

विवरण अनुसार, सबैभन्दा बढी लाभान्वित हुनेमा कालिकोट र सल्यान जिल्ला देखिएका छन् । स्थानीय तहमध्ये सल्यानको बागचौर नगरपालिकामा सबैभन्दा धेरै २९८ जना (४७ सहिद परिवार र २५१ घाइते) लाई ७१ लाख ५२ हजार रुपैयाँ भत्ता वितरण गरिएको छ ।

मन्त्रालयको यो कार्यक्रमले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान र घाइते भएका व्यक्तिहरूलाई जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ ।

यो जीवन निर्वाह भत्ताले पीडित परिवारलाई सानो भए पनि आर्थिक राहत प्रदान गर्ने अपेक्षा गरिएको प्रदेश सरकारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप