फेरिँदै वीरेन्द्रनगर, प्रविधिमैत्री सहर बनाउने योजना धमाधम कार्यान्वयन
सारांश
- वीरेन्द्रनगरलाई सुरक्षित बनाउन सीसीटीभी जडान, ट्राफिक बत्ती र पार्किङस्थल निर्माण गरिने भएको छ।
- नगरपालिका, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयबीच समझदारी, जसअनुसार सीसीटीभी जडान गरिनेछ।
- सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सोलार बत्ती, ट्राफिक बत्ती र पार्किङस्थल निर्माण गरिने योजना छ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना अघि बढाइएको छ ।
अत्याधुनिक सीसीटीभी क्यामेरा जडानदेखि सडक सुरक्षाका लागि ट्राफिक बत्ती, ‘उज्यालो सहर’ अभियानअन्तर्गत सोलार बत्ती, अव्यवस्थित पार्किङ अन्त्य गर्न ठुला पार्किङस्थल निर्माण र सार्वजनिक स्थानमा निःशुल्क वाईफाई हटस्पट स्थापनासम्मका कामलाई तीव्रता दिइएको छ ।
यी एकीकृत योजनाले नगरको सुरक्षा निगरानी, ट्राफिक व्यवस्थापन र नागरिक सेवालाई स्तरोन्नति गरी वीरेन्द्रनगरलाई एक आधुनिक सहरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
- ३५५ वटा सीसीटीभी जडान गरिँदै
राजधानी वीरेन्द्रनगरमा यही वर्षभित्र ३५५ वटा सीसीटीभी जडान गरिने भएको छ । बिहीबार वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबिच यसबारे त्रिपक्षीय समझदारी भएको छ ।
नगरपालिकाको कार्यालयमा नगर–प्रमुख मोहनमाया ढकाल (भण्डारी), नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक डा. कमल लामिछाने र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीअनुसार, नगरको सुरक्षा व्यवस्थापन र निगरानीलाई प्रभावकारी बनाउन यो कदम चालिएको हो ।
समझदारीपत्र अनुसार नगरका विभिन्न स्थानमा ३५५ वटा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । यो कार्यले नगर क्षेत्रमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुका साथै वीरेन्द्रनगरलाई ‘डिजिटल नगरपालिका’ का रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
_TTz2qihLm4.jpg)
ढकालले आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमा नगरलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने दृढ सङ्कल्पसहित डिजिटल प्रविधिमार्फत नागरिक सेवालाई सहज बनाउने नीति लिएकी थिइन् ।
समझदारीअनुसार सीसीटीभी जडान कार्य दुई चरणमा सम्पन्न गरिने छ । पहिलो चरणअन्तर्गत आगामी ६ महिनाभित्र नगरका १०५ वटा अति संवेदनशील र मुख्य स्थानमा क्यामेरा जडान गरिसक्ने लक्ष्य राखिएको छ । यसका लागि वीरेन्द्रनगर नगरपालिकाले ११ लाख ६९ हजार ५०० रुपैयाँ लागत व्यहोर्ने छ ।
बाँकी २५० वटा क्यामेरा जडानको काम दोस्रो चरणमा चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । यसको सम्पूर्ण लागत पनि नगरपालिकाले नै व्यहोर्ने छ । नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका मुख्य बजार, राजमार्ग, पर्यटकीय स्थल, सरकारी कार्यालय र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रहरूलाई प्राथमिकतामा राखी क्यामेरा जडान गरिने नगरप्रमुख ढकाल बताउँछिन् ।
‘भविष्यमा सुरक्षा संवेदनशीलता र आवश्यकताका आधारमा थप स्थानमा समेत क्यामेरा विस्तार गर्न सकिने प्रावधान राखिएको छ,’ उनले भनिन् ।
यो परियोजना ‘गभर्मेन्ट टु गभर्मेन्ट’ मोडेलमा सञ्चालन हुने छ, जसमा तीन वटा निकायको भूमिका र जिम्मेवारी स्पष्ट पारिएको छ ।
वीरेन्द्रनगर नगरपालिका (पहिलो पक्ष)ले कार्यक्रम अन्तर्गतको सम्पूर्ण आर्थिक भार व्यहोर्ने, सीसीटीभी क्यामेरा, पोल, पावर सप्लाई, स्विच, राउटर, एनभीआरजस्ता भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने र भण्डारणको सम्पूर्ण जिम्मेवारी लिने छ । सीसीटीभी फुटेजको गोपनीयता र सुरक्षाको जिम्मा नगरपालिका र प्रहरीको संयुक्त हुने छ ।
नेपाल टेलिकम (दोस्रो पक्ष)ले परियोजनाका लागि आवश्यक पर्ने अप्टिकल फाइबर नेटवर्क पूर्वाधार उपलब्ध गराउने छ । टेलिकमले आफ्नो अत्याधुनिक फाइबर नेटवर्कमार्फत सीसीटीभीलाई केन्द्रीय नियन्त्रण कक्षसँग जोड्ने प्राविधिक सहयोग गर्ने छ । यसका लागि लाग्ने शुल्क नेपाल टेलिकमको स्वीकृत दररेटअनुसार हुने छ, जसमा १० प्रतिशत टिएससी र १३ प्रतिशत भ्याट समावेश हुने छ ।
जिल्ला प्रहरी कार्यालय (तेस्रो पक्ष) सुर्खेतले सीसीटीभी जडानका लागि रणनीतिक स्थान पहिचान गर्न नगरपालिकालाई सहयोग गर्ने छ । जडानपश्चात् सीसीटीभी फुटेजको चौबीसै घण्टा निगरानी गर्ने, अपराध अनुसन्धानमा प्रयोग गर्ने र समग्र सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने छ । फुटेजको सुरक्षा र गोपनीयता कायम राख्ने जिम्मेवारी प्रहरीको पनि हुने छ ।
यसअघि उपत्यकाभर करिब १०० को हाराहारीमा सीसीटीभी जडान थिए । तर ती बिग्रिसकेका थिए ।
- वाईफाई ‘हटस्पट’
सीसीटीभी जडानसँगै नगरका केही सार्वजनिक स्थानमा वाईफाई हटस्पट पनि निर्माण गरिने छ । यसका लागि इन्टरनेट प्याकेजको खर्च नगरपालिकाले व्यहोर्ने छ भने फाइबर कनेक्टिभिटी र राउटर नेपाल टेलिकमले उपलब्ध गराउने छ । हटस्पटको सुरक्षा र व्यवस्थापनको पूर्ण जिम्मेवारी भने नगरपालिकाको हुने छ ।
परियोजनाको प्रभावकारिताका लागि सेवास्तर सम्झौता समेत गरिएको छ, जसअनुसार फिल्ड सपोर्ट बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म र सिस्टम सपोर्ट २४ सै घण्टा उपलब्ध हुने छ । यसले गर्दा सीसीटीभी प्रणालीमा कुनै प्राविधिक समस्या आएमा तत्काल समाधान गर्न सहज हुने छ ।
यो कार्यक्रमको सफल कार्यान्वयनपछि वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, र सार्वजनिक सुरक्षामा उल्लेख्य सुधार आउने विश्वास लिइएको छ ।
साथै, यसले कर्णाली प्रदेशको राजधानीलाई एक आधुनिक, सुरक्षित र प्रविधिमैत्री सहरका रूपमा स्थापित गर्न कोसे ढुङ्गा साबित हुने नगरप्रमुख ढकालले बताइन् ।
- सडक सुरक्षाका लागि सोलार बत्ती, ट्राफिक बत्ती र पार्किङ
डिजिटल र सुरक्षित वीरेन्द्रनगर बनाउनका लागि नगरपालिकाले ठाउँ–ठाउँमा सोलार बत्ती, ट्राफिक बत्ती र पार्किङका योजना अगाडि बढाएको छ ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार राजधानीको मुख्य वीरेन्द्रचोकबाट ट्राफिक बत्ती जडान सुरु गरिएको छ । ‘यसको मुख्य उद्देश्य सडक सुरक्षा र ट्राफिक व्यवस्थापन नै हो,’ उनले रातोपाटीसँग भनिन्, ‘बाँकी अन्य स्थानमा पनि बिस्तारै ट्राफिक बत्ती जडान गर्ने योजना छ ।’
_9R1kbb6D7n.jpg)
विशेषगरी पैदल यात्रु र सवारी चाप धेरै हुने स्थानमा ट्राफिक बत्ती जडानको काम अघि बढाइएको ढकाल बताउँछिन् । सोही अनुसार पहिलो चरणमा वीरेन्द्रचोकमा २४ लाख ७५ हजार खर्च गरी ट्राफिक बत्ती जडान गरेको हो ।
उनका अनुसार एरिचोकमा पनि जडानको तयारी थियो । उक्त स्थानमा सडक डिभिजनले नै ट्राफिक बत्तीका लागि टेन्डर गर्ने भनेपछि नगरपालिका ब्याक भएको उनको भनाइ छ ।
उनले थप भनिन्, ‘यदि सडक डिभिजनबाट त्यो काम समयमा पूरा हुन सकेन भने नगरपालिका आफैँले पनि गर्ने गरी तयारी अवस्थामा छौँ ।’
- ‘उज्यालो सहर’ अन्तर्गत सोलार बत्ती जडान
वीरेन्द्रनगर नगरपालिकाले नगरलाई प्रविधिमैत्री, उज्यालो र सुरक्षित बनाउने अभियान अन्तर्गत नगरका सबै सार्वजनिक महत्त्वका सडकहरूमा सोलार बत्ती जडान गर्ने काम गरिरहेको छ ।
नगरपालिकाले हालसम्म चरणबद्ध रूपमा साढे ५ करोड रुपैयाँ बराबरको लगानीमा सडक बत्ती जडान गरिरहेको छ ।
यसअघि सुरुमा मुख्य सडक रत्न राजमार्ग अन्तर्गत धुलियाबिटदेखि बसपार्कसम्म ९५ लाख ७६ हजार बराबरका १४३ वटा सोलार बत्ती जडान भइसकेका छन् । बसपार्कदेखि बांगेसिमलसम्म जडानको काम भइरहेको छ ।

‘हामीले चरणबद्ध रूपमा काम गरिरहेका छौँ,’ ढकालले थप भनिन्, ‘यो काम अहिले पनि निरन्तर चलिरहेको छ । वीरेन्द्रनगरका सबै सडकलाई उज्यालो बनाउने लक्ष्य हाम्रो छ ।’
उनका अनुसार कतै विद्युतीय लाइनबाट चल्ने नयाँ प्रविधिका बत्ती जडान भइरहेका छन् भने कतै सोलार बत्ती जडान ।
उज्यालो सहरको अभियानसँगै नगरको सुरक्षा व्यवस्थालाई पनि सुदृढ बनाउन लागिएको उनको भनाइ छ । ढकालले भनिन्, ‘हाम्रो उद्देश्य वीरेन्द्रनगरलाई एउटा प्रविधिमैत्री र सुरक्षित सहर बनाउनु हो । यसका लागि हामीले सीसीटीभी क्यामेरा जडानसँगै सुरक्षा निगरानीका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतसँग पनि निरन्तर समन्वय गरिरहेका छौँ ।’
- ठुला पार्किङ स्थल बन्दै
नगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियानअन्तर्गत फुटपाथ खाली गर्ने तथा पार्किङ व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ । नगरप्रमुख ढकालका अनुसार, सडकमा हुने अव्यवस्थित पार्किङलाई पूर्ण रूपमा हटाउन हङकङ बजार, टीआर लाइन क्षेत्र र बसपार्कमा गरी तीन प्रमुख स्थानमा नयाँ पार्किङ संरचना निर्माणको काम अघि बढाइएको छ ।
‘अहिले हामीले फुटपाथ खाली गर्ने र पार्किङको व्यवस्थापन गर्ने काम पनि सँगसँगै गरिरहेका छौँ,’ उनले भनिन्, ‘सडक सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।’
ढकालका अनुसार, विगतमा हटाइएको हङकङ बजार क्षेत्रमा पार्किङ निर्माणका लागि टेन्डर प्रक्रिया सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको छ । यसले सहरको मुख्य बजार क्षेत्रमा पार्किङको चापलाई घटाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, खाली गरिएको टीआर लाइनको केही भागमा पर्यटकीय आकर्षणको केन्द्र ‘मण्डला’ निर्माण गरिने छ भने बाँकी भागमा मोटरसाइकलका लागि छुट्टै पार्किङ स्थल बनाउने योजना छ ।
बसपार्कलाई समेत विस्तार गरी त्यहाँ रहेको खाली जग्गामा करिब २ करोड रुपैयाँको लागतमा पार्किङ बनाउन टेन्डर भइसकेको छ । ‘यी संरचना निर्माण भएपछि सडकमा गाडी तथा बसहरू पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइनेछ,’ ढकालले भनिन्, ‘सबै सवारीसाधनले तोकिएको पार्किङस्थल नै प्रयोग गर्नुपर्ने छ ।’
यो कदमले नगरको ट्राफिक व्यवस्थापनमा सुधार आउने, सडक दुर्घटना न्यूनीकरण हुने र सहरको सौन्दर्य बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण