जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास
सारांश
- बैतडीमा जङ्गली जनावरले मकै बालीमा क्षति पुर्याएपछि किसानहरू खेतबारीमै रात बिताउन बाध्य भएका छन्।
- बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्, र भोकमरीको डर बढेको छ।
- मकै जोन कार्यक्रम सञ्चालनमा रहेका स्थानीय तहहरूमा पनि किसानहरूलाई बाली जोगाउन समस्या भइरहेको छ।
बैतडी । जङ्गली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ ।
बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकै बालीमा क्षति पुर्याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकै बाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए । मकै बाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ ।
उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकै बाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकै बाली जोगाउन सकिएको छैन ।” भर्खरै घोगा लाग्न लागेको मकै बाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरूमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए ।
बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।
ती स्थानीय तहमा किसानलाई मकै बाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । हरेक वर्ष मकै बालीमा जङ्गली जनावरले क्षति पुर्याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए । उनले भने, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकै बाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकै बाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकै बाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।”
बैतडीमा १२ हजार एक सय हेक्टरमा मकै खेती गरिन्छ । जङ्गली जनावरकै कारण मकै खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण