बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

अमेरिका–चीन मित्रता सुरुवातको सङ्केत !

बुधबार, २१ साउन २०८२, ११ : ४१
बुधबार, २१ साउन २०८२

सारांश

  • अमेरिका र चीनका वरिष्ठ अधिकारीबीचको बैठकले दुई देशबीचको सम्बन्ध सहज बनाउन भूमिका खेल्नेछ।
  • लेखमा ट्रम्पको चीन मोह र उनले चीनसँगको सम्बन्धलाई कसरी हेर्छन् भन्ने बारेमा चर्चा गरिएको छ।
  • लेखमा आगामी नोभेम्बरमा हुने भनिएको शिखर सम्मेलनलाई थप परिणाममुखी बनाउन वातावरण तय गर्ने कुरा उल्लेख छ।

अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्ट र चिनियाँ उप–प्रधानमन्त्री ख लिफेङबिच स्विडेनको स्टकहोममा गत सोमबार सुरु भएको दुई दिने बैठक धेरै महत्त्वपूर्ण हुनेवाला छ । यसले आपसमा तिक्ततापूर्ण व्यापार युद्ध तथा अन्योलपूर्ण अवस्था सामना गरिरहेका बेइजिङ र अमेरिकालाई आफ्नो सम्बन्ध सहज बनाउन प्रमुख भूमिका खेल्नेछ । अझ महत्त्वपूर्ण त यसले अमेरिका र चीनका राष्ट्रपतिबिच आउँदो नोभेम्बरमा हुने भनिएको शिखर सम्मेलनलाई थप परिणाममुखी बनाउन वातावरण तय गर्छ ।

हुन त यो साल जताततै अखबारका पानाहरू अमेरिका–चीन तनावका खबरले भरिएका छन् । यस्तो अवस्थामा अमेरिका–चीन मिलनको कुरा अनौठो सुनिन सक्छ, तर यो हप्ता भएको वरिष्ठ अधिकारीहरूको बैठकले संसारका सबैभन्दा शक्तिशाली दुई मुलुकबिच रचनात्मक सम्बन्धका लागि आधार तय गर्नेछ । यसका लागि केही विश्वासिला आधार पनि छन् ।

525864244_1276148367890701_2396001627777353559_n

आउने दिनमा सम्भावित परिदृश्यका लागि मेरो एउटा भविष्यवाणी छ । ट्रम्प र सी जिनपिङको भेटमा उनीहरू व्यापार मामलामा मात्रै नभएर ऊर्जा, म्यानुफ्याक्चरिङ, फेन्टानाईल, टिकटक तथा चीनले अमेरिकी व्यापार घाटा कम गर्ने गरी वस्तु आयात गर्ने लगायत धेरै विषयमा घोषणा गर्नेवाला छन् । यसलाई उनीहरूले ‘ग्रेट रिब्यालेन्सिङ’ नाम दिन पनि सक्छन् । गोप्य छलफलमा उनीहरू ताइवानको हालको सरकारले गरिरहेको उच्छृङ्खल र भड्काउपूर्ण गतिविधिबारे पनि खुलेर कुरा गर्नेछन् ।

हामीले अझै खुलेर सोच्ने हो भने उक्त शिखर बैठकले नयाँ सम्बन्धको आधारसमेत घोषणा गर्न सक्छ । दुई मुलुकबिचको साझेदारी पनि घोषणा हुनसक्छ । मैले कुनै गोप्य दस्तावेजको चुहावटको आधारमा यस्तो दाबी गरेको होइन, तर यो अनुमान सत्य साबित भयो भने ट्रम्प प्रशासनका धेरै सदस्य चकित हुने छन् । भविष्य निःसन्देह अन्योलपूर्ण छ । जुनसुकै दिशामा पनि लम्किन सक्छ । तथापि मैले दुवै राष्ट्रपतिहरूका भनाइको मसिनो गरी अध्ययन गर्दा दुवै पक्षले आफ्नो स्वार्थबारे गरेका मूल्याङ्कन हेर्दा तथा परिस्थितिको विश्लेषण गर्दा मेरो ब्रह्मले आउँदो नोभेम्बर अघि नै यस्तै केही हुने अनुमान गरेको छ ।

ट्रम्पको चीन मोहको सबैभन्दा बलियो प्रमाणका रूपमा उनको निर्वाचन अभियान दौरानका अभिव्यक्तिलाई लिन सकिन्छ ।

ट्रम्पको चीनबारेको दृष्टिकोण बुझ्न हामीले चार वटा मुख्य सन्दर्भ केलाउनुपर्ने हुन्छ, जुन धेरै विश्लेषकले छुटाउने गरेका छन् । पहिलो, अधिकांश अमेरिकी विदेशनीति संस्थापन पक्षहरू साथै आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूको विपरीत ट्रम्प भने चीन विरोधी व्यक्ति होइनन् । यदि शब्द संयोजनको खेल खेल्दा ‘चीन’ भन्ने शब्द आयो भने उनी ‘दुस्मन’ शब्दका सट्टा ‘मित्र’ शब्द प्रयोग गर्न रुचाउँछन् ।

ट्रम्पको चीन मोहको सबैभन्दा बलियो प्रमाणका रूपमा उनको निर्वाचन अभियान दौरानका अभिव्यक्तिलाई लिन सकिन्छ । गत वर्ष करिब ८१ प्रतिशत अमेरिकीहरू चीनप्रति नकारात्मक धारणा राख्थे । ट्रम्पमात्रै एक्ला त्यस्ता उम्मेदवार थिए जसले चीनप्रति सकारात्मक धारणा राख्थे । आफ्ना अन्तर्वार्ता, सामाजिक सञ्जालका पोस्ट तथा भाषणहरूमा उनले ‘मलाई चीन राम्रो लाग्छ’, ‘म राष्ट्रपति सीलाई धेरै आदर गर्छु’, ‘मिडियालाई मैले राष्ट्रपति सीको प्रशंसा गरेको मन पर्दैन’, ‘सी असाधारण व्यक्ति हुन्’  तथा ‘म चीनले महान् काम गरेको हेर्न चाहन्छु’ जस्ता अभिव्यक्ति दिएको छरपस्ट भेटिन्छन् ।

US-China-GettyImages-2226865564

दोस्रो, ट्रम्प आउँदो वर्ष हुन लागेको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको सफलताका लागि अमेरिकी अर्थतन्त्र बलियो हुनुपर्ने ठान्छन् । उनको यसमा धेरै ठुलो चासो छ । गत अप्रिलमा चीनविरुद्ध १४५ प्रतिशत भन्सार महसुल लगाउँदा चीनले बदलामा १२५ प्रतिशत भन्सार लगाएको उनले राम्रोसँग ख्याल गरेका छन् । त्यसले अमेरिकी अर्थतन्त्रलाई पुर्‍याएको असर पनि बुझेका छन् ।

ताइवानबारे ट्रम्पको विचार दोस्रो विश्वयुद्धयताका सबै राष्ट्रपतिको तुलनामा ज्यादा चीन निकट छ ।

जब ट्रम्प प्रशासनले उन्नतस्तरका सेमिकन्डक्टरहरू चीनमा निर्यातमा रोक लगाउन थाल्यो, चीनले ‘दुर्लभ खनिज’को निर्यातमा नियन्त्रण सुरु गरेर बदला लियो । त्यस्ता खनिजहरू अमेरिकी सवारी साधन उद्योग तथा सैन्य उपकरण निर्माणमा अत्यावश्यक हुन्छन् । यो प्रतिस्पर्धामा ट्रम्प झुके । उनको प्रशासनले निर्यातमा कडाइ फिर्ता लियो । सेमिकन्डरक्टर निर्माता कम्पनी एनभिडियालाई चीनमा उत्पादन बिक्रीका लागि बाटो खोलिदिए । फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पले आफ्नो वाणिज्य मन्त्रालयलाई चीनविरुद्ध कडा नहुन अह्राए ।

ट्रम्प र उनको समूहले चीन र अमेरिकाको अर्थतन्त्र आपसमा निर्भर भएको, उनीहरूको आपूर्ति शृङ्खला आपसमा जेलिएको तथा आफ्नो कार्यकालमा यसलाई उल्ट्याउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । त्यसैगरी अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय व्यापारीहरू केही सैन्य–सम्बन्धित उत्पादनहरूमा बाहेक चीनबाट अलग हुने (डिकपलिङ गर्ने) वा अमेरिका–चीन व्यापारमा घटाउँदै अन्यत्र सार्ने ‘डिरिस्किङ’ ट्रम्पका दाबी धेरै हदसम्म अर्थहीन रहेकोमा निश्चित भइसके ।

6871970da31000e98c7da46e

तेस्रो, ट्रम्प आफूलाई सम्झौताकार(डिलमेकर) हरूमा श्रेष्ठ ठान्छन् । उनी आफ्नो विरासतका बारेमा सोच्दा आफूलाई ‘महान् सम्झौताकार’ को रूपमा सम्झिइयोस् भन्ने चाहन्छन् । महान् सम्झौताकार बन्न चीनसँगको प्रभावकारी सम्बन्ध स्थापना नगरी सम्भव हुँदैन । युक्रेन र गाजामा सम्झौताको सम्भावना कम हुँदै गएको समयमा प्यासिफिक क्षेत्रमा हुने सम्झौताले उनलाई ठुलो राहत दिन सक्छ ।

चौथो, ताइवानबारे ट्रम्पको विचार दोस्रो विश्वयुद्धयताका सबै राष्ट्रपतिको तुलनामा ज्यादा चीन निकट छ । विभिन्न भरपर्दा स्रोत तथा संस्मरणहरूमा उल्लेख भए अनुसार ट्रम्पको पहिलो कार्यकालमा जब–जब ताइवानको सन्दर्भ आउँथ्यो, ट्रम्प टेबल र त्यसमा भएको सानो थोप्लोको उदाहरण दिन्थे । उनका अनुसार चीन भनेको टेबल हो र ताइवान भनेको त्यसको सानो थोप्लो हो । ट्रम्प भन्ने गर्छन्, ‘ताइवानले हामीलाई केही दिँदैन’ । ट्रम्पले ताइवानी राष्ट्रपतिलाई यही अगष्टमा हुने भनिएको यात्राका क्रममा अमेरिका हुँदै जानबाट रोकेका छन् । रोयटर्सका अनुसार यही कारण ताइवानी राष्ट्रपतिले आफ्नो भ्रमणको मिति नै पर सारेकी छन् ।

सी जिनपिङका लागि ठुलो स्तरको सम्झौताको मामला अझ सरल छ । सीलाई व्यापार तथा निर्यात कडाइजस्ता दुवै क्षेत्रमा चीनको हात माथि छ भन्ने विश्वास छ । यही वर्ष जब ट्रम्पले कडा प्रतिबन्ध लगाएर चीनलाई रोक्ने प्रयास गरे, सी जिनपिङ त्यसबाट हताश भएनन् । बरु अटल रहेर तथा शान्तिपूर्ण समाधानका लागि ठाउँ राखिदिए ।

अमेरिकासँग सी जिनपिङको एजेन्डा विनाशकारी युद्ध हुनबाट रोक्नु हो । त्यसको अलावा उनको मुख्य प्राथमिकतामा ताइवान पर्छ । उनले अघि सारेको ‘चिनियाँ राष्ट्रको महान् पुनरुदय’ भन्ने अभियानले ताइवान ‘एकीकरण’ लाई अत्यावश्यक कदम ठान्छ । ताइवानको मुद्दा घरजग्गाको मुद्दा जसरी मिल्छजस्तो त पक्कै देखिन्न, तर आउने दिनमा अमेरिकाले ताइवानको स्वतन्त्रताको मुद्दाको विपक्षमा प्रस्ट उभिएको तथा त्यही टापुलाई लिएर चीनसँग जुध्न नचाहेको स्पष्ट गरेको देख्न भने सम्भव छ ।

हामीले स्टकहोम बैठकमा के भयो भन्ने थाहा पाउन बाँकी नै छ । यद्यपि हामी आगामी दिन चीन–अमेरिका सम्बन्ध कसरी जान्छ भन्नेबारे भने सजग हुनुपर्छ । यसै पनि वासिङ्टनका मुखिया ट्रम्प पूर्वानुमान लगाउन नसकिने कदममार्फत मानिसलाई चकित पार्न रुचाउँछन् । यस्तो परिस्थितिमा उनका कडा आलोचकहरूले पनि के कुरा स्वीकार गर्नुपर्ने देखिएको छ भने उनले यस पटक चीन–अमेरिका सम्बन्धमा अकल्पनीय कदम चालेर सबैलाई चकित पार्न सक्छन् ।

(प्रस्तुत आलेख फरेन पोलिसी पत्रिकाबाट लिइएको हो । लेखक एलिसन हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । उनले विश्व व्यवस्था परिवर्तन र युद्धबारे लेखेको पुस्तक ‘डेस्टाइनड फर वार’ प्रभावशाली मानिन्छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ग्राहम एलिसन
ग्राहम एलिसन
लेखकबाट थप