शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषका कर्मचारी दुई हप्तादेखि आन्दोलनमा

कोषका पदाधिकारी काठमाडौँमा
बुधबार, २१ साउन २०८२, १३ : १५
बुधबार, २१ साउन २०८२

सारांश

  • लुम्बिनी विकास कोषका कर्मचारीहरूले विभिन्न माग राख्दै दुई हप्तादेखि आन्दोलन गर्दा कोषको कामकाज ठप्प भएको छ।
  • कर्मचारी युनियनले सञ्चित बिदा, भत्ता र पदोन्नति लगायतका माग राखेका छन्, जसका कारण कार्यालयमा तालाबन्दी गरिएको छ।
  • आन्दोलनका कारण लुम्बिनी विकास कोषको काम ठप्प छ र पदाधिकारीहरू काठमाडौंमा छन्, तर मन्त्रालयले माग सम्बोधन गर्ने तयारी गरिरहेको छ।

बुटवल  । लुम्बिनी विकास कोषका कर्मचारीहरू विभिन्न माग राख्दै दुई हप्तादेखि  आन्दोलनमा उत्रिएपछि कोषको कामकाज  ठप्प  भएको छ ।  साउन  ८ गते कोष कर्मचारी युनियनले ४ बुँदे माग राखेर विरोध कार्यक्रम गरिरहेको छ । 

कोषका सबै कर्मचारी कामकाज ठप्प पारेर प्रधान कार्यालयको मुख्य गेटमा धर्ना दिइरहेका छन् । उनीहरूले तालाबन्दी समेत गरेका छन् ।

कर्मचारीले साउन ५ गते नै ज्ञापनपत्र बुझाएर विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए। साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरे । माग पूरा नभएपछि साउन १२ देखि कामकाज ठप्प गरेर कार्यालयमा तालाबन्दी गरेर उनीहरु धर्नामा बसेका हुन् । 

युनियनका कोषाध्यक्ष प्रकाश गुप्ताले १९ गतेसम्म पनि माग सुनुवाइ नभएपछि थप माग  राखेर शान्तिपूर्ण आन्दोलन जारी राखेको रातोपाटीलाई जानकारी दिए । 

कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनुपर्ने, कर्मचारी विनियमावली– ०७९ संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग राखेका छन् । 

यसका साथै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनुपर्ने र विनियमावली ०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नुपर्ने माग समेत उनीहरूले राखेका छन्।

आन्दोलनका कारण विकास कोषको काम पूर्ण रूपमा ठप्प भएको छ । मायादेवी मन्दिर लगायतमा पूजाको कार्यक्रम भने चलिरहेको छ । उनीहरूले पूजाको कार्यक्रममा अवरोध नगर्ने जनाएका छन् ।  

लुम्बिनीमा दिनहुँ धर्ना, जुलुस र विरोधका कार्यक्रम भइरहेका बेला कोषका पदाधिकारीहरू भने काठमाडौँ पुगेका छन् । वैशाख २९ गते बुद्ध जयन्ती मनाएर राजधानी गएका कोषका उपाध्यक्ष ल्हारक्याल लामा काठमाडौँमै छन् ।

कोषाध्यक्ष ढुण्डिराज भट्टराई पनि वैशाख ३० गतेदेखि उपचारका लागि राजधानीमै छन्। कोषका सदस्यसचिवले साउन ५ गते राजीनामा दिएका थिए । अन्य उच्च तहका कर्मचारी पनि लुम्बिनीमा छैनन् । 

काठमाडौँमा रहेका लुम्बिनी विकास कोषका  सूचना अधिकारी डा. हरिध्वज राईले  विकास कोषको कामकाज ठप्प रहेको रातोपाटीलाई बताए । उनले विकास कोषले भन्दा पनि मन्त्रालयले कर्मचारीका माग सम्बोधन गर्नसक्ने  बताए । 

उनले मन्त्रालयबाट सहसचिवको नेतृत्वमा कर्मचारीका मागका विषयमा छलफल गर्न जाने तयारी भइरहेको समेत खुलाए । 

eeeeeeeee

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप