शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सवारीसाधन

नाइमा एक्स्पो : २९ लाखदेखि सवा करोडसम्मका ईभी गाडी

बुधबार, २१ साउन २०८२, १९ : ३०
बुधबार, २१ साउन २०८२

काठमाडौं । भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड ग्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा बुधबार सुरु भएको एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन् । एक्स्पो पाँच दिनसम्म चल्ने छ । 

बुधबार दिनभर अटो व्यवसायीहरु विभिन्न ब्राण्डका नयाँ गाडी लन्च गर्न व्यस्त देखिन्थे । एक्स्पोमा एसयूभी सेगमेन्टका सात कम्पनीले नयाँ मोडलका गाडी र दुईपाङ्ग्रे सवारी साधन लन्च गरे । विभिन्न कम्पनीहरुले एक्स्पोमार्फत विभिन्न अफर समेत सार्वजनिक गरेका छन् । 

एक्स्पोमा नाइमामा आवद्ध अटो व्यवसायीहरुले २० लाख रुपैयाँसम्म छुट दिने गरी सवारीसाधन बिक्रीमा राखेका छन् । उनीहरुले एक्स्पो अवधिभर एक सवारी साधन खरिद गर्नेहरुका लागि २० लाख रुपैयाँसम्म छुट दिनेछन् । 

व्यवसायीहरुले नयाँ मोडलका सवारी साधन लन्चसँगै विशेष छुट घोषणा गरेका हुन् । एक्स्पोको स्टलमा राखिएका गाडी २९ लाखदेखि सवा करोड रुपैयाँसम्म मूल्यका छन् ।

एक्स्पोमा बीवाईडीको सिंगल, महिन्द्राका दुईवटा ईभी बीई–६, ओमोड एण्ड जेको जे–५, एक्सइभी ९ ई, ग्याकससको मिफा–७ एमपीभी र फोर्थिङ फ्राइडे लगायत कम्पनीले नयाँ मोडलका गाडी लन्च गरिएका छन् । यस्तै मिफा विद्युतीय गाडीको आधिकारिक वितरक हिमालय मोटरेक्सले मिफा–७ विद्युतीय गाडी विशेष अफरसहित एक करोड २५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ । 

माटरेक्स कम्पनीका अनुसार नाइमा अटो एक्स्पोमा मिफा–७ बुक गर्ने ग्राहकले १० लाख र इटेरोन–९ पिकअप बुक गर्नेले ५ लाखसम्म नगद छुट पाउनेछन् । कम्पनीका अनुसार मिफा–७ मा ९० किलोवाट आवरको ब्याट्रीले ६३५ किलोमिटरसम्मको रेन्ज दिनेछ ।

Naima Expo7

कुन कम्पनीका गाडीको मूल्य कति ? 

नाइमा एक्स्पोमा प्रिमियम ग्राहकका लागि केही सस्तो बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान सार्वजनिक भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो । 

चीनमा सिगल, युरोपमा सर्फ नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपालमा एटो–वान नामबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।  डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकेको छ । 

कम्पनीले स्ट्यान्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनईडीसीले प्रमाणित गरेको छ ।

एट्टो वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाई १५८० एमएम र ह्वीलबेस २५०० एमएम छ । नेपाली ग्राहकको चाहनाअनुसार एट्टो–वानका दुई भेरियन्ट लन्च गरिएको बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । 

त्यस्तै, ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ एसयूभी जेको जे–५ सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाली ईभी बजारमा आफ्नो उपस्थिति बिस्तार गर्ने लक्ष्यसहित यो प्रिमियम एसयूभीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएकोमा नाइमा एक्स्पोमा अफरस्वरुप ५६ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।
यस्तै, अफरस्वरुप ओमोडा ई-५ को मूल्य ५६ लाख ९९ हजार र जे–५ को मूल्य ६५ लाख ९९ हजार राखिएको छ । कम्पनीका अनुसार जे–५ एडभेन्चरस यात्राका लागि उपयुक्त हुनेगरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् । 

जे–५ मा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सटुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट छन् ।

जेको जे–५ को लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटर छ । यसमा १८–इन्च अग्लो एलोय ह्वील छ ।

१५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज दिन्छ । जेको जे–५ मा सुरक्षालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । 

त्यस्तै, एक्स्पोमा फोर्थिङ फ्राइडेले नयाँ मोडल भित्र्याएको छ । नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले फोर्थिङ फ्राइडेको नयाँ मोडल ल्याएको हो । उक्त गाडीको कम्पनीले मूल्य ४८ लाख ९६ हजार रुपैयाँ राखेको छ । त्यस्तै, कम्पनीले अर्को भेरियन्टको मूल्य ५४ लख ९६ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नाइमा एक्स्पोमा मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

फोर्थिङ फ्राइडेमा ६४.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ । उक्त ब्याट्री फुल चार्ज हुँदा ४०० किलोमिटर रेन्ज दिनेछ । ९९ किलोवाट क्षमताको मोटर पावर छ । यसले २०१ ब्रेक हर्स पावर बराबरको पावर र ३४० एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै, एक्स्पोमा महिन्द्राका दुईवटा नयाँ मोडलका ईभी लन्च गरिएको छ । महिन्द्राको आधिकारिक बिक्रेता अग्रि इन्कर्पोरेटले बीड़–६ र एक्सड़भी ९ ई लन्च गरेको छ । बीई–६ का दुई भेरियन्ट नाइमा एक्स्पोमा राखिएको छ । महिन्द्रा बीई–६ दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यो ५९ किलोवाट र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा पाउन सकिन्छ ।

कम्पनीले भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ५७ देखि ६८ लाखसम्म तोकेको छ । दुवै भेरियन्ट ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ ।

त्यस्तै, चिनियाँ कम्पनी लिपमोटरको नयाँ गाडी बी-१० एसयुभी नेपालमा लन्च भएको छ । लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बी–१० गाडी लन्च गरेको हो । यसको ६० लाख तोकिएको छ । तर नाइमा अफरमा ४९ लाख ९९ हजार र अर्को भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

सी-१० मा ६४ लाख ९९ हजार अफरमा राखिएको छ । तर यसको वास्तविक मूल्य ७२ लाख रुपैयाँ हो । नाइमा अफर २७ लाख ९९ हजार रुपैयाँ रहेको यो गाडीको वास्तविक मूल्य ३४ लाख रुपैयाँ छ । 

लिपमोटरको बी–१० एसयूभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरमा उपलब्ध छ । यसको पिकटर्क २४० न्यूटन मिटर छ । यसमा ६७.१ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ । यसले फुल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । 

त्यस्तै, प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन इमास-७ कार प्रदर्शनीमा राखेको छ । एक्स्पोमा कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास-७ मा विशेष अफर ल्याएको छ । 

दुईपाङ्ग्रेतर्फ चार कम्पनीले गरे नयाँ मोडलका लन्च

नाइमा एक्स्पोमा तीन कम्पनीले नयाँ मोडलमा बाइक लन्च गरेका छन् । जसमा भारतको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ ‘एथर रिज्टा’फ्यामिली स्कुटर हो । कम्पनीले नेपाल ल्याएको टप भेरियन्टको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकेको छ ।

भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो ।

 

त्यस्तै, नेपालका लागि सेगवे–नाइनबोटको आधिकारिक बिक्रेता आइहब प्रालिले सेगवेक चार नयाँ मोडेलका सवारी सार्वजनिक गरेको छ । कम्पनीले दुई नयाँ मोडेलका स्कुटर ई १५० एमके २’ र ‘ई १२५ एमके २’ सार्वजनिक गरेको छ । 

त्यस्तै, नयाँ मोडलको ई–बाइक साइबर र ई–साइकल (‘सफारी’ पनि सार्वजनिक गरेको छ । स्कुटर ई १५० को मूल्य ५ लाख, ‘ई १२५ एमके २’ मूल्य ३ लाख ५० हजार, ‘ई–साइकल सफारिको मूल्य ३ लाख ५० हजार र ई–बाइक साइबरको मूल्य ५ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

यी मोडेल सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, मोरबिडिली ब्राण्डको एडभेन्चर बाइक नेपालमा भित्रिएको छ । नाइमा एक्स्पोमा इटालियन ब्राण्डको दुईवटा मोडल टी-३५२ एक्स र टी-२५२ एक्स लन्च गरिएको छ । टी-३५२ एक्सको ९ लाख ९७ हजार ९०० सय रुपैयाँ राखिएको छ भने २५२ एक्सको मूल्य सार्वजनिक भएको छैन । नाइमामा रोनिनको स्मोकसहित चार बाइक पनि सार्वजनिक गरिएको छ ।  

फोटो : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप