बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

बुधबार, २१ साउन २०८२, २२ : ३०
बुधबार, २१ साउन २०८२

सारांश

  • चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली 'सिल्भर स्ट्रिकेड एकासिया ब्लु' फेला परेको छ।
  • यो पुतली ५१ वर्षपछि चितवनमा फेला परेको हो, जसले जैविक विविधतालाई महत्व दिन्छ।
  • पुतली पहिचानमा विज्ञ टोलीको सहभागिता रहेको थियो, र यसले प्रकृति प्रेमीहरूलाई प्रेरणा दिएको छ।

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ । यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

उक्त पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड रोजन सुवेदीले पहिलोपटक देखेपछि, मिलन तामाङ, विशाल लामा, वासु विडारी तथा पुतली विज्ञ टेकबहादुर गुरुङको टोलीले पहिचान गरी विस्तृत अध्ययनका लागि आवश्यक विवरण सङ्कलन गरेका थिए ।

पुतली पहिचानमा पोखराबाट साजन केसी, नेदरल्याण्डका विज्ञ पिट भान पोल, सुरेन्द्र परियार र चितवनका टेकबहादुर गुरुङसहितको विशेषज्ञ टोलीको सहकार्यमा पुष्टि गरिएको घिमिरेले जानकारी दिए ।

यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गर्नुभएको थियो  । ५१ वर्षयता नेपालमा पुनः देखिएको यो दोस्रो अभिलेख हो, जुन चितवनको जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताइएको छ ।

हालसम्म नेपालमा करिब ६९२ प्रजातिका पुतली अभिलेख भएका छन् भने चितवनमा मात्रै ३०० भन्दा बढी प्रजातिका पुतली छन् । यो नयाँ अभिलेखले चितवनको जैविक सम्पदा थप समृद्ध बनाएको जनाइएको छ । यसले सौराहा क्षेत्रका प्रकृति प्रेमी, नेचर गाइड र अनुसन्धानकर्ताका लागि प्रेरणा जगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप