पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’
सारांश
- भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको चखेवा भञ्ज्याङ पर्यटकका लागि सहज गन्तव्य बनेको छ।
- चखेवा भञ्ज्याङ समुद्री सतहबाट २,३५१ मिटर उचाइमा छ र यसलाई पर्यटनको केन्द्र बनाइँदैछ।
- गाउँपालिकाले चखेवा क्षेत्रमा सांस्कृतिक सङ्ग्रहालय, पार्क र अध्ययन केन्द्र बनाउने योजना बनाएको छ।
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रूपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो।
कालोपत्रे सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीय परिकारहरूको स्वाद लिँदै प्राकृतिक आनन्द लिनका लागि मानिस यहाँ पुग्ने गरेका छन् । चखेवा भञ्ज्याङ समुन्द्री सतहबाट दुई हजार ३५१ मिटर उचाइमा रहेको छ ।
चखेवालाई पर्यटन संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुका रूपमा रहेकाले यो क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको उनको भनाइ छ ।
“चखेवा हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो”, उनले भने, “यो ठाउँलाई पर्यटनसँग जोडेर संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । हामी चखेवा क्षेत्रलाई पूर्वको एक स्थापित पर्यटकीय गन्तव्य बनाउन जुटेका छौँ ।” भोजपुर र खोटाङको सिमानामा रहेको यो स्थानमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गरिने अध्यक्ष बस्नेतले बताए । केन्द्र सरकारको करिब रु तीन करोड लागतमा सङ्ग्रहालय निर्माणका लागि जग्गा खोजी भइरहेको उनले जानकारी दिए । “यो क्षेत्र प्राकृतिक हिसाबले आफैँमा सुन्दर छ”, अध्यक्ष बस्नेतले भने, “हामीले यहाँको संस्कार संस्कृतिको विकासमा पनि जोड दिएका छौँ । पर्यटकहरूको सहज आवागमनमा हामीले ध्यान दिएका छौँ ।”
चखेवासँगै मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धनका लागि विभिन्न समयमा मेला महोत्सवसमेत सञ्चालन भइरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् । स्थानीयलाई आर्थिक उपार्जनमा जोड्न गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको उनको भनाइ छ । गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार: टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण