१५ देश पार गरेर अमेरिका पुग्नासाथ बोर्डरमा समातिए, ८९ लाख गुम्यो
सारांश
- सल्यानका प्रवीण अमेरिका जाने क्रममा मेक्सिकोमा पक्राउ परे, १० महिना जेल बसेर फर्के।
- प्रवीणले ८९ लाख गुमाएको र मानव तस्करविरुद्ध उजुरी दिएका छन्, दाङका एक दम्पतीलाई प्रतिवादी बनाएका छन्।
- अमेरिकाबाट डिपोर्ट भएका ३ जनाले प्रहरीमा उजुरी दिए, २०८१ कात्तिकपछि १९७ जना नेपाली डिपोर्ट भए।
काठमाडौँ । अमेरिकी ग्रीन कार्डको लोभमा फस्दा सल्यानका २२ वर्षीय प्रवीण (नाम परिवर्तन)ले अनेकौं हण्डर खाएका र लाखौं रुपैयाँ समेत गुमाएका छन्।
उनी अमेरिकालाई अन्तिम गन्तव्य बनाएर २२ असार २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढेका थिए। एक बर्ष ११ दिनमा उनी अमेरिकाबाट डिपोर्ट भएर काठमाडौँ आइ पुगे।
प्रवीणलाई अमेरिका पठाउनेले भनेका थिए, ‘मेक्सिकोसम्म ९ महिनाका लागि वर्किङ भिसामा जाने हो, कुनै इलिगल होइन ।’
मेक्सिकोबाट अमेरिका पुगेपछि तीन चार वर्षमा ग्रीनकार्ड बन्छ भनेर आश्वासन पाएपछि प्रवीण अमेरिका जान राजी भएका थिए । काठमाडौँबाट उनी भिजिट भिसामा दुबई पुगे । दुबईबाट १५ वटा मुलुक पार गरेर उनी अमेरिका पुग्दै थिए ।
यस क्रममा मेक्सिकोको बोर्डर पार गर्नासाथ अमेरिकी भूमिमा प्रवीण पक्राउ परे । प्रवीणले भने, ‘बोर्डर क्रस गर्ने बेलामा अमेरिकन सुरक्षाकर्मीले पक्राउ गरे, त्यसपछि म १० महिना जेल परेँ ।’
जेलमुक्त भएपछि उनलाई अमेरिकी सरकारले २०८२ असार ३१ मा डिपोर्ट गरेर काठमाडौँ पठाएको छ । एयर इन्डियाको विमानमार्फत काठमाडौँ आइपुगेका प्रवीणले आफूलाई अमेरिका पठाउने ‘मानव तस्कर’ विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
१५ वटा देश पार गरेर अमेरिका पुग्दा आफूले ८९ लाख रुपैयाँ गुमाएको प्रवीणको भनाइ छ । मानव बेचबिखन ब्यूरोका एक जना अधिकृत भन्छन्, ‘दाङका दुई जनाले आफूसँग ८९ लाख रुपैयाँ लिएको प्रवीणको दाबी छ ।’
अमेरिका पठाउँछु भन्ने बिचौलियाले आफ्नो भाञ्जालाई पनि अमेरिका पठाएको दाबी गरेपछि आफूले उनीहरुलाई विश्वास गरेको प्रवीणको भनाइ छ ।
प्रवीणका अनुसार दुबई, अजरबैजान, सेनेगल, गाम्बिया, उज्वेकिस्तान, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोष्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला हुँदै उनी मेक्सिको पुगेका थिए । मेक्सिकोबाट अमेरिकाको बोर्डर पार गर्ने बेलामा अमेरिकी सुरक्षाकर्मीले उनलाई पक्राउ गरे ।
प्रवीणको जाहेरी २०८२ साउन ११ मा प्रहरीको मानव बेचबिखन ब्यूरोमा दर्ता भएको छ । उनले दाङको तुल्सीपुर उपमहानगरपालिका–१६ मा बस्दै आएका दम्पतीलाई प्रतिवादी बनाएर जाहेरी दिएका छन् । दम्पतीको नाम प्रहरीले गोप्य राखेको छ । आफ्नो जाहेरीमा प्रवीणले लेखेका छन्, ‘अमेरिका सपना पछ्याउँदा ८९ लाख गुम्यो, जेल परेँ, डिपोर्ट भएर फर्किएँ ।’
अमेरिका पठाउँछु भन्ने बिचौलियाले आफ्नो भाञ्जालाई पनि अमेरिका पठाएको दाबी गरेपछि आफूले उनीहरुलाई विश्वास गरेको प्रवीणको भनाइ छ । ‘त्यहाँ राम्रो कमाउन सक्छौ, खर्चचाहिँ ७५ लाख लाग्छ भनेका थिए,’ उनले भने ।
तर, करिब एक वर्षमा अमेरिकाको बोर्डरमा पुग्दासम्म उनले ८९ लाख गुमाइसेका थिए । ‘ग्रीनकार्ड सपना’मा लोभिएर हिँडेका उनी अहिले आफ्नो गुमेको रकम फिर्ता गराइदिन माग गर्दै मानव बेचबिखन ब्यूरोमा धाउँदै छन् ।
प्रवीणजस्तै अमेरिकाबाट डिपोर्ट भएका ३ जनाले प्रहरीमा जाहेरी दिएका छन् । मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
- ५६ दिन थुनामा
अमेरिका सपना पछ्याउँदै जाँदा पानामा भन्ने मुलुकमा पक्राउ परेका बर्दियाका ३२ वर्षीय रिवाज (नाम परिवर्तन)को कथा पनि उस्तै दर्दनाक छ । २०८० पुस २ मा त्रिभुवन विमानस्थलबाट हिँडेका उनी २०८२ वैशाखमा नेपाल फर्किएका छन् । उनलाई पनि अमेरिकाले डिपोर्ट गरेर पठाएको हो ।
त्यसपछि फेरि मेक्सिको पार गरेर अमेरिका प्रवेश गरेको तर त्यहाँ पक्राउ परेपछि हत्कडी लगाएर २०८२ वैशाख २५ मा डिपोर्ट गरेर नेपाल फिर्ता पठाएको उनको भनाइ छ ।
रिवाजले असार १५ मा प्रहरीमा जाहेरी दिएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–४ घर भएका ३२ वर्षीय प्रतिवादीले आफूलाई अमेरिका जान ६५ लाख खर्च लाग्छ भनेको उनको भनाइ छ । ‘हालसम्म धेरैलाई अमेरिका पठाइसकेको र अमेरिका पठाउन नसके सम्पूर्ण खर्च तिमीलाई फिर्ता दिन्छु भनेका थिए,’ उनले भने, ‘एक महिनामा अमेरिका पठाइदिन्छु भनेर मसँग नेपालमै विभिन्न बैंक खातामार्फत रकम लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८० पुस २ मा मलाई त्यसतर्फ पठाए ।’
काठमाडौँबाट हिँडेपछि श्रीलङ्का, दुबई, उज्वेकिस्तान, साउथ अफ्रिका, कतार, स्पेन, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया र पानामासम्म पुर्याएर पटकपटक रकम हाल्न लगाएको रिवाज बताउँछन् । ‘लागत खर्च र खान बस्नसमेत गरी मैले ७९ लाख बुझाएँ,’ उनले भने, ‘पानामाबाट कोष्टारिका प्रवेश गर्ने क्रममा पानामा प्रहरीले पक्राउ गरी अध्यागमनमा बुझाएको थियो । अध्यागमनले ५६ दिन थुनामा राख्यो ।’
त्यसपछि फेरि मेक्सिको पार गरेर अमेरिका प्रवेश गरेको तर त्यहाँ पक्राउ परेपछि हत्कडी लगाएर २०८२ वैशाख २५ मा डिपोर्ट गरेर नेपाल फिर्ता पठाएको उनको भनाइ छ ।
- ट्रम्प आएपछि १९७ जना नेपाली डिपोर्ट
अमेरिकाबाट २०७५–०७६ भन्दा पछि ४२१ जना नेपाली डिपोर्ट भए । २०८१ कार्तिक २१ मा दोस्रोपटक डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डिपोर्ट हुनेको सङ्ख्या धेरै छ । २०८१ कात्तिकपछि १९७ जना नेपाली निष्कासनमा परेर नेपाल फिर्ता भएको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
अवैध तरिकाले अमेरिका पुग्न कम्तीमा १९ देश पार गरेर जानुपर्ने अनुसन्धानका संलग्न प्रहरी अधिकृत बताउँछन् । त्यसरी जानेमा सबैभन्दा धेरै दाङका छन् । दोस्रो नम्बरमा रुकुम पश्चिम र तेस्रोमा पूर्वी रुकुमबाट नेपाली युवा–युवती अमेरिका गएर डिपोर्ट भएका छन् ।
धेरै डिपोर्ट हुनेमा पर्वत, बाग्लुङ, म्याग्दी र सिन्धुपाल्चोकका छन् । काठमाडौँ घर भएका १५ जना अमेरिकाबाट डिपोर्ट भएर आएका छन् । ब्यूरोका एक जना अधिकृत भन्छन्, ‘फाट्टफुट्ट डिपोर्ट हुने धेरै जिल्लाका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण