वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
सारांश
- पर्साका किसान शम्भुप्रसाद यादवले आकाशेपानीका कारण सबै खेतमा धान रोपे।
- मधेस प्रदेशमा साउन १६ गतेसम्म ५७.२७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो।
- पछिल्लो एक सातामा १९.२७ प्रतिशतले धान रोपाइँ बढेको छ, जसमा बारा, पर्सा र रौतहट अगाडि छन्।
पर्सा । पर्साका सखुवाप्रसौनी गाउँपालिका–२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उनले सबै खेतमा धान रोपिसके ।
“अकाशेपानी पर्नु अघि नै साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ, तर, डेढ विघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौँ”, उनले भने, “एक सातायता यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौँ ।” उनले ढिलै भएपनि अकाशेपानी परेपछि यहाँका किसान उत्साही भएको बताए ।
“एक त चैतेधान भित्राउनै ढिलो भयो, अर्कोतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो”, उनले भने । मधेश प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेस प्रदेशमा अकाशेपानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताए ।
“यही साउन १६ गतेसम्म मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७ दशमलव २७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो, पछिल्लो एक सातामा थप १९ दशमलव २७ हेक्टरमा धान रोपाइँ भएको छ”, बरिष्ठ वागवानी अधिकृत यादवले भने ।
निर्देशनालयका अनुसार यही साउन २३ गतेसम्म मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ कूल ७६ दशमलव ५४ प्रतिशत अर्थात दुई लाख ८५ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ । सर्लाहीमा पनि ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले अकाशेपानी परेपछि पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको बताए। उनले भने, “पानी परेपछि धान रोपाइँ राम्रो भएको छ, केही दिनसम्म नियमित पानी परे धान रोपाइँमा थप सहज हुन्छ ।”
अकाशेपानी परेसँगै बाराका कृषकहरुमा पनि उत्साह थपिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले बताए । “अकाशेपानी परेसँगै धानको रोपोलाई धेरै हदसम्म राहत भएको छ । धान नरोपिएको ठाउँमा पनि धमाधम धान रोपाइँ भइरहेको छ ।”
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले अकाशेपानी परेसँगैसर्लाहीमा ७५ प्रतिशत धान रोपाइँ भएको बताए । “पानी नपर्दा खेतमा धाँजा फाटेको थियो, अहिले पानी परेपछि सुकेको रोपो पलाउने आशा जगाएको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण