बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डा. स्मृति श्रेष्ठलाई प्रश्न :  बच्चालाई घामको विकिरणबाट जोगाउन सकिएन भने के हुन्छ ?

शनिबार, २४ साउन २०८२

तपाईंका नानीबाबुहरू घाममा कत्तिको खेल्छन् ?  भिटामिन 'डी' प्राप्त हुन्छ भनेर धेरैले बालबालिकालाई घाममा राखिरहेका हुन्छौं । तर तपाईंलाई थाहा छ ?  बालबालिकालाई घामको धेरै सम्पर्कमा आउन दिँदा उनीहरूमा विभिन्न प्रकारका छालासम्बन्धी समस्याहरू देखिन सक्छन् । घाम आखिर किन बालबालिकाका लागि किन शत्रु बनिरहेको छ ? यसै विषयमा डरमाटोलोजिस्ट तथा हेयर ट्रान्सप्लान्ट विशेषज्ञ डाक्टर स्मृति श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ- 

  • कति वर्षको उमेरदेखि छालाको केयर गर्न सुरु गर्नुपर्छ ? 

सामान्यतया: बच्चादेखि नै छालाको स्याहार गर्नु आवश्यक हुन्छ ।  यसका लागि सन्सक्रिम, मोस्चराइजर र फेसवास प्रयोग गर्न सकिन्छ । अहिलेको वातावरण धेरै नराम्रो भएकाले ६ महिनाभन्दा माथिको बच्चाले सन्सक्रिम, मोस्चराइजर र फेसवास प्रयोग गर्न सक्छन् । किनभने अहिले घाममा खेल्ने बच्चाहरूका अनुहार डढ्ने, दुवी आउने, गाला रातो हुने लगायतका समस्या देखिन थालेको छ । यो सबै घामको विकिरणले गर्दा हो । त्यसैले उनीहरूको सानो उमेरदेखि नै अनुहारको छालाको स्याहार अभिभावकले गरिदिनु आवश्यक छ ।  विशेषगरी विद्यालय जाने बच्चाहरूलाई जो घाममा बढी देखिन्छन् उनीहरूलाई अभिभावकले सन्सक्रिम लगाइदिनै पर्छ । 

  • बच्चाहरूलाई कस्तो सन्सक्रिम लगाइदिने त ?  

सकेसम्म वयस्क उमेर नपुगेका बालबालिकाहरूलाई मिनिरल सन्सक्रिम लगाउँदा राम्रो हुन्छ । बच्चाहरूलाई सन्सक्रिम लगाउनुअघि त्यो सन्सक्रिम कस्तो छ, त्यसमा केके तत्त्वहरू छन् भन्ने कुरा अभिभावकले जानकारी भने लिनुपर्छ । सामाजिक सञ्जालमा हेरेकै भरमा भने बच्चाहरूलाई सन्सक्रिम लगाउने गर्नु हुँदैन । 

  • अहिलेको अवस्थामा  किन बच्चाहरूलाई घामको किरणबाट जोगाउनुपर्छ ?  

अहिले सूर्यको किरणको राप बढ्दै गएको छ । जलवायू परिवर्तनका कारण सूर्यको ताप बढ्दा सूर्यमा क्यान्सर गराउने किरणहरू छन् र अन्य हानी गर्ने विकिरणहरुपनि भएकाले सजग हुनु आवश्यक छ । सबै बच्चालाई सन्सक्रिम लगाउनै पर्छ भन्ने होइन । तर तपाईंको बच्चा धेरै घाममा जान्छ भने सन्सक्रिम लगाइदिने गर्नसक्नुहुन्छ । घामको विकिरणबाट जोगाउन छहारीमा बस्न लगाउने, पुरा बाउला भएको लुगा लगाइदिने, छाता ओढ्ने, क्याप लगाइदिने  गरेर पनि बालबालिकालाई घामको किरणबाट जोगाउन सकिन्छ । 

  • सानैदेखि बच्चालाई घामको विकिरणबाट जोगाउन सकिएन भने के हुन्छ ? 

अस्ट्रेलियाको एउटा अध्ययनले देखाएको छ कि सानै उमेरदेखि धेरै घामको सम्पर्कमा रहेका बालबालिका र २० वर्षको उमेरदेखि धेरै घामको सम्पर्कमा रहेको व्यक्तिको तुलना गर्दा सानै उमेरदेखि घाममा बढी सम्पर्कमा रहेको व्यक्तिमा छालाको क्यान्सर बढी देखिएको छ । 

त्यति मात्रै होइन, सानैदेखि घामको सम्पर्कमा बढी रहेको बालबालिकामा छालामा समस्या देखिने, छाला पोल्ने, इरिटेसन हुने जस्ता समस्या देखिन्छ । 

त्यसैले सरकारले पनि घामको किरणको अवस्था कस्तो छ भनेर बाटोबाटोमा होर्डिङ बोर्ड राखिदिने गर्नुपर्छ । त्यसो गर्‍यो भने मात्रै सबैजना सजग हुन्छ । अनि स्कुलमा पनि घामबाट भिटामिन डी पाइन्छ भनेर बाहिर नखेलाउनुस्, ट्रस्ट राखेर शीतलमा खेलाउने गर्नुस् । किनभने अहिलेको घाम राम्रो छैन । अहिलेको घामको किरणबाट भिटामिन डी पाउन गाह्रो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया