बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चतुर्मासमा चाडपर्वको चाङ

सोमबार, २६ साउन २०८२, ११ : ३६
सोमबार, २६ साउन २०८२

चतुर्मास भन्नाले चार महिनाको अवधि बुझिन्छ । यसरी १२ महिनामा तीनवटा चतुर्मास पर्छन् र वर्षलाई चौमासिक अवधिमा बाँडेर कतिपय सरकारी काम फछ्र्योट गर्ने चलन छ, तर यहाँ चतुर्मास भन्नुको अर्थ बेग्लै छ । सनातन शास्त्रमा असार महिनाको शुक्ल पक्षको एकादशीदेखि कात्तिक शुक्ल पक्षको एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिएको छ ।

चन्द्र मासको हिसाबले चतुर्मासको अवधि चार महिना नै हुने भए पनि सौर्य मासका हिसाबले यो प्रायः असारको अन्त्यतिर सुरु भएर कात्तिक महिनाको प्रारम्भसम्म पुग्छ । यस वर्षको चतुर्मास असार २२ गते प्रारम्भ भइसकेको छ भने कात्तिक १९ गते सकिनेछ । सनातन संस्कृतिमा चातुर्मासको विशेष महत्त्व छ ।

सनातनीहरूले यो चार महिनाको अवधिलाई अत्यन्त पवित्र मान्छन्, किनकि यस अवधिमा भगवान् विष्णु योगनिद्रामा जानुहुन्छ । भगवान्को योगनिद्राका कारणले यस अवधिमा विवाह, व्रतबन्धजस्ता शुभ कार्य गर्न निषेध गरिएको छ । यद्यपि यो समय धार्मिक अनुष्ठानका लागि अत्यन्त शुभ मानिन्छ, त्यसैले चतुर्मासमा सांस्कृतिक चाडपर्वको चाङ लाग्छ । यो चार महिनाभित्र श्रावणी व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्रि, कोजाग्रत पूर्णिमा, यमपञ्चक, भाइटीका, छठ, सामाचकेवा आदि थुप्रै व्रत र चाडपर्व मनाइन्छन् । यो चार महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु विशेष फलदायी हुन्छ । बाँकी आठ महिनामा जति चाडपर्व पर्छन्, त्यसको तेब्बर पर्व चतुर्मासभित्रै पर्छन् ।

सनातनीहरूले यो चार महिनाको अवधिलाई अत्यन्त पवित्र मान्छन्, किनकि यस अवधिमा भगवान् विष्णु योगनिद्रामा जानुहुन्छ । भगवान्को योगनिद्राका कारणले यस अवधिमा विवाह, व्रतबन्धजस्ता शुभ कार्य गर्न निषेध गरिएको छ । यद्यपि यो समय धार्मिक अनुष्ठानका लागि अत्यन्त शुभ मानिन्छ, त्यसैले चतुर्मासमा सांस्कृतिक चाडपर्वको चाङ लाग्छ ।
  • हरिशयनी एकादशी

चन्द्र मासमा पन्ध्र–पन्ध्र दिनका दुईवटा पक्ष— कृष्ण पक्ष र शुक्ल पक्ष हुन्छन् र हरेक पक्षको एघारौँ तिथि अर्थात् एकादशी भगवान् विष्णुको उपासना दिवस मानिन्छ । एकादशी व्रत वर्षमा २४ वटा पर्छन्, जसमध्ये आठवटा एकादशी चतुर्मासमा पर्छन् । हरिशयनी एकादशीमा तुलसीरोपण गरी प्रारम्भ हुने चतुर्मासको समापन पनि तुलसीको पूजाआजा गरेरै गरिन्छ । भविष्योत्तर पुराणमा एकादशीको महिमा वर्णन गरिएको छ । व्रत लिने, उपवास बस्ने, एकादशी महात्म्य श्रवण गर्ने, नाम जप गर्ने, हवन आदि गर्ने परम्परा छ ।

गुरु पूर्णिमा

असार पूर्णिमा गुरु पूर्णिमाका रूपमा समर्पित छ । असार पूर्णिमा वेदव्यास र कबिर जयन्ती पनि हो । सनातन संस्कृतिमा गुरुको महत्त्व अनुपम छ । ‘गु’ अर्थात् अन्धकार एवं ‘रु’ अर्थात् प्रकाश । ‘गिरति अज्ञानं इति गुरुः’ अर्थात् ज्ञान दिएर अज्ञानता नाश गर्नेलाई गुरु भनिन्छ । गुरुलाई नै साक्षात् ब्रह्म भनिएको छ ।

‘गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । 
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।’ 

अर्थात् हे गुरु ब्रह्मा, हे गुरु विष्णु, हे गुरु महेश्वर (शङ्कर), हे साक्षात् गुरु परब्रह्म ! हजुरलाई मेरो नमस्कार छ । गुरु पूर्णिमाको दिन हरेक शिष्यले आ–आफ्ना गुरुको दर्शन गर्ने र गुरुको चरण पूजा गर्ने गर्दछन् । मानव जीवनमा गुरुको महिमा विशाल छ ।

  • श्रावण सङ्क्रान्ति

श्रावण वर्षा ऋतुको पहिलो महिना हो । श्रावण लाग्नासाथ प्रकृतिमा नौलो किसिमको उत्साह सञ्चार हुन्छ । बर्खाभरिको धान रोप्ने चटारो सकेर मानिस आनन्दको समय व्यतीत गर्न थाल्छन्, प्रकृतिसँगै रमाउन थाल्छ । वर्षभरिका दिनहरूमध्ये सबैभन्दा लामो दिन साउने सङ्क्रान्तिलाई मानिन्छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्नुका साथै आजैबाट सूर्य दक्षिणायण पनि हुन्छ । त्यसैले साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ । मिथिलामा श्री सत्यनारायण भगवान्को पूजा गरेर साउने सङ्क्रान्ति मनाउने चलन छ ।

  • सोमवारी व्रत

साउन महिना महादेव अर्थात् शिवलाई समर्पित छ । चतुर्मासमा भगवान् विष्णु योगनिद्रामा रहने हुँदा उहाँको जिम्मेवारी भगवान् शिवले निर्वाह गर्ने भएकाले यस महिनाको महत्त्व विशेष छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरिन्; त्यसैको अनुकरण गरी मिथिलामा साउन महिनाभरि भगवान् शिवको आराधना गरिन्छ । खासगरी मैथिल महिलाहरू पतिको स्वास्थ्य र दीर्घायुका लागि र कुमारी युवतीहरू मनोवाञ्छित पतिको कामना गरी हरेक सोमबार उपवास बसी शिवालयमा जल अर्पण गर्छन् । साउन महिनामा काँवर लिएर शिवलिङ्गमा जल चढाउने प्रचलन पनि रहिआएको छ ।

  • झुल्नोत्सव

मिथिलामा झुला महोत्सव खुसी र उमङ्गको पर्व हो । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुल्नोत्सव मनाइन्छ । कृष्णजन्माष्टमीको केहीअघि साताभरि चलेर यो सम्पन्न हुन्छ । विष्णु–लक्ष्मी भक्तिको यो पर्व घर–घरमा नभएर मठ–मन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष रूपले सजाइएको झुलामा झुलाउनु नै यस पर्वको मुख्य विधि हो । लक्ष्मीनारायण मन्दिरमा लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासाथ झुलाघर पुर्‍याएर पर्वको थालनी गरिन्छ ।

  • नागपञ्चमी

नागपञ्चमी हरेक साल श्रावण शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइन्छ । मैथिल समाजले सर्पप्रति सम्मान र पूजाको दृष्टि राख्छ । नाग पञ्चमीको दिन नागको चित्र बनाएर घरमा टाँस्ने परम्परा छ । यस पर्वमा नागदेवतालाई फूल, पान, बेलपत्र, निबुवाको पात, अम्बाको पात, मानको पात, फलफूल, मिठाई, दुध–लावा आदि चढाउने चलन छ । यसरी भक्तिभावसहित पूजा गरेपछि नागदेवता प्रशन्न हुन्छन् र परिवारलाई अभय प्रदान गर्छन् भन्ने विश्वास छ ।

  • मधुश्रावणी

मिथिलामा ‘मधुश्रावणी’लाई एक महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ, यद्यपि यो पर्व नवविवाहिताका लागि मात्र विहित छ । यस पर्वले मिथिलाको संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ । साउन कृष्ण पक्षको पञ्चमीदेखि शुक्ल पक्षको तृतीयासम्म मनाइने मधुश्रावणी पर्वमा नवविवाहितालाई उसको आगन्तुक परिवारसँग तादात्म्य स्थापित गराइन्छ, यही नै यस पर्वको विशिष्ट उद्देश्य हो । 

मधुश्रावणी पर्व अवधिभर नवविवाहिताहरू आ–आफ्ना सखीका साथ लोकगीत गाउँदै फूल टिपेर ल्याउँछन् र प्रतिदिन उमा–महेश्वर तथा विभिन्न देवीदेवताको विधिपूर्वक पूजा गर्छन् । यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनु हो । परिवारमा एक स्त्रीको जिम्मेवारी, कर्तव्य, भूमिका र दायित्व कस्तो हुनुपर्छ भन्ने विषयमा झन्डै दुई साताको यस पर्वमा नवविवाहितालाई बोध गराइन्छ । मधुश्रावणी व्रत कथा जान्ने समाजका अनुभवी महिलाले दिनहुँ कथा वाचन गर्दछन् ।

  • जनै पूर्णिमा

श्रावण पूर्णिमालाई ऋषि तर्पणी र जनै पूर्णिमाका रूपमा मनाइन्छ । यस दिन तागाधारीहरूले धारण गर्ने जनैको पूजा गरेर भण्डार गरी राख्ने चलन छ । मानव जीवनलाई मार्गदर्शन गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गर्ने चलन छ । आजको दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाल्ने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ मानिन्छ ।

  • रक्षा बन्धन

श्रावण पूर्णिमाको दिन ऋषि तर्पणी तथा जनै पूर्णिमासँगै रक्षा बन्धन पर्व पनि मनाइन्छ । रक्षा बन्धन अत्यन्त लोकप्रिय पर्व हो । मिथिलामा यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा राखी (कलात्मक रूपमा सजाइएको रक्षासूत्र) बाँध्ने गर्छन् । त्यसपछि दाजुभाइहरूले आफ्ना दिदीबहिनीको रक्षा गर्ने प्रतिबद्धताका साथ उपहार दिने चलन छ । यस दिन ब्राह्मणहरूले आ–आफ्ना यजमानको घर गई रक्षासूत्र बाँधेर रक्षाको आशीर्वाद दिने चलन पनि छ ।

  • कृष्णाष्टमी

भगवान् विष्णुका आठौँ अवतार श्रीकृष्ण अत्यन्त लोकप्रिय देवताका रूपमा रहेका छन् । उनको व्यक्तित्व विराट्, बहुआयामिक र अद्वितीय छ । भगवद्गीतामा अर्जुनलाई दिएको उपदेशबाट श्रीकृष्णलाई एक महान् दार्शनिक र आध्यात्मिक गुरुका रूपमा चिनिन्छ । उनले कर्मयोग, ज्ञानयोग र भक्तियोगका साथै जीवनका गूढ प्रश्न (जस्तै ः धर्म, कर्तव्य, मोक्ष आदि) का बारेमा स्पष्ट ज्ञान दिएका छन् । कृष्ण एक चतुर राजनीतिज्ञ एवं कूटनीतिज्ञ थिए । रणभूमिमा एक कुशल सारथि र योद्धा पनि थिए । श्रीकृष्ण प्रेम र मित्रताका प्रतीक पनि हुन् । राधासँगको उनको प्रेमलाई अलौकिक र शुद्ध प्रेमको प्रतीक मानिन्छ । सुदामासँगको उनको मित्रता सच्चा मित्रको उदाहरण हो । 

उनका बाललीलाहरूले आजपर्यन्त सबैलाई मोहित गर्छन् । समग्रमा श्रीकृष्णको व्यक्तित्व एकैसाथ जटिल र सरल छ । उनी एक आदर्श शासक, सच्चा मित्र, महान् दार्शनिक र सर्वशक्तिमान् ईश्वरका रूपमा चित्रित छन् । उनको जीवन र शिक्षाले आज पनि मानिसलाई मार्गदर्शन गर्दछ । यस्ता विराट व्यक्तित्वका स्वामी श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन भएकाले हरेक वर्ष यस तिथिमा उनको जन्मदिन मनाइन्छ । श्रीकृष्णका तीर्थ, मन्दिर, गह्वर आदि संसारभरि फैलिएका छन् । हरेक स्थानमा यस दिन धूमधामका साथ जन्मोत्सव मनाउने गरिन्छ ।

  • रथयात्रा, शोभायात्रा र झाँकी

शोभा यात्रा वा झाँकी आध्यात्मिक मिथिलाको सौन्दर्य हो । आध्यात्मिक, धार्मिक वा सांस्कृतिक विशेष अवसरहरूमा शोभायात्रा वा झाँकी निकाल्ने चलन छ, जसमा मानिसको ताँती एक भव्य जुलुसका रूपमा प्रदर्शित हुन्छ । यसमा मानिसहरू परम्परागत पोसाक, सङ्गीत, वाद्यवादन र सजावटका साथ भाग लिन्छन् । 

खासगरी कृष्णाष्टमीको अवसरमा हरेक नगरमा शोभायात्रा वा झाँकी कार्यक्रमको एक आवश्यक अङ्गका रूपमा समावेश गरिएको हुन्छ । विराटनगर, मेनरोडस्थित राधाकृष्ण मन्दिरबाट हरेक साल कृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ, जसलाई राधाकृष्ण रथयात्रा भनिन्छ । रथयात्रा मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, बरगाछी हुँदै करिब ८ किलोमिटरको यात्रा गरेर पुनः मन्दिर पुगी सम्पन्न हुन्छ । विराटनगरको राधाकृष्ण रथयात्रालाई यसको भव्यता र सामेल हुने जनसागरका आधारमा भारतको जगन्नाथ पुरीपछिको एसियाकै दोस्रो ठुलो रथयात्राको मान्यता दिइएको छ ।

  • हरितालिका तिज 

भदौ शुक्ल तृतीयाका दिन मनाइने तिज पर्व हाल मिथिलामा पनि मनाउन थालिएको छ । तिज व्रत लिने मिथिलानीको संख्या पनि उल्लेख्य देखिन्छ । तिज पर्व भगवान् शिवको आराधना हो । यो पर्व भारतमा पनि ठाउँ–ठाउँमा मनाइन्छ । भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पुत्री आद्य शक्ति पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्, त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनको स्मृतिमा यो पर्व मनाइन्छ ।

  • चौरचन/चौठिचान

भदौ शुक्ल चतुर्थीको दिन गणेश चतुर्थी मनाइन्छ । मिथिलाको महत्त्वपूर्ण पर्वमध्येको यो पर्व चन्द्र उदयको गणनाले चौथो दिन मनाइने चलन रहेको छ । यो पर्व खासमा प्रथम पूज्य श्री गणेश एवं चन्द्रदेवको आराधना हो । चौरचन र चौठिचान समेत भनिने यो पर्वमा शुभता र निर्विघ्नताका देवता श्रीगणेश र शीतलता एवं स्थिरताका देवता चन्द्रदेवको आराधना गरिन्छ ।

चौरचन पर्वमा फलफूल, पकवान, मिष्ठान्न आदि लिई चन्द्रदेवलाई अघ्र्य दिइनुका साथै चन्द्रमाको चौथो कलाको दर्शन गरी व्रत सम्पन्न गरिन्छ । मिथिलामा अरिपनको छुट्टै महत्त्व छ । कतिपय पर्वमा अरिपन अनिवार्य गरिएको छ । चौरचन पूजा पनि आँगनमाझ अरिपन बनाएर पूजा सामग्री फिँजाइन्छ । खिर, पुरी, दही, मिष्ठान्न तथा मौसमी फलफूल चन्द्रमालाई अर्पण गरिन्छ । मैथिल परम्परामा चन्द्र दोष मेटाउने अभीष्टले मनाइने यो पर्व अब मधेसमा बस्ने पहाडी मूलका हिन्दुले पनि बाक्लै मनाउन थालेका छन् ।

  • अनन्त चतुर्दशी

अनन्त चतुर्दशीको व्रत भाद्र शुक्ल चतुर्दशीको दिन लिइन्छ । मिथिलामा प्रायः हरेक गाउँमा सामूहिक रूपमा अनन्त भगवान्को पूजा आयोजना गर्ने परम्परा छ र श्रद्धालुहरू दिनभरि उपवास बस्छन् । अनन्त चतुर्दशी पर्वले मिथिला संस्कृतिको दार्शनिक पक्षलाई प्रस्तुत गर्छ । ब्रह्माण्ड र सृष्टिको अस्तित्वको रहस्य तथा ईश्वरको उपस्थितिका बारेमा मानवीय जिज्ञासालाई यस पर्वले ऊर्जा प्रदान गर्दछ । 

अनन्त भगवान्को खोज र प्राप्ति नै जीवनको अन्तिम लक्ष्य हो । भगवान् नारायण क्षीरसागरमा वास गर्नुहुन्छ, तर यो क्षीरसागर पृथ्वीमा धरतीसँगै जोडिएका सागरहरू भने होइनन् । क्षीरसागर भनेर यसले कम्तीमा पनि हाम्रो आकाशगङ्गालाई इङ्गित गर्दछ, किनभने संस्कृतमा ‘क्षीर’को अर्थ दूध हुन्छ । हाम्रो आकाशगङ्गा दूधको सागरझैँ सेतो देखिने गरेका कारणले यसलाई क्षीरसागर भनिएको हो ।

  • विश्वकर्मा पूजा

सङ्क्रान्ति गणनाले मनाइने विश्वकर्मा पूजा सौर्य मास परम्पराको पर्व हो । असोज सङ्क्रान्तिका दिन मिथिलामा उल्लासका साथ यो पर्व मनाइन्छ । सनातन संस्कृतिमा विश्वकर्मालाई वास्तुकला र यन्त्रका देवता मानिन्छ । भगवान् विश्वकर्माले सृष्टिकर्ता ब्रह्माजीलाई ब्रह्माण्डको निर्माणमा सहयोग गरेका थिए । साथै स्वर्ग लोक, लङ्का, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान् विश्वकर्मा नै हुनुहुन्थ्यो भन्ने मानिन्छ । पुष्पक विमान र सबै प्रकारका अस्त्र–शस्त्र, यन्त्र, आभूषण, शिल्प आदिका देवता विश्वकर्मा नै हुन् । विश्वकर्मा पूजाको दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै यन्त्र र औजारहरूको पूजा गर्ने परम्परा छ ।

  • पितृपक्ष

आश्विन मासको कृष्ण पक्षलाई पितृपक्ष र शुक्ल पक्षलाई देवीपक्षका रूपमा मानिन्छ । अन्त्येष्टि संस्कारसँग सम्बन्धित ग्रन्थहरूमा यो विश्वास गरिन्छ कि दाहसंस्कारपछि मृत व्यक्तिले अतिवाहिक शरीर प्राप्त गर्दछ । यसपछि जब उसका छोराहरूले उसको तर्फबाट दशगात्रको पिण्डदान गर्छन्, तब उसको शरीरका दश भागहरू दश पिण्डबाट बनेर नयाँ शरीर प्राप्त हुन्छ । यस शरीरमा रहँदा उसलाई ‘प्रेत’ भनिन्छ । 

षोडश श्राद्ध र सपिण्डनमार्फत यो शरीरले पनि उसलाई छोड्छ र ऊ नयाँ भोग प्राप्त गरी पितृलोकको वासी हुन्छ वा कर्मसंस्कार अनुसार स्वर्ग र नर्क आदिमा सुख–दुःख अनुभव गर्छ । यस अवस्थामा उसलाई ‘पितृ’ भनिन्छ । जबसम्म प्रेत भावना रहन्छ, मृत व्यक्ति पितृ भन्न योग्य हुँदैन । त्यसैले सपिण्डनअघि, जहाँ आवश्यक पर्दछ, उसलाई प्रेतको नामले सम्बोधन गरिन्छ । पितृहरूलाई सन्तुष्ट पार्न अर्थात् प्रेतबाट मुक्त भएका पितृहरूलाई श्राद्ध, तर्पण गर्नु छोराहरूको कर्तव्य मानिएको छ । 

सनातन शास्त्र अनुसार पितृपक्ष एक प्रकारले पितृहरूको सामूहिक मेला हो । यस पक्षमा सबै पितृहरू पृथ्वीलोकमा बस्ने आफ्ना सन्तानहरूकहाँ बिनाआह्वान नै आउँछन् अनि उनीहरूले अर्पण गरेका तर्पण, पिण्ड आदि प्रसादबाट तृप्त भएर आफ्ना सन्ततिलाई आशीर्वाद प्रदान गर्दछन् । त्यसैले पितृको आशीर्वाद प्राप्त गर्नका लागि श्राद्ध गर्नुपर्छ भनिएको हो । पितृ पक्षमा आफ्ना पितृहरूको सन्तुष्टि तथा अनन्त एवं अक्षय तृप्तिको कामनाले श्राद्ध गरिन्छ । साथै उनीहरूको आशीर्वाद प्राप्त गर्ने उद्देश्यले हरेक मानिसले आ–आफ्ना पितृहरूको श्राद्ध अनिवार्य रूपमा गर्नुपर्छ । पूर्वजहरूको श्राद्ध नगर्ने मानिस आफ्ना पितृहरूद्वारा श्रापित हुन पुग्छ । परिणामस्वरूप उसले अनेक प्रकारका दुःख–कष्टको सामना गर्नुपर्ने हुन्छ ।

  • जितिया

जितिया मिथिलाको एक विशिष्ट उपवास पर्व हो । यो एक मात्र यस्तो पर्व हो, जसको महत्त्व केवल व्रत–उपवास र त्यो पनि नारीका लागि मात्र मानिएको छ । आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म तीन दिनमा सम्पन्न हुने जितिया पर्व नेपाल र उत्तरी भारतमा मनाइन्छ । जितिया पर्वप्रतिको धारणामा विविधता देखिन्छ । कतै पुत्र प्राप्ति, सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख–शान्ति एवं कल्याणका लागि जितिया मनाइने धारणा पाइन्छ भने कतै पितृलाई पिण्ड दिने भन्ने धारणा देखिन्छ । जे भए पनि यस पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्त्व उजागर गरेको छ । जितिया पर्व मनाइने समयका आधारमा विचार गर्दा यो पर्व पितृपक्षभित्र पर्ने भएकाले पितृलाई नै समर्पित गरेको देखिन्छ । पितृपक्षमा पुरुषले आफ्ना पितृहरूलाई पिण्डदान गरेझैँ जितियामा नारीले आफ्ना पितृहरूलाई पिण्ड दिन्छिन् ।

पितृ श्राद्धमा पुरुषले पितृलाई बालुवाको आधार बनाई चामलको पिठोको पिण्ड अर्पण गर्दछ भने जितियामा महिलाले घिरौँलाको पातलाई आधार बनाई तोरीको खली (पिना) को पिण्ड अर्पण गर्छिन् । पितृलाई पिण्ड दिने अधिकार सबै पुरुषलाई हुँदैन । दाजुभाइमध्ये जो जेठो छ, उसैले पिण्ड दिनुपर्ने भएकाले अधिकांश मानिस यस दायित्वबाट बाहिर पर्छन् । त्यसैले यो पर्व आम मानिसको नजरबाट टाढै रहन्छ । जितिया पर्वभित्र जीमूतवाहन नामक गन्धर्व राजकुमारको वीरताको कथा छ, जसले गरुडबाट नागहरूको रक्षा गरेका थिए । जितिया व्रत, जसलाई जीवित्पुत्रिका व्रत पनि भनिन्छ, बच्चाहरूको सुरक्षा र दीर्घायुका लागि मनाइने चलन पनि छ । यस व्रतमा आमाहरूले जीमूतवाहनको पूजा गर्छन् र उनको कथा सुन्छन् । यो व्रत बच्चाहरूको सुरक्षा र कल्याणका लागि मनाइन्छ ।

  • देवीपक्ष

देवी पर्व, शक्तिको पूजा र विजयादशमी— यी तीन गहिरो रूपमा एकअर्कासँग जोडिएका छन् । सनातन संस्कृतिमा यी नारी शक्ति, धर्मको विजय र आध्यात्मिक अभ्यासका प्रतीक हुन् । देवी पर्व मुख्यतया नवरात्रिका रूपमा मनाइन्छ, जुन वर्षमा चारपटक (चैत्र, असार, आश्विन र माघ महिनाको शुक्ल पक्ष) आउँछ । यो पर्व देवी दुर्गाका नौ रूपहरूको पूजा गर्ने समय हो, जसमा भक्तहरूले उपवास, साधना र उत्सवमार्फत शक्तिको पूजा गर्छन् । शक्ति भनेको सृष्टि, संरक्षण र विनाशको दिव्य स्त्री ऊर्जा हो, जुन सम्पूर्ण ब्रह्माण्डको प्रेरणा हो । नवरात्रिको समयमा दुर्गा, लक्ष्मी र सरस्वतीजस्ता शक्तिका विभिन्न रूपहरूको पूजा गरिन्छ । यो पूजाले आन्तरिक शक्ति, धैर्य र आत्मविश्वास दिन्छ । नवरात्रि दशमी तिथिमा समाप्त हुन्छ, जसलाई विजयादशमी भनिन्छ । यो असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक हो । यस दिन भगवान् रामले रावणलाई मारे भने देवी दुर्गाले महिषासुरलाई मारेर संसारको रक्षा गरिन् । 

देवी पर्व शक्तिको पूजाद्वारा आत्मविश्वास र सद्गुण जागृत गर्ने माध्यम हो भने विजयादशमी यस साधनाको समापन, विजय र उत्सवको दिन हो । यी पर्वहरू धार्मिक आस्थाका प्रतीक मात्र होइनन्, यिनले सामाजिक र नैतिक मूल्यमान्यताहरू पनि पुनस्र्थापित गर्छन् । दुर्गा सप्तशतीमा तिनै वैदिक ज्ञानलाई कथा, उपमा र उदाहरणद्वारा सम्झाउने प्रयास गरिएको छ । त्यसमा मेधा ऋषिको प्रेरणाबाट देवीको पूजा–आराधना गरेपछि देवीको आशीर्वादले एकले राज्य सुख हासिल गर्छ भने अर्कोले मुक्ति प्राप्त गर्छ । कथाअनुसार, राजा सुरथलाई उनका भाइ–भारदारले पदच्युत गरेर राज्यबाट निकालिदिएपछि उनी विरक्त भई जङ्गलतिर लागे । त्यसै गरी समाधि नामक एक वैश्य पनि पत्नी र पुत्रहरूबाट उपेक्षित भएर जङ्गल पसे । जङ्गलमा ती दुवै राजा र वैश्यको भेट भयो र उनीहरूले एकअर्कालाई आ–आफ्नो कथाव्यथा सुनाए । उनीहरूको परिवेश फरक भए पनि परिस्थिति एउटै थियो । उनीहरू जङ्गलभित्रै रहेका मेधा ऋषिको शरणमा पुगे । 

दरबार र घरबाट धपाइए पनि आफन्तको मोहले किन सताइरहेको छ भन्ने उनीहरूको समस्याको समाधानको उपाय बताउँदै मेधा ऋषि भन्छन्, ‘यो तिनै सर्वशक्तिमान् महामायास्वरूपा देवीको सम्मोहन शक्तिले गर्दा मानिसलगायत सबै प्राणी यस संसार चक्रमा फस्दै दुःखको भुमरीमा पर्ने गरेका हुन् ।’ जस्तोसुकै म हुँ भन्ने विद्वान् पनि ती देवीको माया–शक्तिको प्रभावबाट सजिलै मुक्त हुन नसक्ने बताउँदै ऋषिले महामायाबाट छुटकारा पाउन उनकै आशीर्वाद चाहिन्छ भनी देवीको पूजा–आराधना गर्ने विधि बताए । मेधा ऋषिको प्रेरणा पाएर सुरथ र समाधि देवीको उपासनामा लाग्छन् । तत्पश्चात् देवी प्रशन्न भई दुवैलाई इच्छित वर दिन्छिन् । राजा सुरथले इच्छा गरेअनुसार विरोधीलाई पराजित गरी पुनः शासन गर्न थाल्छन् भने वैश्य समाधिले इच्छा गरेअनुसार वैरागी जीवन व्यतीत गरी मोक्ष प्राप्त गर्छन् । यसरी देवीको उपासनाले सांसारिक सुख मात्र होइन, पारमार्थिक मोक्षको प्राप्ति पनि हुन्छ भन्ने सो कथामा उल्लेख छ ।

  • कोजाग्रत पूर्णिमा

देवीपर्वको अन्तिम दिन कोजाग्रत पूर्णिमा मनाइन्छ । यस अवसरमा देवी लक्ष्मीको आराधना गरिन्छ । यस दिन देवी लक्ष्मी संसार भ्रमण गर्ने र जाग्राम बसेका मानिसलाई धनधान्य र ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन् भन्ने विश्वास छ । कात्तिक स्नान यसै दिनदेखि सुरु हुन्छ । कात्तिक महिनाभरि स्नान गरी तुलसीपूजा गर्नाले जानी–नजानी गरिएका सम्पूर्ण पापबाट मुक्त भइने विश्वास गरिन्छ । यस दिन नवविवाहित पुरुषलाई दुर्वाक्षत प्रदान गरिन्छ । यस अवसरमा मिथिलाको पहिचान ‘पान र मखान’ आमन्त्रित कुटुम्बलाई वितरण गरिन्छ ।

  • यमपञ्चक

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने पर्व विशेषलाई ‘यमपञ्चक’ भनिन्छ । यो मूलतः पाँच दिनको समूह हो । यमपञ्चकका पाँच दिन जीवन र मृत्युसँग सम्बन्धित देवी–देवताको पूजा सम्पन्न गर्ने चलन छ । ‘यमपञ्चक’ सनातन संस्कृतिमा एक महत्त्वपूर्ण अवधारणा हो । यद्यपि लोक व्यवहारमा यो अवधारणा केही विकृत भएको देखिन्छ । वर्षभरिका पर्वहरूका आ–आफ्नै जीवनोपयोगी उद्देश्यहरू छन् । तीमध्ये यमपञ्चकको सम्बन्ध जीवनोत्तर सन्दर्भसँग रहेको छ, अर्थात् यी पाँच दिन यमराजसँग सम्बन्धित छन् ।

  • धन्वन्तरि पूजा

यमपञ्चकको पहिलो दिन धन्वन्तरि दिवसका रूपमा मनाइन्छ । वेद वाक्यका अनुसार भगवान् धन्वन्तरि आयुर्वेदका जनक हुन् । भगवान् धन्वन्तरिको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा हुन्छ भन्ने विश्वास छ । पूजाको तात्पर्य भगवान्लाई भाव र वस्तु अर्पण गर्नुभन्दा भगवान्को उपदेश आत्मसात् गर्नु भन्ने बुझ्नुपर्छ । जुन दिन धन्वन्तरिको सारलाई छाडेर मानिस ‘धन’को पछाडि भाग्न थाले, त्यस दिनदेखि ‘धनतेरस’ मनाइन थालियो ।

  • नर्क निवारण चतुर्दशी

यमपञ्चकको दोस्रो दिन नर्क निवारण चतुर्दशी मनाइन्छ । यस दिन निराहार रहने र यमराजको पूजा–आराधना गर्ने गरिन्छ । अनेक कारणले गर्दा मानव जीवन नर्कजस्तै बन्न पुग्छ । नर्क भनेको हाम्रो कार्य र विचारबाट उत्पन्न हुने अवस्था हो । नर्कको अर्थ जीवनमा असह्य पीडा, दुःख र एक्लोपन हुन्छ । अनुचित आचरणमा लिप्त हुँदा मानव जीवन नर्क बन्न पुग्छ । यी कार्यहरूले मृत्युपछि यातना दिन सक्छन् र जीवनमा दुःख र अशान्ति ल्याउँछन् । त्यसैले नर्क निवारण चतुर्दशी पर्व जीवनलाई नर्कको अवस्थामा जानबाट रोक्नका लागि हो ।

  • देवी कालीको पूजा

यमपञ्चकको तेस्रो दिन मिथिलामा कतै देवी लक्ष्मीको पूजा गरिन्छ भने कतै देवी कालीको । हुन त यसको मूल स्वरूप आजका दिन देवी कालीको आराधना गर्नु हो, किनभने देवी काली ‘देवी शक्ति’को ‘काल’ स्वरूप हुन् । कालको एक पर्याय मृत्यु हो । काल र मृत्युबीच गहिरो सम्बन्ध छ र यसैकारण ‘काल’ शब्द प्रायः ‘मृत्यु’को पर्यायवाचीका रूपमा प्रयोग गरिन्छ । ‘काल’को अर्थ समय हो । समय निरन्तर गतिमा छ र यसको कुनै अन्त्य छैन । प्रत्येक क्षण बित्दै जान्छ र बित्ने प्रत्येक क्षणले हाम्रो जीवनलाई निश्चित अन्त्यतिर लैजान्छ । समयको चक्र जन्म, जीवन र मृत्यु हो । जन्मेको प्रत्येक व्यक्तिले एक दिन मर्नुपर्छ । कालको अवधारणाले हामीलाई बताउँछ कि जीवन सीमित छ ।

प्रत्येक बित्ने क्षणले हामीलाई जीवनको अन्त्यको नजिक ल्याउँछ । यसरी समयले हामीलाई बुढो बनाउँछ, हाम्रो शरीरलाई कमजोर बनाउँछ र मृत्यु निम्त्याउँछ । काललाई एक अदृश्य र सर्वशक्तिमान् शक्तिका रूपमा हेरिन्छ, जसले सबै कुरा नष्ट गर्दछ । यस ब्रह्माण्डमा सबै कुरा जन्मन्छ र त्यसपछि समयसँगै नष्ट हुन्छ । यो विनाशकारी शक्ति काल हो । काल एक यस्तो शक्ति हो, जो हरेक वस्तुलाई नष्ट गर्दछ र मृत्यु पनि यसै विनाशक प्रक्रियाको एक हिस्सा हो । त्यसैले जब ‘काल’ शब्दको प्रयोग गरिन्छ, तब प्रायः त्यसको तात्पर्य त्यस समयसँग हुन्छ, जो जीवनको अन्त्यको सूचक हो, अथवा त्यस शक्तिसित हुन्छ, जो मृत्युको कारण बन्दछ । यमपञ्चकमा काली पूजालाई यसै कारणले सान्दर्भिक मानिएको हो ।

  • चित्रगुप्त पूजा

यमपञ्चकको अन्तिम दिन भगवान् चित्रगुप्तको पूजा गरिन्छ । भगवान् चित्रगुप्त यमराजका सहायक हुन् र मनुष्यले जीवनभर गरेका सबै राम्रा र नराम्रा कर्महरूको हिसाब राख्नु उनको कार्य हो । जब कुनै व्यक्तिको मृत्यु हुन्छ, चित्रगुप्तले राखेका कर्महरूको विवरणका आधारमा यमराजले त्यस्तो व्यक्तिलाई स्वर्ग वा नर्क कहाँ पठाउने भनेर निर्णय गर्छन् । त्यसैले, मानिसहरूले आफ्नो कर्म राम्रो होस् र मृत्युपछि राम्रो स्थान प्राप्त होस् भन्ने आशामा उहाँको पूजा गर्छन् । यहाँ पूजाको अर्थ फूल–पान चढाउनु मात्र होइन, जीवनका कर्महरू उचित तरिकाले सम्पादन गर्नु पनि हो । ‘यमपञ्चक’ यमराजको पर्व हो, त्यसैले यमराजका सहायक चित्रगुप्तको पूजा गर्नाले अकाल मृत्युको भय हट्ने र जीवनमा सुख–शान्ति प्राप्त हुने विश्वास गरिन्छ । चित्रगुप्त पूजामा बहीखाता (लेखाबही) को पनि पूजा गरिन्छ । यसको अर्थ आजका दिन आ–आफ्नो जीवनका कर्महरूको लेखाजोखा गर्नु पनि हो ।

  • छठ पूजा

छठ पर्व सूर्य उपासनाको पर्व हो । यस पर्वमा कात्तिक शुक्ल षष्ठी तिथिको साँझ र सप्तमी तिथिको बिहान भगवान् सूर्यदेवलाई अर्घ्य दिइन्छ । मिथिलामा छठको छटा छुट्टै हुन्छ । छठ व्रत अत्यन्तै कठिन व्रत हो । यस पर्वमा पञ्चमीदेखि नै उपवास बस्ने र बिहान–बेलुकी जलाशयमा घण्टौँ उभिएर भगवान्लाई अघ्र्य दिँदा व्रतालुले सामना गर्ने कठिनाइले उसलाई जस्तोसुकै विपरीत परिस्थितिको सामना गर्न सामथ्र्य प्रदान गर्दछ ।

  • सामा चकेवा

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने स्नेहको अर्को पर्व हो, सामा चकेवा । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन सुरु हुने भए पनि यस पर्वको मुख्य उत्सव पूर्णिमाको रात सम्पन्न हुन्छ । सामा चकेवा नारी समाजप्रति समर्पित पर्व हो । यस पर्वको सार एक पौराणिक कथाबाट लिइएको छ, जो भाइ–बहिनीको स्नेह र निष्ठालाई रेखाङ्कित गर्दछ । सामा चकेवा पर्व नारी समाजको प्रतिभाको विकासका लागि प्रतिबद्ध छ । यस पर्वका गीतहरूमा नारीको सामाजिक सुरक्षाको भाव अन्तर्निहित छ । यो पर्व जटिल मूर्तिको निर्माण, लोकगीत गायन र पारम्परिक नृत्य शैलीका माध्यमले नारीको पारम्परिक कलात्मक र प्रदर्शनात्मक क्षमतालाई स्पष्ट रूपमा विकसित गर्दछ । 

यस पर्वले नारीको ‘सामाजिक सुरक्षा’को चित्रण एक जटिल र बहुआयामिक तस्बिरका रूपमा प्रस्तुत गर्दछ । परम्परागत रूपमा, गीत र कथाले भाइको रक्षकको भूमिकामाथि जोड दिन्छ, जो पुरुष संरक्षकत्वबाट प्राप्त सुरक्षाको भावनाको सङ्केत दिन्छ । यसको विपरीत, एक आलोचनात्मक विश्लेषणले, विशेष रूपमा नारीवादी दृष्टिकोणबाट, यस्तो दर्शाउँछ कि सामाको मूल कथाले एक यस्तो नारी नायकलाई प्रस्तुत गर्दछ, जो आवाजविहीन छे र जसमा व्यक्तिगत स्वतन्त्रताको सङ्कुचन छ, र जसको भाग्य पुरुष पात्रद्वारा निर्धारित हुन्छ । यी स्पष्ट सीमाका बाबजुद, यो उत्सवले एउटा यस्तो विशिष्ट सामुदायिक स्थान स्थापित गर्छ जहाँ नारीहरू आफ्नो दृष्टिकोण, अव्यक्त इच्छा र सामाजिक मानदण्डहरूको आलोचनालाई आफ्नो लोकगीतका माध्यमले सूक्ष्मताका साथ व्यक्त गर्दछन् । परिणामस्वरूप, यो उत्सवले स्थापित पारम्परिक सीमाभित्र प्रतिभाको विकासलाई सहज बनाउँछ ।

  • हरिबोधिनी एकादशी

असार शुक्ल एकादशीमा देवशयनीसँगै प्रारम्भ हुने चतुर्मासको समापन कात्तिक शुक्ल एकादशीको दिन देवोत्थानका साथ हुन्छ । यस दिन वैष्णव अनुयायीहरू व्रत बस्दछन् । यस दिनले चतुर्मासको समापन गर्दछ । यस दिनदेखि विवाह, उपनयन, गृहप्रवेश आदि साइतहरू खुला हुन्छन् । तुलसी–शालिग्राम विवाह पनि यसै दिन गरिन्छ । यो दिन भगवान् विष्णुले बलि राजालाई पाताल लोकमा शासन गर्ने वरदान दिनुभएको थियो । केही धार्मिक ग्रन्थहरूका अनुसार भगवान् राम र माता सीता वनवास पूरा गरी अयोध्या फर्केको दिन पनि यही हो । हरिबोधिनी एकादशी आध्यात्मिक जागरण, शुभ कार्यहरूको पुनरारम्भ र भगवान् विष्णुको कृपाको द्वार खुल्ने दिन हो ।

यस प्रकार चतुर्मास अवधिका पर्वहरू एकपछि अर्को गर्दै सम्पन्न हुन्छन् । माथि उल्लेख गरिएका पर्वहरू मिथिला संस्कृतिका चर्चित पर्वहरू हुन् । यी पर्वहरूका अतिरिक्त पनि नियमित एकादशी व्रत, चतुर्दशी व्रत, रवि व्रत, शीतला पूजा, कुशे औँसी, राधाष्टमी, इन्द्र पूजा आदि पर्दछन् ।

(झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप