देवीको दर्शन गर्न जुत्ता–चप्पलविना ३६ घण्टा पैदल यात्रा छिचोल्छन् भक्तजन
सारांश
- बझाङको सुर्मा गाउँपालिकामा सुर्मा सरोवर क्षेत्रमा बिरिजात मेला सम्पन्न भयो, जहाँ हजारौं भक्तजनको सहभागिता थियो।
- मेलामा भक्तजनहरू १८ घण्टाको पैदल यात्रा गरी खाली खुट्टा सुर्मादेवीको दर्शनका लागि पुग्छन्, जसलाई शुद्धीकरणको प्रक्रिया मानिन्छ।
- मेलाको मुख्य आकर्षण बालाबीरहरू हुन्, जसले निगालोको लौरो बोक्छन् र पवित्र सुर्मा सरोवरमा स्नान गर्छन्, जसले पापबाट मुक्ति दिन्छ भन्ने विश्वास छ।
धनगढी । बझाङको सुर्मा गाउँपालिकास्थित सुर्मा सरोवर क्षेत्रमा बिरिजात मेला सम्पन्न भएको छ । हरेक वर्ष साउन शुक्ल एकादशीदेखि चतुर्दशीसम्म यहाँ भव्य मेला लाग्ने गरेको छ ।
सुर्मादेवी बिरिजात मेला भर्न तथा देवीको दर्शनका लागि हजारौँ भक्तजन पुग्ने गर्दछन् । यहाँ पुग्न १८ घण्टाको पैदल यात्रा तय गर्नुपर्छ भने फर्किन पनि उत्तिकै समय लाग्छ । भक्तजनहरू यहाँ पैदल खाली खुट्टा नै जाने गर्दछन् ।
सुर्मा सरोवर क्षेत्र समुद्र सतहदेखि चार हजार मिटरको उचाइमा छ । सुर्मा सरोवर अर्थात् सुर्मा ताल सेती नदीको मुहान पनि हो ।
सुर्मादेवी बिरिजात मेलाको तयारी हप्तौँ अघिदेखि सुरु हुन्छ । सुर्मादेवी मेला यो साल साउन १९ गतेदेखि सुरु भएको थियो । मेलाको सुरुवातमै स्थानीयहरू आ–आफ्नो समूहमा आएर मन्दिरमा पूजाआजा गर्छन् ।

मेलाको दोस्रो दिनलाई ‘पर्छती’ भनिन्छ । यस दिन विभिन्न ठाउँबाट भक्तजनहरू दुई मुख्य बाटो हुँदै पाँगरजडी मन्दिर आइपुग्छन् । एउटा मथिल्लो बाटो, जहाँबाट छविसपाथीभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिकाका गाउँ, जुजी, अन्जाडा, बिजाडा, खोरियाल, घट्याल, थलारीजस्ता २६ पाटनका मानिसहरू आउँछन् । अर्को तल्लो बाटो, जुन जयपृथ्वी नगरपालिका, मस्टा गाउँपालिका र सुर्मा गाउँपालिकाका विभिन्न गाउँबाट स्थानीयहरू आउँछन् ।
यी दुई फरक–फरक ठाउँबाट आउने समूहलाई यहाँको स्थानीय भाषामा ‘बाईसी पाली, बाउन्न खोलावा’ का मान्छे भनेर चिनिन्छ, जसले यस क्षेत्रको बृहत् सांस्कृतिक एकतालाई दर्शाउँछ ।
मेलाको मुख्य आकर्षणमध्ये हातमा निगालोको लौरो (लागुडी) बोकेका पुरुष भक्तजन हुन् । उनीहरूलाई ‘बालाबीर’ भनिन्छ र उनीहरू पवित्र सुर्मा सरोवरमा स्नान गर्न जान्छन् । उनीहरूसँगै महिला भक्तजन पनि हुन्छन्, जो बालाबीरहरूलाई बिदाइ गर्न वा देवीसँग असल वर माग्नका लागि आएका हुन्छन् ।

मेलामा आउने विभिन्न गाउँका मानिसहरूका आ–आफ्नै ‘पर्छ’ वा समूह हुन्छन् । माथिल्लो बाटोबाट आउनेहरू पाङ्गरजडी मन्दिरमा पूजाआजा गर्छन् भने तल्लो बाटोबाट देवी र धल्लौका धामीसहितको समूह आउँछ । यी दुई समूहको भेट पिपलटाँडा भन्ने ठाउँमा हुन्छ । त्यहाँ खोरियालका मानिसहरूले धामीलाई काँधमा बोकेपछि दहीपाटतर्फ अघि बढ्छ ।
भर्खरै सरोवर यात्रा सकेर फर्किएका जयपृथ्वी नगरपालिका–१० का मीनबहादुर सिंहले भने, ‘बादा औंसी (श्रावण शुक्ल औंसी) देखि नै मैले मासु, मसला, लसुन, प्याजजस्ता तामसी भोजन पूर्ण रूपमा त्याग गरेको थिएँ ।’
उनका अनुसार यो एक प्रकारको शुद्धीकरणको प्रक्रिया हो, जसले शरीर र मनलाई पवित्र यात्राका लागि तयार गर्छ ।
मीनबहादुर घोघडाबाट तीर्थालुहरूसँगै पाङ्गरजडी मन्दिर यात्राका लागि निस्किए । उनका अनुसार तीर्थालुलाई स्थानीय भाषामा ‘लोग’ भनिन्छ । उनीहरूको पहिलो गन्तव्य पाङ्गरजडीको मन्दिर हो । यहाँसम्म पुग्न उनले पहिलो चरणको यात्रा नै करिब पाँच घण्टा पैदल हिँडे, त्यो पनि खाली खुट्टा ।

खास परीक्षा, साहस र आस्थाको असली यात्रा मेलाको दोस्रो दिन साउन २० गते मध्यरातबाट सुरु भयो ।
‘बाईसी पाली, बाउन्न खोलावा’ का तीर्थालु जसले सरोवर यात्रा गर्ने निधो गरेका थिए, उनीहरु मध्यरातबाट सुर्मा सरोवर पदमार्ग हुँदै थकुन्नाडाबाट उकालो लागे ।
घोघडाबाट आएका मीनबहादुर र उनका साथी पनि राति डेढ बजे सरोवरका लागि हिँडे । त्यो समयमा चारैतिर घना अँध्यारो थियो । तीर्थालुहरूले टर्चलाइट समेत बाल्दैनन् । उनीहरू चन्द्रमाको मधुरो उज्यालो र अगाडि हिँडिरहेको साथीको अस्पष्ट छायाका भरमा यात्रा गर्छन् ।
मीनबहादुर करिब १८ घण्टाको लगातार हिँडाइपछि सुर्मा सरोवर क्षेत्र पुगे । ‘यो यात्रा एकदमै कठिन छ । बाटोमा पाइला–पाइलामा काँडाजस्ता ढुङ्गा छन्, तर सुर्मादेवीमाथिको आस्था र उहाँको कृपाले नै यो सम्भव हुने रहेछ,’ सिंहले भने ।
देवीको नाम र आराधनाविना त्यो उचाइमा पुग्न असम्भव लाग्ने उनको भनाइ छ ।

अर्का तीर्थालु सुर्मा–४ का धनवहादुर पुजाराले भने, ‘बाटो यति खतरनाक छ कि मरिन्छ कि बाँचिन्छ भन्ने थाहा हुँदैन, तर देवीको आशीर्वादले कसैलाई केही भएन । यो यात्रामा १०–११ वर्षका कलिला बालक ‘बालवीर’देखि लिएर सक्षम पुरुषहरू मात्र सहभागी हुन्छन् । यी बालवीरहरू हातमा निगालोको लौरो (लागुडी) बोकेर हिँड्छन्, जुन पुर्खादेखि चलिआएको परम्परा हो । उनीहरूको कलिलो खुट्टाले काँडा र ढुङ्गा टेक्दा पनि अनुहारमा गर्व र उत्साह देखिन्छ ।
सुर्मा देवीको पूजाआजा गर्नेहरूले एक पटक यहाँ बालवीर लैजाने गर्छन् । यो पटक ३ हजार देखि ४ हजारको सङ्ख्यामा तीर्थालुहरू सुर्मा सरोवर क्षेत्रमा गएका थिए । ‘बाईसी पाली, बाउन्न खोलावा’ का तीर्थालु भक्तजनबाहेक बाहिरबाट आएका पर्यटक पनि यहाँ गए ।

श्रद्धालुहरू खाली खुट्टा, मनमा कामना बोकेर यो कठिन यात्रा तय गर्छन् । सन्तान नहुनेले सन्तान, धन नहुनेले धन माग्दै देवीलाई पुकार्दै हिँड्छन् ।
यात्राको क्रममा विभिन्न पवित्रस्थल बाटोमा पर्छन् । मधुखर्क, पिण्डेश्वरी, डेलठेल, चाँदेशिखर जस्ता ठाउँको आफ्नै महत्त्व छ । वेद व्यासले १० हजार वर्ष तपस्या गरेको कुण्डमा देवीले सुँगुरको रूप धारण गरी खाल्डो बनाएर पवित्र जल निकालिदिएको किंवदन्ती छ । त्यहीँबाट सुनखानी र चाँदीखानी पनि बनेको विश्वास गरिन्छ ।
पुजाराका अनुसार लामो र कठिन यात्रापछि जब उनी सुर्मा सरोवर पुगे, उनले आफ्ना सबै दुःख र पीडा बिर्सिए । चारैतिर हिमालले घेरिएको, निलो र शान्त सरोवरको दृश्यले मनलाई शान्ति दिएको उनले सुनाए ।

यहाँ देवीले विभिन्न रूपमा दर्शन दिन्छिन् भन्ने विश्वास छ । कहिले मौरीको रूपमा, कहिले मृगको रूपमा त कहिले कालो तालको रूपमा देवी प्रकट हुने गरेको भक्तजनको भनाइ छ ।
पुजाराका अनुसार, त्यहाँ रहेका विभिन्न आकृतिका ढुङ्गाहरूलाई पाण्डव, कुवेर र लक्ष्मीजस्ता देवी–देवताको रूपमा पूजा गरिन्छ । खाली खुट्टा कठोर यात्रा गरेपछि सरोवर पुगेकाहरूले आस्था र श्रद्धापूर्वक दर्शन र पूजाआजा गर्दछन् ।
सुर्मा–३ का डवल बोहरा १० वर्षको उमेरमा सरोवर गएका थिए । यो पटक ३० वर्षपछि फेरि उनी सरोवरको यात्रामा गए । ‘पहिला त बाटो नै थिएन, पहिलाको तुलनामा अहिले राम्रो बाटो छ । सरोवरमा कुण्ड, पाटन धेरै सुन्दर छन्,’ उनले भने, ‘मान्छेहरूलाई खासै दुःख भएन । आधा बाटोमा धर्मशाला पनि बनाएका रहेछन् । यसले राहत भयो ।’
मेलाको तेस्रो दिनलाई ‘हरचति’ भनिन्छ । यस दिन बालावीरहरू र अन्य पुरुष भक्तजनहरू सरोवरको चिसो पानीमा स्नान गर्छन् । यो स्नानले जीवनभरका सबै पापबाट मुक्ति दिन्छ भन्ने गहिरो विश्वास छ । त्यहीँ रात सरोवरमा बास बसेपछि चौथो दिन अर्थात् साउन २२ गते फर्कने क्रम सुरु हुन्छ । तीर्थालुहरू राति २ बजेतिर सरोवरबाट ओरालो लाग्न थाल्छन् ।
यात्रा जति कठिन छ, समुदायको साथ र सहयोग त्यति नै न्यानो र भावनात्मक छ । सरोवरबाट फर्केकाहरूलाई स्वागत गर्न घरपरिवार र गाउँलेहरू आधा बाटोसम्म पुग्छन् । ‘लोटनी’ भन्ने ठाउँमा महिलाहरू पनि यहाँ जान्छन् । सरोवरबाट फर्केकाहरुलाई शङ्ख, घण्टी बजाउँदै, भजन गाउँदै, ब्रत बसेर उनीहरूको प्रतीक्षा गरिरहेका हुन्छन् । उनीहरूले ३६ घण्टादेखि भोकै रहेका तीर्थालुलाई घरबाट लगेको तातो खानाले स्वागत गर्छन् । यो दृश्यले समुदायको आपसी सद्भाव र परम्पराप्रतिको अगाध सम्मानलाई उजागर गर्छ ।
यो यात्रा आस्थाले जति बलियो छ, भौतिक पूर्वाधारको हिसाबले त्यति नै कमजोर छ । यात्राबाट फर्किएका पदमवहादुर बोहराले भने, ‘स्थानीय र प्रदेश सरकारले बाटोमा कम्तीमा एउटा धर्मशाला वा विश्रामस्थल बनाइदिएको भए तीर्थालुहरूलाई, विशेषगरी बिरामी र वृद्धहरूलाई ठुलो राहत मिल्ने थियो ।

सुर्मा देवी बिरिजात मेला एक धार्मिक यात्रामात्र होइन, यो बझाङको जीवन्त इतिहास र संस्कृतिको प्रतीक हो । यो मेला १४००–१५०० वर्ष पुरानो भएको मानिन्छ । पाङ्गरजडी मन्दिरका पुजारी धर्मराज पुजाराका परिवारले सात पुस्तादेखि सुर्मा देवीको अविच्छिन्न सेवा गर्दै आएको छ । यसको सम्बन्ध दुर्गाथलीबाट ल्याइएको पाङ्गरको रुखसँग जोडिएको छ, जुन आज पनि उस्तै छ ।
देवी सुर्मालाई १६ बहिनी देवीमध्येकी एक ‘छिपिली सुर्मा’ मानिन्छ, जो पवित्र र शक्तिशाली छिन् । बहिनी दुर्गासँग विवाद भएपछि दुर्गाथलीबाट उनी अनेक भेष गर्दै सुर्मा पुगेको किम्वदन्ती छ । त्यहाँबाट आफ्नो भाग पाङ्गरको रुख र जिउलो सेरो खेत पनि ल्याएको विश्वास छ ।
यहाँका राजाहरूसँग जोडिएका अनेकौँ चमत्कारिक कथा पनि प्रचलित छन् । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले सुनखानीमा सुन गलाउन खोज्दा बनेका खाल्डाहरू आजसम्म पुरिएका छैनन् । त्यस्तै, राजा गजराज सिंहले देवीको परीक्षा लिन खोज्दा देवीले तातो गोबर र धानको बाला देखाएको र पछि राजाले चढाएको औंठी पवित्र सरोवरबाट पटक–पटक उनकै हातमा फर्किआएको जस्ता कथाहरूले देवीको शक्तिप्रतिको आस्थालाई थप बलियो बनाएको छ ।
यो मेलामा लसुन, मासुजस्ता खानेकुराहरू निषेध गरिन्छ र छाउपडीजस्ता परम्परागत नियमहरूलाई पनि कडाइका साथ पालना गरिन्छ । भक्तजनहरू हिउँले ढाकिएको सरोवरसम्म खाली खुट्टा पुग्छन् । स्थानीय जानकारका अनुसार परापूर्वकालदेखि चल्दै आएको यो संस्कृति र नियम नयाँ पुस्तालाई सिकाउन र यसको संरक्षण गर्न जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण