बागलुङमा बर्खे जात्राको रौनक
सारांश
- बागलुङ बजारमा नेवारी समुदायले बर्खे जात्राको आयोजना गर्दै विभिन्न लोपोन्मुख नाचहरू प्रदर्शन गरिरहेका छन्।
- बर्खे जात्रामा युवा पुस्ताको सक्रियता बढेपछि लाखे, कटुवाल, रोपाइँ जस्ता नाचहरू निरन्तरता दिइएको छ।
- २३९ वर्ष पुरानो बर्खे जात्रामा आर्थिक अभावका कारण केही नाच लोप भए पनि युवा पुस्ताको चासोले जात्रालाई निरन्तरता मिलेको छ।
बागलुङ।
असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो ।
मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँ जात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो यो । उनीहरू मुखियाको खेत रोप्न आएका रोपारहरू अवस्थामा सजिएका छन् । केही पुरुषहरू भने बाउसेको भूमिकामा छन् ।
बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न पाइन्छ । यहाँको पुरानो नाचमध्येका लाखे, होवा, घोडा, रोपाइँजस्ता विभिन्न नाच दैनिक जसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुलजार छ । घण्टा कर्णको अघिल्लो दिन लाखेनाच देखाएर सुरु भएको जात्रा आगामी भदौ ११ गतेसम्म चल्ने छ । बर्खे जात्राको रूपमा भने गाईजात्राको दिनबाट लिने गरिएको छ ।
नेवारी समुदायको लोपोन्मुख संस्कृतिका रूपमा रहेको नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । बर्खे जात्रा संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेपछि विभिन्न नाचहरू थप रोमाञ्चित भएका छन् । बागलुङको बर्खे जात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् ।
बर्खे जात्रा नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायत नाचहरू प्रदर्शन गरिनेछ । अहिलेसम्म लाखे, कटुवाल, होवा र रोपाइँ नाच प्रदर्शन गरिसकेको छ । नेपाल भाषा मंका खलःको आयोजनामा अन्य पाँच संस्थाको समन्वयमा बर्खे जात्रा सञ्चालन गरिएको छ ।
नेवारी संस्कृति संरक्षणमा कठिन भए पनि युवापुस्ताको सक्रियतामा बर्खे जात्रालाई निरन्तरता दिइरहेको नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारीले बताए । “केही खर्चिला नागनागिनी, शिखारी र थेतर नाच लोप भइसके तर अन्य नाचलाई निरन्तरता दिएका छौँ”, भारीले भने, “युवा पुस्तालाई सक्रिय बनाउँदा सहज भएको छ, नत्र खर्च र व्यवस्थापनका हिसाबले निकै समस्या छ, संस्कृतिको संरक्षणमा नेवारी समुदाय एकजुट बनेको छ ।”
विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्ताबेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताए । “शिखारी, थेत्तर र नागनागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे अर्थात बर्खे नाच संरक्षित छन्”, उनले भने, “नेवार जातिका कला संस्कृतिअन्तर्गत धेरै नाच आर्थिक हिसाबले खर्चिला छन्, जुन बचाउनै गाह्रो छ, युवा पुस्ताको चासो भएकाले सहज भएको मात्रै हो ।”
बर्खेजात्राका कारण बागलुङ बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले बजेट अभावले तीन वर्षमा देखाउने हनुमान नाच नौ वर्षमा देखाइएको बताउनुभयो । पछिल्लो समय युवाले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुनः देखाउन थालिएको उनको भनाइ थियो । नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरू अन्य जातजातिले रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई भदौरे नाच भन्ने गरिएको छ ।
नेपाल भाषा मंका खलले संयोजन गरे पनि जोगी नाच शाक्य कल्याण समाजको अगुवाइ, कटुवाल, घोडा र रोपाइँ नाच नेवा ल्याम्ह पुचको सक्रियतामा देखाइँदै आएको छ ।
भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । वर्खामा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बन्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण