अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमा प्राविधिक समस्या, मर्मत कहिले ?
काठमाडौँ । नेपालको इन्धन आपूर्तिमा रणनीतिक महत्त्व राख्ने अमलेखगञ्जस्थित पेट्रोलियम डिपोको दोस्रो चरणको पाइपलाइनमा प्राविधिक समस्या देखिएको छ । नेपाल आयल निगमले यसलाई ‘सामान्य’ समस्याको रूपमा व्याख्या गर्दै इन्धन आपूर्तिमा कुनै असर नपर्ने दाबी गरेको छ ।
तर करोडौँ लगानीको परियोजना परीक्षण चरणमै बिग्रिनुले यसको निर्माण गुणस्तरमाथि प्रश्न उठाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले डिपोभित्र इन्धन वितरणका लागि बनाइएको दोस्रो चरणको पाइपलाइनमा प्राविधिक समस्या आएको स्वीकार गरे । उनका अनुसार डिपोको ट्याङ्कीबाट ट्याङ्करमा इन्धन लोड गर्ने प्रयोजनका लागि बनाइएको पाइपमा प्रेसर परीक्षण गर्दा करिब ६ इन्च ‘सिफ्ट’ (सरेको) भएको हो ।
‘यो कुनै ठुलो प्राविधिक समस्या भएको होइन । घरमा ग्यासको रेगुलेटर बिग्रिएजस्तो वा बिजुलीको फ्युज गएजस्तो सामान्य मर्मतको विषय हो,’ प्रवक्ता ठाकुरले भने, ‘डिपोमा कन्टिन्युअस पम्प चलिरहन्छ । त्यसको प्रेसले गर्दा मेकानिकल चिजमा समस्या देखियो । यो न्युजमा आउनुपर्ने विषय नै होइन । मूल पाइपलाइनबाट तेल आयात भइरहेको छ र आपूर्तिमा प्रभाव पार्दैन ।’
ठाकुरले भारतीय आयल कर्पोरेसन (आईओसी)को प्राविधिक टोलीले एक सातामा मर्मत गर्ने र यो विषयलाई अनावश्यक रूपमा ठुलो बनाउन नहुने तर्क गरे । उनको यो तर्कले समस्यालाई ढाकछोप गर्न खोजेको देखिन्छ ।
तर उक्त समस्याले निगमको नयाँ संरचनाको गुणस्तरमाथि प्रश्न उठेको छ । भर्खरै निर्माण भएको संरचना परीक्षणकै क्रममा रहेको प्रेसर धान्न नसकेर किन ‘सिफ्ट’ भयो ? के यसले निर्माणमा प्रयोग भएका सामग्री, इन्जिनियरिङ डिजाइन वा सुपरीवेक्षणमा कमजोरी रहेको संकेत गर्दैन ?
यस्तै निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जका प्रमुख पलयंकर आचार्यले यो परियोजना परीक्षणकै क्रममा रहेकाले यस्ता समस्या देखिनु र मर्मत गर्नु सामान्य प्रक्रिया भएको बताए ।
‘यो मुख्य पाइपलाइनमा आएको समस्या होइन, डिपोभित्र ट्यांकरमा तेल लोड गर्ने नयाँ संरचनामा देखिएको सामान्य प्राविधिक विषय हो,’ आचार्यले भने, ‘हामी अझै परीक्षण चरणमै छौँ । यो चरणमा देखिने समस्यालाई समाधान गर्दै लैजानु नियमित प्रक्रिया हो ।’
पाइप सामान्य ‘सिफ्ट’ मात्र भएको र त्यसलाई ‘सेडल’ तथा ‘गाइड’ को सहायताले मिलाइने उनको भनाइ छ ।
यो समस्या दुई महिनाअघि पनि देखिएको थियो । त्यसबेला पनि ६ दिन पाइपलाइन बन्द गरेर मर्मत गरिएको थियो । उच्च चापमा इन्धन प्रवाह हुने पाइपलाइनको सानो ‘सिफ्ट’ले पनि भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । यसलाई ‘सामान्य’ रूपमा हेर्नु रणनीतिक पूर्वाधारप्रतिको गैरजिम्मेवारीपन हो ।
दोस्रो चरणको यो पाइपलाइन आईओसीको ७५ करोड भारु र निगमको १ अर्ब ५४ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको हो, जसको निर्माण आईओसीले नै गरेको थियो ।
_ScuuRypHQG.jpg)
कहिले हुन्छ मर्मत ?
प्राविधिक समस्या देखिएको यो पाइपलाइन मर्मतका लागि इण्डियन आयल कर्पोरेसन (आईओसी)को प्राविधिक टोली आउने भएको छ । पाइपमा प्राविधिक समस्या देखिएपछि उक्त टोलीले गत साता निरीक्षण गरिसकेको छ ।
आईओसीका कार्यकारी निर्देशक मनोज शर्मा नेतृत्वको टोलीले निरीक्षण गरी ‘लोडिङ वे’ र भल्बमा समस्या रहेको र त्यसलाई खोलेरै मर्मत गर्नुपर्ने बताएको छ । यही अगस्ट १६ (साउन ३१) देखि करिब सात-आठ दिनको अवधिमा पाइपलाइनको मर्मत गरिसक्ने जनाएको छ ।
‘आपूर्तिमा प्रभाव पर्दैन’
प्रमुख आचार्यले मर्मतका कारण इन्धन आयात र वितरणमा कुनै पनि किसिमको अवरोध नहुने बताए । ‘मुख्य पाइपलाइनबाट तेल आइरहेको छ । डिपोबाट हुने वितरण पनि रोकिँदैन । हामीले मर्मत गर्नुपर्ने खण्डलाई मात्रै छुट्याएर काम गर्ने हो, त्यसैले समग्र प्रणाली बन्द हुँदैन,’ उनले भने ।
अमलेखगञ्ज डिपोबाट हाल थानकोट, पोखरा, भैरहवा र विराटनगरका लागि पेट्रोलियम पदार्थ आपूर्ति हुँदै आएको छ । मर्मतका क्रममा आपूर्तिलाई निरन्तरता दिन आवश्यक परे काम गर्ने समय थपघट गर्न सकिने, तर उपभोक्तालाई कुनै असर पर्न नदिने निगमको तयारी छ ।
नेपाल आयल निगमले पाइपलाइन मर्मतका क्रममा बजारमा इन्धनको कुनै अभाव हुन नदिने बताएको छ । अमलेखगञ्ज डिपोमा १७ हजार ४ सय ९० किलोलिटर पेट्रोल भण्डारण क्षमता छ । यस्तै २५ हजार ५९० किलोलिटर डिजेल र २ हजार २७० किलोलिटर क्षमताको मट्टितेल भण्डार गर्ने ट्याङ्की छ ।
यसमध्ये १७ हजार ४९० किलोलिटर क्षमताको पेट्रोल ट्याङ्कीमा ८ देखि १० हजार किलोलिटर पेट्रोल खपत हुनासाथ पाइपलाइनबाट आयात गरिन्छ । प्रतिघण्टा २५० देखि ३०० किलोलिटर गतिमा पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । औसतमा दैनिक ३ हजारदेखि ३ हजार ५०० किलोलिटर बिक्री हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण