बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

युवा सङ्घमा चर्किँदै विवाद, समानान्तर कमिटी घोषणा गर्दै असन्तुष्ट पक्षधर

शनिबार, ३१ साउन २०८२, १९ : ४५
शनिबार, ३१ साउन २०८२

सारांश

  • युवा सङ्घ नेपालमा पार्टी नेतृत्वको मनोमानीको विरुद्ध समानान्तर कमिटी घोषणा हुने तयारी भइरहेको छ।
  • असन्तुष्ट पक्षले २४ घण्टाभित्र माग सुनुवाइ नभए विधानअनुसार केन्द्रीय कमिटी घोषणा गर्ने चेतावनी दिएका छन्।
  • पार्टी अध्यक्ष माधवकुमार नेपालले एकलौटी गरेको र रोशन थापालाई संयोजक तोकेकोमा असन्तुष्टि जनाइएको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा सङ्घ नेपालमा विवाद बढ्दै गइरहेको छ । पार्टी नेतृत्वले मनोमानी हस्तक्षेप गरेपछि समानान्तर कमिटी घोषणा हुँदैछ । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले मनोमानी हस्तक्षेप गरेको जनाउँदै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल निकट मानिने युवाहरूले समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् । युवा सङ्घमा देखिएको विवाद समाधान नगरी पार्टी नेतृत्वले मनोमानी गर्दै आएको असन्तुष्ट पक्षधरको भनाइ रहेको छ । 

असन्तुष्ट पक्षधरको नेतृत्व गरिरहेका सञ्जीव राईले आफूहरूले पटक–पटक निर्णय सच्याउन माग गर्दै आएको जनाएका छन् । उनले अबको २४ घण्टाभित्रमा आफूहरूको माग सुनुवाइ नभए विधान अनुसार सङ्गठन जोगाउनका निमित्त केन्द्रीय कमिटीको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै राईले २४ घण्टाभित्रमा आफूहरूको माग सुनुवाइ नभए सङ्गठनलाई व्यवस्थित गर्दै अगाडी बढ्ने चेतावनी दिएका हुन् । सङ्घका इन्चार्ज लक्ष्मण केसीले मनोमानी गर्दै सङ्गठनलाई ध्वस्त बनाइसकेको आरोप समेत असन्तुष्ट पक्षधरको रहेको छ । 

‘इन्चार्ज कमरेडले मनोमानी ढङ्गबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन् । जसको कारण विगत ४ वर्ष अगाडी दक्षिणपन्थ अवसरवादका विरुद्ध विद्रोहको नेतृत्व गरेका युवा सङ्घ नेपालका पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीका सदस्य कमरेडहरू, जो पार्टी सङ्गठन र युवा सङ्घको काममा निरन्तर अविचलित भई खडा भइरहेको छ ।

यसरी जो कोहीको राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पुर्‍याउँदै, सङ्घको विधानको विरुद्ध ९औँ राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यता प्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गर्दछौँ,’ असन्तुष्ट पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा थप उल्लेख गरिएको छ, ‘साथै पटकौ पटक खबरदारी गर्दा समेत सङ्घको विधानको बलमिचाइ गरी रहेकोले २४ घण्टाभित्र निर्णय नसचाए, संघलाई गलत दिशाबाट जान रोक्न युवा सङ्घ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै, नसच्चाए समाजवादी आन्दोलनलाई क्रान्तिकारी रूपान्तरणका लागि सङ्गठनलाई व्यवस्थित गर्दै अगाडी बढाउने कुरा जानकारी गराउदछौंँ।’

सङ्घका असन्तुष्ट पक्षधरले पटक पटक निर्णय सच्याउन माग गर्दै आएका छन् । तर पार्टी नेतृत्वले उनीहरूको असन्तुष्टि सम्बोधन गर्नुको साटो मनोमानी गरिरहेको आरोप छ । माधव नेपालले आफू पक्षीय रोशन थापालाई संयोजक तोकेको र कमिटी समेत विस्तार गरेको भन्दै सञ्जीव राई पक्ष असन्तुष्ट बनेको छ । राई पक्षले यसअघि नै युवा सङ्घको काठमाडौँ भेला गर्दै विवाद समाधानका लागि आग्रह गरेको थियो ।  

राई निकट एक नेताका अनुसार आज २४ घण्टे अल्टिमेटमसहितको पत्र कार्यालयमा बुझाइने छ । ‘यसअघिको अपानि (अन्तर पार्टी निर्देशन) सच्याउन माग गर्दै हामी पत्र बुझाउँदछौँ,’ ती नेता भन्छन्, ‘नभए आइतबार नयाँ कमिटीको घोषणा गर्ने हो ।’ 

‘अध्यक्षबाटै असहयोग भयो । एकैचोटी समानान्तर गठन गर्दा बढी आक्रोशित भएजस्तो देखिन्छ । त्यही भएर अल्टिमेटम बुझाउने हो,’ असन्तुष्ट पक्षका नेताहरू भन्छन् । युवा सङ्घको संयोजकमा रोशन थापा छन् । उनलाई पार्टीले नियुक्ति गरेको हो । यसअघिबाटै युवा सङ्घमा विवाद चलिरहेको छ । युवा सङ्घमा समानान्तर गतिविधि बढाइरहेका राईले पनि अब गतिविधि बढाउने स्वीकार गरेका छन् । 

राई निकट मानिने युवा सङ्घका तत्कालीन उपमहासचिव निर्भीक खनाल, सचिवहरू बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जितबहादुर हमाल, खड्क आचार्य, भेषराज शाह लगायतकाले अब समानान्तर कमिटी घोषणा गर्दै अगाडी बढ्नेमा सहमत छन् ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप