शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा भ्रष्टाचारी र तस्करहरूले नै समाजवादको नारा लगाइरहेका छन् : विप्लव

‘देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चङ्गुलमा फस्यो’
शनिबार, ३१ साउन २०८२, २० : ०९
शनिबार, ३१ साउन २०८२

सारांश

  • नेकपा महासचिव विप्लवले राजनीतिक दलहरूले समाजवादको नारालाई खोक्रो बनाएको आरोप लगाए।
  • विप्लवले युवाहरूमा चरम निराशा छाएको र देश दलाल पुँजीवादको चङ्गुलमा फसेको बताए।
  • उनले देशको समस्या समाधानका लागि उत्पादनसँग जोडिएको वैज्ञानिक समाजवादको आवश्यकता औंल्याए।

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका प्रमुख राजनीतिक दलहरूले ‘समाजवाद’ को नारालाई खोक्रो बनाएको र व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको आरोप लगाएका छन् । 

उनले नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा युवाहरूमा चरम निराशा छाएको र देश दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूको चङ्गुलमा फसेको बताए ।

शनिबार वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले अहिलेको व्यवस्थाले युवाहरूको भविष्य सुरक्षित गर्न नसक्ने ठोकुवा गरे ।

‘अहिले नेपालमा समाजवाद भन्ने शब्दको यति दुरुपयोग भएको छ कि भ्रष्टाचारी, तस्कर, मान्छे बेचेर खानेहरू सबैले समाजवादकै कुरा गरिरहेका छन्,’ उनले भने– ‘समाजवाद भन्ने नेताहरू नै प्रधानमन्त्री र मन्त्री छन्, तर देश दलाल पुँजीवादको चङ्गुलमा छ ।’

विप्लवले युवाहरूको विदेश पलायनको भयावह चित्र प्रस्तुत गर्दै यो अवस्था वर्तमान राजनीतिको असफलताको उपज भएको बताए । 

‘नेपालका युवाहरू विदेश जाँदा एयरपोर्टमा नाङ्गै बनाएर बेइज्जत गरिन्छ, हाम्रा दिदी बहिनीहरूमाथि चरम शोषण हुन्छ, अरबका अस्पतालहरूमा हजारौँ नेपाली युवाका लास अलपत्र छन्,’ उनले भने, ‘यो दलाल पुँजीवादी व्यवस्थाले युवालाई देशबाट लखेटेर आफ्नो सत्ता टिकाउने काम गरिरहेको छ । यो व्यवस्थाभित्र रहेर पात्र फेर्दैमा युवाको भविष्य बन्दैन ।’

प्रमुख दलहरूमाथि गम्भीर आरोप

विप्लवले देशका सबै प्रमुख दलहरू भ्रष्टाचारको दलदलमा फसेको दाबी गरे । उनले कुनै पनि पार्टी दूधले नुहाएको नभएको भन्दै एक अर्काको पोल खोल्ने होडबाजी चलेको बताए । 

‘अहिले कस्तो अवस्था छ भने कांग्रेसभित्रको भ्रष्टाचारको कुरा अर्को कांग्रेसले नै भन्छ, एमालेका नेताहरूले एक अर्कालाई भ्रष्टाचारीको सूची सार्वजनिक गर्छन्, माओवादीभित्र कोही अरबपति भइसक्यो, कोही सडकमा छ भन्ने बहस छ,’ उनले थपे– ‘यो सबै देख्दा जनता वाक्क भएका छन् । त्यसैले पुराना पार्टी र पुराना नेता काम छैनन् भन्ने आवाज बजारमा आएको छ ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५० लाख रुपैयाँ भ्रष्टाचार हुने गरेको र त्यसमा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको सचिव स्तरका कर्मचारीले नै बताउने गरेको खुलासा गरे । उनले भने– ‘जुनसुकै मन्त्री आए पनि यहाँ सेटिङमा काम हुन्छ । यस्तो लुटतन्त्र चलेको छ । अनि देश कसरी बन्छ ?’

विकल्प के हो ?

विप्लवले राजतन्त्रको पुनर्स्थापना वा अहिलेकै व्यवस्थाभित्र अनुहार परिवर्तनले मात्रै देशको समस्या समाधान नहुने स्पष्ट पारे । उनले अबको विकल्प भनेको उत्पादनसँग जोडिएको, नेपाली विशेषताको वैज्ञानिक समाजवाद भएको बताए ।

‘हामीले कुरा मात्रै गरेका छैनौँ, गरेर देखाउन थालेका छौँ,’ उनले भने– ‘हामीले पार्टीलाई चन्दाबाट मुक्त गर्ने अभियान चलायौँ । अब हामी उत्पादनमा जोडिएका छौँ । हामीले तीन वर्षमा आत्मनिर्भर बन्ने भनेका थियौँ, दुई वर्षमै त्योभन्दा बढी प्रगति गरेका छौँ ।’

उनले आफ्नो पार्टीले अब कृषिमा मात्रै सीमित नभएर उद्योग स्थापनातर्फ पनि अघि बढ्ने योजना बनाएको जानकारी दिए ।  विप्लवले युवाहरूलाई विदेशमा अर्काको नोकर बन्न जानुको सट्टा आफ्नै देशमा पसिना बगाएर मालिक बन्न आग्रह गरे । 

‘विदेशमा गएर गाडी चढ्नुभन्दा नेपालमा कोदालोसँग रमाउनुमा गौरव छ । आफ्नो देश बनाउने युवा नै वास्तविक युवा हो,’ उनले भने– ‘हामी नेपालमै पैसा कमाउन सकिन्छ भनेर बाटो देखाउन चाहन्छौँ ।’

नयाँ कम्युनिस्ट आन्दोलनको आवश्यकता

महासचिव चन्दले अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताए ।  उनले सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबिच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण आवश्यक रहेको औँल्याए ।

‘यो कुनै पार्टीमा गएर मिल्ने वा कसैलाई खाने कुरा होइन, यो त देशको आवश्यकता हो,’ उनले थपे– ‘माओवादी आन्दोलनलाई एकताबद्ध गर्न हामी तयार छौँ । तर, अहिलेकै वरिपरि घुमेर होइन, नयाँ विचार र नयाँ आधारमा एकता आवश्यक छ ।’

उनले आगामी २०८४ को चुनावमा आफ्नो पार्टीले पैसाको बलमा नभई विचार र व्यवहारको बलमा प्रतिस्पर्धा गर्ने बताए ।  उनले समाजवाद भनेको भाषण र उपदेश नभई जीवन व्यवहारमा उतार्ने विषय भएको भन्दै आफ्नो पार्टीले त्यो गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप