शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए दक्षिण कोरियामा श्रमिक–विद्यार्थी हेल्प डेस्क उद्घाटन

आइतबार, ०१ भदौ २०८२, १६ : २०
आइतबार, ०१ भदौ २०८२

सारांश

  • दक्षिण कोरियामा गैरआवासीय नेपाली संघले श्रमिक तथा विद्यार्थीका लागि हेल्प डेस्कको उद्घाटन गरेको छ।
  • कार्यक्रममा श्रममन्त्री भण्डारी र एनआरएनएका अध्यक्ष श्रेष्ठ भर्चुअल रूपमा सहभागी थिए।
  • हेल्प डेस्कले श्रमिक र विद्यार्थीका भाषागत, कानुनी, स्वास्थ्यलगायतका समस्या समाधान गर्नेछ।

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाले श्रमिक–विद्यार्थी हेल्प डेस्कको औपचारिक उद्घाटन गरेको छ । राजधानी सउलमा आज आयोजित भौतिक तथा भर्चुअल समारोहबीच हेल्प डेस्कको सुरुवात गरिएको हो ।

गैर–आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी प्रमुख अतिथिको रूपमा भर्चुअल रूपमा सहभागी भए । विशिष्ट अतिथिका रूपमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)का अध्यक्ष महेश श्रेष्ठ भर्चुअल रूपमा सहभागी भए भने पूर्व आईसीसी अध्यक्ष एवं एनआरएनए एकता उच्चस्तरीय समितिका सदस्य विनोद कुवर विशेष अतिथिका रूपमा प्रत्यक्ष उपस्थित रहे ।

समारोहमा कोरियास्थित विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, विद्यार्थी, श्रमिक लगायत नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।

नेपालबाट कोरिया आउने श्रमिक र विद्यार्थीको संख्या तीव्र गतिमा बढिरहेका अवस्थामा उनीहरूले भोग्दै आएका भाषागत कठिनाइ, कानुनी समस्या, स्वास्थ्य जटिलता, कम्पनीभित्रको विभेद, दुर्घटना, भिसा, अध्ययन र करिअरसम्बन्धी समस्या समाधान गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको एनआरएनएले जनाएको छ । यसमार्फत श्रमिक तथा विद्यार्थीहरूले आवश्यक परामर्श तथा सहयोग तत्काल पाउनेछन् ।

कार्यक्रममा बोल्दै एनआरएनए आईसीसी अध्यक्ष श्रेष्ठले एनआरएनए दक्षिण कोरियाले सुरु गरेको यो पहल संघको वास्तविक भूमिकासँग मेल खाने भन्दै प्रशंसा व्यक्त गरे । उनले श्रम तथा परराष्ट्र मन्त्रालयसँग सहकार्यमा ‘वान डोर’ प्रणालीमार्फत सञ्चालन भएको ‘श्रम संसार’ पोर्टललाई प्रभावकारी बनाउन एनआरएनए अघि बढिरहेको जानकारी दिए । साथै, संघभित्रको विवादबारे सर्वोच्च अदालतले छिट्टै टुंगो लगाउने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि मन्त्री भण्डारीले एनआरएनए दक्षिण कोरियाले अघि सारेको पहल सरकारका लागि प्रेरणादायी रहेको बताए । श्रमिकहरूलाई एकीकृत सूचना दिन सरकारले ‘श्रम संसार’ डिजिटल पोर्टल निर्माण गरेको उल्लेख गर्दै उनले खाडी मुलुकबाट सुरु भएको कार्यक्रमलाई छिट्टै अन्य मुलुकमा समेत विस्तार गरिने जानकारी दिए ।

समापनमा सभापति गुरुङले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सेवा भावसहित हेल्प डेस्क सञ्चालनमा ल्याइएको स्पष्ट पारे । केही दिनअघि अनौपचारिक रूपमा सुरु भइसकेको हेल्प डेस्कमा अहिलेसम्म दुई दर्जनभन्दा बढी समस्या दर्ता भइसकेको र कतिपय समस्या समाधान पनि भएको उनले जानकारी दिए ।

समारोहमा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष जित कुँवरले राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव अजय सोडारीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप