बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

निर्वाचन प्रयोजनका लागि नाउपा छैन आयोगमा दर्ता, के भन्छन् रेशम ?

मङ्गलबार, ०३ भदौ २०८२, १९ : ४९
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचन आयोगमा दर्ता नभएको विषय सार्वजनिक भयो।
  • रुपन्देही-३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय भएपछि पार्टीभित्र अन्योलता देखियो।
  • पार्टी संरक्षक रेशम चौधरीले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल बैठक बोलाउन सुझाव दिए।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता नभएको तथ्य बाहिर आएको छ । उक्त जानकारी पार्टीका संरक्षक रेशम चौधरीले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

संघीय लोकतान्त्रिक मोर्चाले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । तर दल दर्ता प्रक्रिया अधुरो रहेको खुलासा भएपछि मोर्चाभित्र अन्योल बढेको छ । 

संरक्षक चौधरीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वप्रति असन्तोष प्रकट गर्दै भनेका छन्, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रीय समितिको बैठक बसाएर निर्णय बुझाइदिए भइहाल्थ्यो त । न केन्द्रीय समितिको बैठक बसाउने, न लेखापरीक्षण गराउने, न पार्टीलाई चलायमान बनाउने, अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ?’

उनले तत्कालै केन्द्रीय समिति बैठक बोलाएर आवश्यक निर्णय गर्ने र मनोनीत सदस्यलाई अद्यावधिक गराउन सुझाव पनि दिएका छन् । संरक्षक चौधरीले पार्टीभित्र देखिएका आन्तरिक असहमति र विभाजनलाई संकेत गर्दै भने,भने, ‘दुस्मनको सल्लाहमा लागेर युद्ध जितिँदैन, समस्या चर्काउने होइन, समाधान गर्ने बाटो रोजौँ ।’

रुपन्देही–३ उपनिर्वाचनलाई लक्षित गर्दै चौधरीले उम्मेदवार उठाउने तयारी भएको जानकारीसमेत दिएका छन् । उनले भने, ‘रह्यो कुरा रुपन्देहीको । हाम्रो उम्मेदवार उठ्छ, म राजनीतिक व्यक्ति हुँ । यही सातादेखि प्रचार प्रसारका खटिनका लागि रुपन्देही आउँदैछु ।’

उनले पार्टी विभाजनमा संलग्नलाई संगठनभित्र मात्र नभई समूहमै बहिष्कार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

संरक्षक चौधरी पक्षधर बहुमत केन्द्रीय सदस्यहरूको बैठकले राष्ट्रिय भेला बोलाएर पार्टीका अध्यक्ष रेशम चौधरीलाई पार्टीको अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । तर निर्वाचन आयोगले लालवीर चौधरीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ स्वतः अध्यक्ष भएकी छन् । उनी अध्यक्ष भएपछि आफू विरुद्ध पार्टीमा लागेकाहरूलाई बिस्तारै बिस्तारै कारबाही गरिरहेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप