प्रचण्डको आरोप - कांग्रेस र एमालेले संवैधानिक निकाय कब्जा गर्न लागे
सारांश
- प्रचण्डले एमाले र कांग्रेसले संवैधानिक निकाय कब्जा गर्न खोजेको आरोप लगाए।
- उनले उपसभामुखलाई हटाउने खेल असफल पारिएको र अब परास्त गर्नुपर्ने बताए।
- प्रचण्डले दसैं तिहारलगत्तै समाजवादी क्रान्तिका लागि सडक आन्दोलन गर्ने घोषणा गरे।
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संवैधानिक निकाय कब्जा गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सत्तापक्षबाट सदनभित्र ठुलो जालझेल र छलकपट भइरहेको उनको भनाइ छ । संवैधानिक परिषद्मा बहुमत पुर्याएर आफूखुसी निर्णय गर्न उपसभामुखलाई हटाउने खेल रचिएको उनले दाबी गरे ।
‘संवैधानिक परिषद्बाट सबै संवैधानिक निकाय कब्जा गर्न बिचरा एउटा महिला उपसभामुखलाई निकाल्न निकै ठुलो कसरत भयो अस्तिका दिन,’ उनले भने, ‘त्यो अहिलेलाई फेल गराइयो, तीनचोटि असफल बनाइयो ।फेरि जमर्को गरे भने अब असफल मात्र होइन, पूरै परास्त गरेर लखेट्नुपर्ने अवस्था आउँदै छ ।’
प्रचण्डले माओवादीसँग वैचारिक रूपमा सचेत कार्यकर्ताको विशाल पंक्ति रहेको भन्दै गलत बाटोबाट नहिँड्न सरकारलाई चेतावनी दिएका छन् । ‘टाउका धेरै त अरूका होलान् तर त्यो टाउकामा बुद्धि छैन । हिङ नभए पनि हिङ बाँधेको टालो माओवादी नै हो,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीभित्र गुट चलाउनेलाई छुट नदिने चेतावनी पनि दिए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटको राजनीति गर्नेहरूलाई स्थायी समितिको सर्कुलरअनुसार चल्न निर्देशन दिए । ‘सबै नेता साथीहरूलाई पनि निर्देशन हो यो ।
गुटको पछि लाएर आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोला,’ उनले भने, ‘गुटले केही पनि गर्दैन । स्थायी समितिको तपाईंहरूले सर्कुलर हेर्नुभयो होला । गुटको मिटिङ गर्ने, पार्टीको नीति, निर्णय, नेतृत्वविरुद्ध सार्वजनिक रूपले गालीगलौज गर्नेलाई बर्दास्त गर्न सकिँदैन ।’
गुटबन्दी गर्नेलाई आफ्नो खुट्टामा बञ्चरो नहान्न पनि उनले सुझाएका छन् । ‘हामीसँगै लडेका, हामीसँगै हिँडेका साथीहरू फुटेर गइहालून् भन्ने चाहना हामीलाई छैन,’ चेतवानीपूर्ण भाषामा उनले भने, ‘सकेसम्म तिनीहरूले कुरा बुझून् । तिनीहरूले गुटबन्दी नगरून् ।’
उनले सडक आन्दोलनबाटै दलाल र बिचौलियातन्त्रलाई परास्त गर्ने बताएका छन् । उनले दसैं तिहारलगत्तै समाजवादी क्रान्तिको तयारीस्वरूप बृहत् सडक आन्दोलन गर्ने उद्घोष पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण