बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

शिक्षा विधेयक संसद्‍मा, शिक्षक र सञ्चालक आन्दोलनमा

शुक्रबार, ०६ भदौ २०८२, १९ : ४२
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • विद्यालय शिक्षा विधेयक संसदीय समिति हुँदै प्रतिनिधि सभामा पेस भएको छ ।
  • विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ, र निजी विद्यालय सञ्चालकहरूले पनि विरोध जनाएका छन्।
  • विधेयकमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र छात्रवृत्तिसम्बन्धी प्रावधानको विरोध गरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । लामो रस्साकस्सी र विवादका बिच विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समिति हुँदै प्रतिनिधि सभामा पुगेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले उक्त विधेयकको प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको दाबी गरे । समितिले बिहीबारको बैठकबाट उक्त विधेयक पास गरेको थियो । तर समितिमा पारित विधेयकप्रति प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र राप्रपाले फरक मत राखेका थिए । समिति सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे ।

तर समितिमा माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था, रास्वपाले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्थालगायतमा फरक मत दर्ज गरेसँगै उक्त विधेयकमा विवाद कायमै रहेको बुझ्न सकिन्छ ।

संसद्मा विधेयक पेस भएकै दिन विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आन्दोलनका कार्यक्रम घोषणा गर्न पुगेको छ ।

महासङ्घले सरकार र शिक्षकहरूबिच भएको पूर्वसहमति बमोजिम शिक्षा क्षेत्रका समस्या समाधान गर्ने गरी विधेयक नआएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार अव हुने आन्दोलन विगतको भन्दा कडा र सशक्त हुनेछ । शिक्षकहरूले यसअघि गत चैत १५ देखि २९ दिनसम्म निरन्तर आन्दोलन गरेका थिए ।

भदौ ९ बाट महासङ्घले पहिलो चरणमा स्थानीय तह, राजनीतिक दल, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई आफ्ना मागहरू जानकारी गराउने, ध्यानाकर्षण दिने र त्यसपछि पनि मागहरू पूरा नभए भदौ २१ गतेदेखि निषेधात्मक र निर्णायक आन्दोलन गर्ने चेतावनी नै दिएको छ । विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले समेत आन्दोलित भैसकेको छन् । उनीहरूले भदौ ५ बाटै आन्दोलन थालेका हुन् ।

निजी विद्यालय सञ्चालक संस्था प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र १०–१५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानको विरोध गरेका हुन् । विरोधमा उनीहरूले बिहीबार माइतीघर मण्डला र शुक्रबार चक्रपथमा स्कुल बस रोकेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउन, छात्रवृत्तिमा पोसाक, स्टेसनरी र खाजा समावेश गर्न र छात्रवृत्तिको अधिकार स्थानीय तहबाट विद्यालयलाई दिन माग गरेका छन् ।

आफ्ना माग सम्बोधन नभए भदौ ८ बाट निर्णायक आन्दोलन गर्ने तयारीमा निजी विद्यालय सञ्चालकहरू रहेका छन् । विधेयकमा समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र २.५ प्रतिशतले विद्यार्थीलाई आवास सुविधा दिने प्रस्तावमा सहमति जुटाएको थियो ।

  • के छ समितिले पारित गरेको प्रतिवेदनमा ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप