बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाली फुटबल

लिग गर्ने सोचमा छैन एन्फा, विदेश पलायन हुन बाध्य छन् खेलाडी

शुक्रबार, ०६ भदौ २०८२, १९ : ००
शुक्रबार, ०६ भदौ २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । पछिल्लो समय नेपाली घरेलु फुटबल प्रतियोगिताको अवस्था शून्यजस्तै छ । ‘ए’ डिभिजन लिग नभएको पनि ८०० दिन पुगिसक्यो । 

दशरथ रंगशालामा अहिले नेपाली घरेलु फुटबलभन्दा विद्यालयस्तरका खेल हुँदै आइरहेका छन् । देशको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) घरेलु फुटबलको मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिगसमेत समयमा आयोजना गर्न नसकेर निरीह बनेको छ ।

यस्तो अवस्थामा प्रश्न उठ्न थालेको छ– आखिर किन नेपाली फुटबल यो कहालीलाग्दो अवस्थामा पुग्यो ? किन एन्फा एउटा व्यवस्थित क्यालेन्डरसहित घरेलु प्रतियोगिता सञ्चालन गर्न बारम्बार चुकिरहेको छ ?

नेतृत्वको किचलो र दूरदर्शिताको अभाव

नेपाली फुटबलको सबैभन्दा ठुलो र पुरानो रोग एन्फाभित्रको राजनीति हो । नेतृत्वमा पुग्नका लागि हुने अस्वस्थ प्रतिस्पर्धा र चुनाव जितेपछि देखिने प्रतिशोधको राजनीतिले संस्थालाई सधैँ कमजोर बनाएको छ । वर्तमान कार्यसमिति पनि यसबाट अछुतो छैन ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र कार्यसमितिका अन्य पदाधिकारीहरूबिचको मतभेद बारम्बार सतहमा पोखिने गरेको छ । महत्त्वपूर्ण निर्णयहरूमा कार्यसमिति विभाजित हुँदा लिग सञ्चालनजस्ता आधारभूत काम पनि प्रभावित भएका छन् ।

एन्फाका कार्यसमिति सदस्य रुपेश अधिकारीले भने, ‘एन्फामा फुटबल विकासको एजेन्डाभन्दा पनि व्यक्तिगत स्वार्थ र गुटबन्दी हाबी छ । जबसम्म एउटा स्पष्ट भिजन र एकजुट नेतृत्व हुँदैन, तबसम्म घरेलु फुटबलले गति लिन असम्भव छ । यहाँ योजना बनाउनेभन्दा एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिले जरो गाडेको छ ।’

नेतृत्वमा दूरदर्शिताको अभाव प्रष्ट देखिन्छ । पाँचवर्षे वा दशवर्षे योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नुको सट्टा हरेक वर्ष लिग कहिले गर्ने भनेर अन्तिम समयमा छलफल सुरु हुन्छ ।

आर्थिक समस्या र प्रायोजकको अविश्वास

घरेलु फुटबल सञ्चालन गर्न नसक्नुको प्रमुख कारण आर्थिक विषय मिलाउन नसक्नु पनि हो । एन्फासँग ‘ए’ डिभिजन लिगका लागि करोडौँ रुपैयाँ आवश्यक हुन्छ भने स्पोन्सरबाट भरपर्दो सहयोग नआएसम्म लिग गर्ने योजनामा अहिले एन्फा छैन ।

विगतमा कतार एयरवेज जस्ता ठुला प्रायोजक पाएको एन्फाले अहिले उनीहरूको विश्वास जित्न सकेको छैन । प्रयोजन गर्ने संस्थाहरू एन्फाको अपारदर्शी आर्थिक गतिविधि र अस्थिर क्यालेन्डरका कारण लगानी गर्न हिच्किचाउँछन् । 

‘ए’ डिभिजन क्लबहरू पनि एन्फाले तयारी खर्च नदिएसम्म लिगमा सहभागिता जनाउने सोचमा छैनन् । उनीहरूले लिग खेल्न तयारी खर्चबापत एन्फासँग ठुलो रकम माग गर्दै आएका छन्, जुन एन्फाले उपलब्ध गराउन सकेको छैन ।

क्लबहरूको आफ्नै दिगो आर्थिक मोडेल नहुनु पनि एक समस्या हो । टिकट बिक्री, जर्सी बिक्री वा अन्य व्यापारिक गतिविधिबाट आम्दानी गर्नुको सट्टा अधिकांश क्लब पदाधिकारीको व्यक्तिगत लगानी वा सानोतिनो प्रायोजनमा निर्भर छन्, जुन दिगो हुँदैन ।

अस्तव्यस्त क्यालेन्डर र संरचनागत कमजोरी

नेपाली फुटबलको अर्को ठुलो समस्या ‘फुटबल क्यालेन्डर’को अभाव हो । कुन महिनामा कुन प्रतियोगिता हुन्छ भन्ने निश्चित नहुँदा खेलाडी, प्रशिक्षक, क्लब र प्रायोजक सबै अलमलमा पर्छन् । ‘ए’ डिभिजन लिग कहिले सुरु हुन्छ, कहिले सकिन्छ भन्ने टुङ्गो हुँदैन । मोफसलका गोल्डकपहरू र फ्रेन्चाइज लिग (एनएसएल) सँग यसको समय मिलाउन एन्फा पूर्ण रूपमा असफल भएको छ ।

केही वर्षअघि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) र ‘ए’ डिभिजन क्लबहरूबिचको विवादलाई व्यवस्थापन गर्न नसक्नु एन्फाको ठुलो कमजोरी थियो । उक्त समय ‘ए’ डिभिजन लिग क्लबहरूले आफ्नो खेलाडी एनएसएलका लागि रिलिज गर्न मानेका थिएनन् ।

खेलाडी पलायनको भयावह अवस्था

जब मैदानमा फुटबल हुँदैन, खेलाडीले के गर्ने ? यही प्रश्नको उत्तर खोज्दै आज सयौँको संख्यामा प्रतिभावान् नेपाली खेलाडी विदेश पलायन भइरहेका छन् । लिग नहुँदा उनीहरूको आम्दानीको स्रोत बन्द हुन्छ र भविष्य अनिश्चित देखिन्छ । राष्ट्रिय टोलीका कप्तानदेखि उदयीमान युवा खेलाडीसम्मले राम्रो भविष्यको खोजीमा अस्ट्रेलिया, युरोप वा अन्य देशका लिगहरूलाई मुख्य स्थान दिएका छन् ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, ‘खेलाडी विदेशी लिग खेल्न जानु आफैँमा नराम्रो कुरा होइन, तर लामो समयसम्म लिग नभएर खेलाडीले विदेशी लिगमा अनुबन्ध हनु बाध्य हुनु नराम्रो कुरा हो,’ उनले भने ।
खेलाडी पलायनले राष्ट्रिय टोलीलाई निकै कमजोर बनाएको छ । नेपालले छिट्टै बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । यसमा पनि खेलाडी पलायनको नकारात्मक प्रभाव देखिने छ ।

मोफसलमा पनि फुटबल गतिविधि ठप्प

एन्फाले घरेलु फुटबलको जग बलियो बनाउनेतर्फ कहिल्यै गम्भीरता देखाएन । ‘ए’ डिभिजन लिगका खेलहरू काठमाडौँको एउटै दशरथ रंगशालामा सीमित छन् । मोफसलमा केही राम्रा रंगशाला भए पनि तिनीहरूको स्तरोन्नति र प्रयोगमा एन्फाले चासो दिएको छैन ।

त्यस्तै, एन्फा एकेडेमीहरू वर्षौंदेखि बन्द छन् । जिल्ला र प्रदेशस्तरमा लिग नियमित छैनन् । ग्रासरुट फुटबल र युवा विकासका कार्यक्रमहरू केवल कागजमा सीमित छन् । जबसम्म फुटबलको नर्सरी मानिने तल्लो तहका संरचनाहरू बलियो हुँदैनन्, तबसम्म राष्ट्रिय स्तरको फुटबल दिगो र व्यावसायिक बन्न सक्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप