मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भोपालकी वकिल ‘हराएको’ रहस्य खुल्यो, विवाहको दबाबबाट बच्न नेपालसम्म आइपुगिन्

शनिबार, ०७ भदौ २०८२, १६ : ५८
शनिबार, ०७ भदौ २०८२

सारांश

  • भोपालकी वकिल अर्चना तिवारी विवाहको दबाबबाट बच्न योजनाबद्ध रूपमा हराएको नाटक गरि काठमाडौं पुगेकी थिइन्।
  • प्रहरी अनुसन्धानबाट उनले परिवारको विवाहको दबाब थेग्न नसकेर यस्तो योजना बनाएको खुलासा भएको छ।
  • उनलाई प्रहरीले काठमाडौंबाट फेला पारेर दिल्ली हुँदै भोपाल फर्काएको छ।

काठमाडौँ । भारतको भोपालकी वकिल अर्चना तिवारीको हराएको भनिएको घटनाको रहस्य खुलेको छ । प्रहरीले गरेको विस्तृत अनुसन्धानपछि २९ वर्षीया अर्चनाले आफ्नै परिवारको विवाह गर्ने दबाबबाट बच्न योजनाबद्ध रूपमा हराएको नाटक गरेको खुलासा भएको हो ।

इन्दौरमा वकालत गर्दै नागरिक न्यायाधीश परीक्षाको तयारी गरिरहेकी अर्चनालाई बुधबार बिहान प्रहरीले काठमाडौंमा भेटी ल्याएको हो । त्यसपछि उनी दिल्ली हुँदै भोपाल फर्किएकी छन् ।

जीआरपीका एसपी राहुल कुमार लोढाका अनुसार अर्चनाको परिवारले उनलाई पढाइ छोडेर राजस्व अधिकृतसँग विवाह गर्न दबाब दिइरहेको थियो । ‘उनलाई न्यायाधीश बन्ने इच्छा थियो, तर परिवारले पढाइ छोडेर विवाह गर्न दबाब दियो । यही कारण उनले नयाँ जीवन सुरु गर्ने र आफ्ना सपना पछ्याउने योजना बनाइन्,’ लोढाले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।

परिवारले विवाहका लागि बारम्बार प्रस्ताव ल्याउँदा अर्चनाले अस्वीकार गर्दै आएकी थिइन् । अन्ततः पटवारीसँग विवाह तय भएपछि ठूलो विवाद भएको र त्यही तनावकै बिच अर्चनाले घर छोड्ने योजना बनाएको बताइएको छ ।

यो अवधिमा उनी इन्दौरकै २४ वर्षीय युवकसँग नजिक भएकी थिइन्, जसले ड्रोन कम्पनी सुरु गर्ने सपना देखेका थिए । प्रहरीले बताएअनुसार, यही युवक र उसको ड्राइभरसँग मिलेर उनले भाग्ने योजना बनाइन् ।

५ अगस्टमा अर्चनाले सामानसहित नर्मदा एक्सप्रेस ट्रेन चढिन् । केही घण्टापछि कटनी दक्षिण स्टेशनमा उनको परिवार पर्खिरहेका बेला केवल उनको झोलामात्र भेटियो । नर्मदापुरममा भने उनको साथी एसयूभीसहित पर्खिरहेका थिए । उनले फोन र स्मार्टवाच ड्राइभरलाई दिइन्, जसले ती वस्तुहरू जंगलमा फ्याँकिदिए । त्यसपछि प्रहरीले दिनौँसम्म उनलाई रेलबाट खसेको आशंकामा खोजी गरेको थियो ।

त्यसपछि उनीहरू बुरहानपुर, जोधपुर, दिल्ली हुँदै काठमाडौं पुगेका थिए । उनका साथी भने फोन बन्द गरेर इन्दौरमै भएको जस्तो देखाउने प्रयासमा थिए । तर दिल्लीमा ड्राइभर पक्राउ परेपछि योजनाको भण्डाफोर भएको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई सोधपुछपछि प्रहरीले अर्चनासँग सम्पर्क स्थापित गरेको थियो । अन्ततः उनी काठमाडौँबाट दिल्ली हुँदै भोपाल फर्किएकी हुन् ।

हालसम्म यस प्रकरणमा कुनै आपराधिक मुद्दा दर्ता गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप