पश्चिम नेपालका थारु समुदायमा ‘अटवारी पर्व’को रौनक
सारांश
- अटवारी पर्व थारु समुदायमा आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रूपमा मनाइन्छ।
- यो पर्व श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार मनाइन्छ, जसमा स्थानीय परिकारहरू बनाइन्छ र व्रत बस्ने चलन छ।
- यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउन र भीमसेनको कथासँग जोडिएको छ।
धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा ‘अटवारी पर्व’को रौनक छाएको छ। आपसी सद्भाव एकता र सम्बन्ध सुदृढ पार्ने यस पर्वको तयारी स्वरूप थारु गाउँ तथा बस्तीमा चहलपहल बढेको छ।
श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार मनाइने यो पर्वका लागि स्थानीयहरू अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरी जस्ता स्थानीय परिकार बनाउन आवश्यक खाद्यान्नको जोहो गर्न जुटेका छन्।
आज यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भएको छ। धनगढी उपमहानगरपालिका–१६ भादाका थारु अगुवा लक्ष्मी चौधरीले भने। उनका अनुसार पूजाआराधना तथा ‘अग्रासन’ (कोसेली) राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने कामहरू भइरहेका छन्।
पर्वको व्यवस्थापनका लागि परिवारका सदस्यहरू जम्मा भएर कामको बाँडफाँड गर्न सामूहिक छलफलमा व्यस्त छन्। पर्वमा दर खानका लागि शनिबार दिनभरि माछा मार्ने र विभिन्न तरकारी तथा सरसामानको जोहो गर्ने काम भएको छ।
दुई दिनसम्म मनाइने अटवारी पर्वको अघिल्लो दिन, अर्थात् शनिबार राति व्रतालुहरूले दर खाने चलन छ। पर्वको पहिलो दिन, आइतबार, व्रतालु पुरुषहरू पानीसमेत नखाई निराहार व्रत बस्छन्। मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने चलन रहेको छ।
पूजापछि घरमा तयार पारिएका खानाका परिकार तथा फलफूलबाट एक भाग घरका विवाहित छोरी–चेलीलाई छुट्याएपछि मात्र व्रतालुले खाने गर्दछन्। यस पर्वमा विशेषगरी अनदीको चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछा लगायतका खानेकुरा र फलफूल खाने परम्परा छ।
पर्वको दोस्रो दिन, सोमबार, बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्छन्। गुइँठाको आगो बाली घिउ र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा रहेको स्थानीयहरू बताउँछन्। धार्मिक विधि सकिएपछि अनदीको चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरी लगायतका मिठा परिकारहरू खाने गरिन्छ। तयार गरिएका परिकारमध्येबाट एक भाग आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि पहिले नै छुट्याइन्छ र त्यसपछि मात्र व्रतालुले भोजन ग्रहण गर्छन्। यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास गरिन्छ।
अटवारी पर्व थारु राजा दङ्गीशरण र महाभारतका पात्र भीमसेनको सम्बन्धसँग जोडिएको छ। पौराणिक कथाअनुसार, कुनै समय थारु राजा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गर्दा सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजालाई सहयोग गरेका थिए। भोकैप्यासै लडेर भीमले राजा दङ्गीशरणलाई विजय दिलाएको दिनको सम्झनामा भीम र सूर्यदेवको उपासना गर्दै यो पर्व मनाउने चलन चलेको थारु अगुवाहरुको बताउँछन्।
देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, र दाङ लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले विवाहित छोरीलाई उपहार दिएर सम्बन्धलाई थप प्रगाढ बनाउँदै यो पर्व धूमधामसँग मनाउने गर्छन्। यो पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेशका थारु बाहुल्य जिल्लाहरूमा सार्वजनिक बिदा दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण