बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कूटनीति

नेपाल-भियतनाम सम्बन्धको ५० वर्ष : कृषि र पर्यटनमा संयुक्त लगानीको थुप्रै सम्भावना

आइतबार, ०८ भदौ २०८२, १५ : ००
आइतबार, ०८ भदौ २०८२

सारांश

  • नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ, र यस अवसरमा भियतनामका उपराष्ट्रपति नेपाल आएकी छिन्।
  • उपराष्ट्रपति सुआन र नेपाली अधिकारीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगका सम्भावनाबारे छलफल भएको छ।
  • भ्रमणका क्रममा दुई देशबीच कूटनीतिक र सरकारी राहदानीवाहकलाई छुट दिने तथा लगानी सम्बन्धी सम्झौता हुने सम्भावना छ।

काठमाडौँ । नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । सन् १९७५ मे १५ मा दुई देशबिच औपचारिक सम्बन्ध स्थापना भएको थियो ।

कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउन भियतनामका उपराष्ट्रपति भो थिन आन सुआन नेपाल आएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी शनिबार नेपाल आइपुगेकी हुन् । 

शनिबारै भियतनामी उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबिच भेटवार्ता भयो । आइतबार बिहान उपराष्ट्रपति यादव र भियतनामी समकक्षी सुआनबिच भेटवार्ता भएको छ । उक्त अवसरमा नेपाल र भियतनामबिच अत्यन्तै राम्रो कूटनीतिक सम्बन्ध रहेको र आगामी दिनमा अझै बलियो बनाउने विषयमा कुराकानी भएको उपराष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

उपराष्ट्रपति सुआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

दुई देशबिच औपचारिक सम्बन्ध स्थापना भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो । यसअघि सन् २०१९ प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको भ्रमण गरेका थिए । 

उपराष्ट्रपति सुआनको यो भ्रमणको क्रममा दुई देशबिचका कूटनीतिक र सरकारी राहदानीवाहकलाई छुट दिने तथा अन्य लगानीको विषयमा सम्झौता हुने बताइएको छ । 

सन् २०१९ मा प्रधानमन्त्री ओलीले भ्रमणमा गएको बेला कूटनीतिक र सरकारी राहदानीवाहकलाई छुट दिने विषयमा समझदारी भएको थियो । यो विषयमा सम्भवतः आइतबार नै सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । 

भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओलीले भियतनामसँग संयुक्त लगानी गर्ने प्रशस्त सम्भावना रहेको र त्यसका लागि नेपाल सरकारले वातावरण बनाउनुपर्ने बताए । यो भ्रमणमा कृषि, पर्यटन, कनेक्टभिटीलगायतका विषयमा दुई देशबिचमा कुराकानी हुने उनले बताए । 

परराष्ट्रमन्त्री राणाले उपराष्ट्रपति सुआनसँगको भेटमा भियतनामबाट नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा सिधा उडानका लागि आग्रह गरेकी थिइन् । त्यस विषयमा समझदारी हुने सम्भावना रहेको जनाइएको छ । बौद्ध धर्मावलम्बी बाहुल्य भियतनामले बौद्ध पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विश्वास रहेको राजदूत ओलीले बताए । 

भियतनामी उपराष्ट्रमन्त्री सुआनको भ्रमणले दुई देशबिच कूटनीतिक सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गर्दै उनले चाँडै अर्को उच्चस्तरीय भ्रमण हुने जानकारी दिए । 

कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षको उपलक्ष्यमा भियतनामको राजधानी हनोइस्थित  नेपाली राजदूतावासले कार्यक्रम गर्ने तयारी गरेको छ । 

नेपाल र भारतका लागि भियतनामी राजदूत गुएन थाइ हाइले भियतनाम र नेपालबिच सांस्कृतिक समानता रहेको बताए । भियतनामको एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले नेपाली जनताले एकबद्ध भएर राष्ट्रिय स्वतन्त्रता र एकीकरणको उद्देश्यका लागि भियतनामलाई साथ दिएको भन्दै प्रशंसा गरेका छन् । 

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबिच सहयोग आदानप्रदानमा निकै प्रगति भएको उनको भनाइ छ । दुई देशले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा एकअर्कासँग समन्वय र सहयोग गरिरहेको नि राजदूत हाइले बताएका छन् । 

द्विपक्षीय व्यापार प्रतिवर्ष १० करोड अमेरिकी डलरभन्दा कम भए पनि नेपाली बजारमा विशेषगरी भियतनामी उत्पादन, जलीय उत्पादन, खाद्य, औद्योगिक र उपभोग्य वस्तुहरू उपलब्ध छन् । नेपाली कपडा र हस्तकला भियतनाममा निर्यात हुँदै आएको छ । 

दुई देशले जलविद्युत क्षेत्रमा पनि लगानी गर्न सहकार्य गरेको उल्लेख गर्दै उनले सोङ दा ग्रुपले सेती नदीमा तनहुँ जलविद्युत बाँध निर्माण गर्न नेपालको कालीका ग्रुपसँग संयुक्त लगानी गरेको जानकारी दिए । 

भियतनामी पर्यटकहरूको आगमन नेपालमा बढ्दो छ । भियतनाम–नेपाल मैत्री संघ र नेपाल शान्ति तथा एकता परिषद्लगायत संघसंस्थाले दुई देशबिचको सम्बन्ध बलियो बनाउन भूमिका खेलिरहेको पनि राजदूत हाइले बताए । नेपालमा २५० जना हाराहारीमा रहेको भियतनामी समुदायले भियतनामी संस्कृति र खानाको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको छ । 

पर्यटक आगमन बढ्दै जाँदा भियतनाम र नेपालबिच सिधा हवाई उडानको महसुस भएको छ । सिधा हवाई उडान भए पर्यटकीय गतिविधि बढ्नुका साथै व्यवसाय र उद्यशीलतामा पनि फाइदा पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप