डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा, संरक्षण नभए मिथिला सभ्यतामै क्षति
सारांश
- जनकपुरधाममा डोम समुदायको पुर्ख्यौली पेसा संकटमा परेको छ, जसलाई बजारको उचित मूल्य नमिलेको र प्लास्टिकका सामानको प्रतिस्पर्धाले असर गरेको छ।
- डोम समुदायका महिलाहरूले बाँसका सामग्री बनाउने गर्छन्, तर बजारमा प्लास्टिकका सामानको बढ्दो प्रयोग र अन्य समुदायको प्रतिस्पर्धाका कारण उनीहरू विस्थापित हुने अवस्थामा छन्।
- डोम समुदायका नेताहरूले सरकार र स्थानीय तहसँग सहयोगको आग्रह गरेका छन्, जसमा तालिम, प्रविधि, बजार व्यवस्थापन र हस्तकलाको रूपमा प्रवर्द्धन गर्नुपर्ने कुराहरू समावेश छन्।
जनकपुरधाम । मधेसको मौलिक संस्कृति र सभ्यताको अभिन्न हिस्सा मानिएको डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । बाँसका सामग्री उत्पादन गर्ने उनीहरूको सिप र परिश्रमलाई बजारले उचित मूल्य नदिँदा परम्परागत पेसा बिस्तारै हराउने खतरा बढेको छ ।
डोम समुदायका महिला घरमा बसीबसी बाँसका विभिन्न सामग्री बनाउँछन् । बाँस छिल्ने, चोया बनाउने, धागो बाँध्ने, सजावटका लागि चोयालाई रङ्गीन बनाउनेजस्ता काम सकेर घण्टौँको मेहनतपछि एउटा सामान तयार हुन्छ । तर प्लास्टिकका सामानले बाँसका सामानको बजार खोस्न थालेको छ भने अन्य जात समुदायले समेत बाँसबाट बनाउने सामग्री उत्पादन गर्न थालेपछि आफूहरू यो पेसाबाटै विस्थापित हुने खतरामा रहेको डोम समुदायका अगुवा बताउँछन् ।
_8JcafnjOHQ.jpg)
जनकपुरधाम–२४ की शिलादेवी मल्लीकका अनुसार अचेल बाँस पाउन कठिन छ । टाढाबाट बाँस ल्याएर सामान बनाउनुपर्दा लागत बढ्ने उनको भनाइ छ । ‘घण्टौँ मेहनत गरेर नाङ्लो बनाइएको हुन्छ तर बजारमा प्लास्टिकको लाङ्लो सस्तो र आकर्षक देखेपछि मानिसहरू बाँसको नाङ्लो किन्न मान्दैनन्,’ उनले भनिन्, ‘किनकि बाँसको सामानभन्दा प्लास्टिकको सामान सस्तो पर्छ ।’
पहिला गाउँघरमा विवाह, ब्रतबन्ध, मुंडन, छठ, दीपावली लगायतका पर्वका लागि डोम समुदायकै घरमा पुगेर विभिन्न सामान बनायन अर्डर दिने गरिन्थ्यो । अहिले बजारमा आकर्षक डिजाइनसहित विभिन्न प्रकारका सामान पाइन थालेपछि बाँसका सामग्रीको प्रयोग घट्दै गएको फुलोदेवी मल्लीकको भनाइ छ । उनले भनिन्, ‘पहिले बाँसको सामान बनाइदिन हाम्रो घरमै माग आउँथ्यो । अहिले बजारबाट प्लास्टिकका सामान किनेर लैजान्छन् ।’
डोम समुदायले बाँसबाट बनाउने सामान दसैँ, दीपावली, छठ, तीज, चौरचन जस्ता पर्वमा बढी माग हुने गर्छ । कन्यादानका बेला नाङ्लो, छठमा टोकरी–नाङ्लो, दसैँमा टीका राख्ने भाँडा जस्ता सामग्री उनीहरूको सिपसँग गाँसिएका छन् । यस्तै पर्वका लागि चाहिने सामान बेचेर वर्षभरि गुजारा गर्ने डोम समुदाय पुर्ख्यौली पेसाबाट अब गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।
स्थानीय रामप्रवेश मलिक बाँसका सामग्री बनाउने पेसा परम्परागत रूपमा डोम समुदायकै रहे पनि अहिले अन्य जातजातिले समेत यो पेसा अँगालेका छन्, जसका कारण डोम समुदायले आफ्नो पेसा अतिक्रमित भएको महसुस गरेका छन् । उनले भने, ‘हिन्दु धर्मावलम्बीका विभिन्न चाडपर्व हामीले उत्पादन गरेको सामान बेच्ने मुख्य सिजन हो तर अन्यत्रबाट सस्तो मूल्यमा समान ल्याएर बजारमा बिक्री गर्नेहरूले हाम्रो आम्दानीमाथि मात्र होइन, जीवनयापनको आधारमाथि पनि हमला गरेका छन् ।’
मलिकका अनुसार डोम समुदायले गर्मी महिनाका लागि बाँसका पङ्खा बनाएर बेच्दै आएका थिए । अहिले बजारमा प्लास्टिकका पङ्खासमेत आउन थालेका छन् । यस अतिरिक्त अन्य जातजातिले समेत व्यावसायिक रूपमा यस्ता पङ्खा बनाएर बेच्न थालेपछि डोम समुदायले काम पाउन छाडेको उनको गुनासो छ ।
संस्कृतिविद् विजय दत्तले भने, ‘डोम समुदायको सिप हराउनु भनेको मिथिला सभ्यताको एउटा अध्याय बन्द हुनु हो ।’

डोम समुदायका नेता फेकु मलिकले सरकार र स्थानीय तहसँग सहयोगका लागि बारम्बार आग्रह गर्दै आएका छन् । उनका अनुसार बाँस उद्योगलाई सहकारी वा समूहगत रूपमा सञ्चालन गर्नुपर्छ र त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता छ । उत्पादनलाई पर्यटनसँग जोडेर मिथिला हस्तकलाको रूपमा प्रवर्द्धन गर्नुपर्ने बताउँदै उनले मेला–पर्वमा स्थानीय डोम समुदायका सामग्रीलाई स्थानीय तहले प्राथमिकतासहित विक्री वितरणको नीतिगत व्यवस्था गरेमा उनीहरूको जीवनस्तर माथि उकास्न टेवा पुग्ने मलिक बताउँछन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले डोम समुदायले उठान गरेका माग जायज रहेको बताए । उनले स्थानीय तहबाट तालिमको व्यवस्था गरिए पनि लक्षित वर्गले तालिमको वास्तविक लाभ लिन नसकेको प्रस्ट पारे । ‘तालिमको व्यवस्था गरिएको हो, तर लक्षित वर्गले तालिम प्राप्त नगरी भत्तामै तालिम सकिने गरेको छ,’ मेयर साहले भने ।
यस विषयमा संघ र प्रदेश दुवै सरकारले गम्भीर पहल गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार जनकपुरधाम पर्यटन क्षेत्रका लागि उर्वर भूमि भए पनि प्रदेश सरकारले त्यसलाई नारामै सीमित राखेको छ । उनले डोम समुदायले उत्पादन गरेका वस्तुलाई हस्तकलाको रूपमा प्रवर्द्धन गर्न प्रदेश सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
यता, मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुमार कुशवाहाले जनकपुरधामलाई पर्यटनको केन्द्रका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘डोम समुदायले उत्पादन गरेका सामग्रीलाई समेत पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने दिशामा सरकारले पहल गरिरहेको छ ।’

समाजशास्त्री डा. सुरेन्द्र लाभ डोम समुदायको पुर्ख्यौली पेसा केवल जीविकोपार्जनको साधन मात्र नभएर मिथिला–मधेस सभ्यताको आत्मा रहेको बताउँछन् । धार्मिक आस्था, सामाजिक महत्त्व र परम्परागत सिपसँग गाँसिएको यो पेसा संरक्षण भएन भने केही दशकमै हराउने उनको चिन्ता छ । यसले केवल एक समुदायलाई मात्र नभएर सम्पूर्ण मिथिला समाजलाई क्षति हुने उनले बताए ।
जनकपुरधाममा विभिन्न वडामा गरी करिब दुई सय घरपरिवार डोम समुदाय बसोबास गर्दै आएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ पुलचौक, वडा–४ पुरानो वसपार्क, वडा–६ जानकी मन्दिर पछाडि, वडा–१३ कुवा, वडा–१४ मुजेलीया र वडा–२४ सोनापारा लगायतका क्षेत्रमा उनीहरूको बस्ती छ । तर यी समुदाय अझै पनि भूमि अधिकारविहीन छन् । स्थायी बसोबासका लागि एक धुर जमिनसमेत आफ्नै नाममा छैन । धेरैजसोले गुठीको जग्गा भाडामा लिएर वा घर भाडा तिरेर बसोबास गर्दै आएका छन् ।
डोम समुदाय परम्परागत रूपमा बाँसका सामग्री उत्पादनमा निर्भर रहँदै आएको भए पनि शिक्षामा पहुँच निकै कम छ । शिक्षाको कमीका कारण वैकल्पिक रोजगारी पाउने अवसर सीमित छ । न त आफ्नै जमिन छ, न त दिगो आम्दानीको स्रोत । डोम समुदायको सिप केवल आम्दानीको साधन मात्र होइन, मिथिला सभ्यताको मौलिकता पनि हो । जमिनको अधिकार, शिक्षा र उचित बजार अभावले उनीहरूको सिप र पहिचान दुवै सङ्कटमा पर्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण