संशोधनअनुरूप घटना दर्ता विवरण सच्याउन अझै केही समय कुर्नुपर्ने
सारांश
- सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा विवरण सच्याउन पाइने व्यवस्था गरेको छ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नियमावली मस्यौदा मन्त्रालयमा पठाए पनि कार्यान्वयनमा ढिलाइ हुने भएको छ।
- संशोधनले अब जो सुकैले पनि एक पटक विवरण सच्याउन पाउनेछन्, जसका लागि वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
काठमाडौँ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने व्यवस्था गरेको छ । त्यो संशोधन गत साउन ४ गतेको राजपत्रमा समेत प्रकाशित भएको छ ।
तर, त्यसको कार्यान्वयन भने सुरु हुन अझै केही समय लाग्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधन गरी गरिएको व्यवस्था समेटेर सच्याउन मिल्ने व्यवस्था गर्न नियमावलीको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाए पनि मन्त्रालयबाट निर्णय नहुँदा ढिला हुने भएको हो ।
विभागका सूचना अधिकारी मुकेशकुमार केशरीले ऐनमा भएको संशोधनलाई कार्यान्वयन गर्न नियमावलीको मस्यौदा गरी विभागले मन्त्रालयमा एक साता पहिला नै पठाएको बताए । तर, निर्णय भई फिर्ता नआएकाले संशोधन अनुरूपको परिपत्र नभएको जानकारी दिए ।
‘हामीले संशोधन अनुरूप कागजात सच्याउन नियमावलीको मस्यौदा तयार गरी मन्त्रालयमा पठाएका छौँ । पठाएको एक साता भयो,’ सूचना अधिकारी उपसचिव केशरीले भने– ‘निर्णय भएर आएपछि मातहतका निकायमा परिपत्र हुन्छ । केही समय लाग्ने देखियो ।’
संशोधनमा अब व्यक्तिगत घटना दर्तामा एक पटकलाई विवरण सच्याउन पाइने र त्यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात् वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
ऐनको दफा २५ को उपदफा १ मा ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागि सम्बन्धित व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक वर्षभित्र मात्रै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन पाउने व्यवस्था थियो ।
त्यसमा यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अन्य विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । संशोधनपछि अब जो सुकैले पनि एक पटक सच्याउन पाउनेछन् ।
विवरण सच्याएको जानकारी भने स्थानीय पञ्जिकाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था संशोधनमा गरिएके छ । विभागले स्थानीय पञ्जिकाधिकारीले पठाएको विवरणका आधारमा सच्याउने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण