बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगञ्जमा हैजा प्रकोपः संक्रमितको सम्पूर्ण उपचार निःशुल्क गर्न मन्त्री पौडेलको निर्देशन

सोमबार, ०९ भदौ २०८२, १८ : ३९
सोमबार, ०९ भदौ २०८२

सारांश

  • स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीरगञ्जमा हैजा संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएका छन्।
  • मन्त्री पौडेलले नारायणी अस्पतालको निरीक्षणपछि निजी अस्पताललाई मानवीय सहयोग गर्न आग्रह गरे।
  • वीरगञ्जमा हैजाका १०३ संक्रमितमध्ये ७९ जनामा संक्रमण पुष्टि भएको छ, र १५१ जना डिस्चार्ज भएका छन्।

वीरगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हैजा संक्रमितहरूलाई निःशुल्क उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका छन् । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज नारायणी अस्पताल निरीक्षणका क्रममा यस्तो बताएका हुन् । 

निरीक्षणका क्रममा अस्पतालमा उपचाररत बिरामीहरूले केही औषधिहरू खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेपछि स्वास्थ्य मन्त्री पौडेलले हैजा संक्रमित बिरामीहरूको सबै उपचार निःशुल्क गर्न निर्देशन दिएका हुन् ।

निरीक्षणपछि नारायणी अस्पतालसहित महानगर र चिकित्सकहरूले महानगरको अवस्थाबारे एक कार्यक्रममार्फत ब्रिफिङ गरेका थिए । 

सम्बोधनका क्रममा स्वास्थ्य मन्त्री पौडेलले कम्तीमा नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीले कुनै प्रकारको औषधि किन्नु नपर्ने गरी व्यवस्थापन गर्न आग्रह गरे । पैसा नलाग्ने गरी परीक्षण र नपुग्ने औषधिहरू निःशुल्क उपलब्ध हुने व्यवस्था गर्न स्वास्थ्य मन्त्री पौडेलले विशेष अनुरोध गरेका थिए ।

प्राइभेट अस्पतालहरूलाई किट उपलब्ध गराउने निर्णय भइसकेकाले त्यो चाँडै उपलब्ध गराइने उनले घोषणा गरे । 

स्वास्थ्य मन्त्री पौडेलले निजी अस्पतालहरूलाई भने, ‘यस्तो विपत्को बेलामा तपाईंहरू मानवता देखाउनुस्, आफ्नो राम्रो पहिचान बनाउनका लागि मानवीय हिसाबले नागरिकलाई सहयोग गर्न अपील गर्दछु । यसले समाजमा निजी अस्पतालहरूको प्रतिष्ठा पनि बढाउनेछ, त्यसकारण यस मानवीय सेवामा तपाईंहरूले सहयोग पुर्‍याउनुहोला ।’ 

वीरगञ्जको अवस्था र हैजाको कारणबारे पत्ता लगाउनका लागि बेग्लै टिम खटाइएको बताउँदै स्वास्थ्य मन्त्री पौडेलले अब चाँडै त्यो कारण पनि सार्वजनिक गरिने स्पष्ट पारे । ‘संक्रमणको कारण पत्ता लगाउन गरिएको जाँचको नतिजा ७२ घण्टापछि आउने भएकाले त्यो समय पार भइसकेको छ, अब चाँडै कारण खुल्नेछ,’ उनले भने । 

महानगरमा आत्मविश्वास गुमाउने अवस्था आइनसकेकाले उमालेर पानी खान स्वास्थ्य मन्त्री पौडेलले आम नागरिकसँग अनुरोधसमेत गरे । निरीक्षणपछि आयोजित ब्रिफिङ कार्यक्रममा मधेस प्रदेश सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले वीरगञ्जमा हैजा नियन्त्रणका लागि स्थानीय र संघीय सरकारसँगै मधेस सरकार पनि हरेक पाटोमा सहयोग गर्न तयार रहेको बताए ।

जनशक्तिसँगै अन्य परीक्षण तथा उपचारमा सबै हिसाबले हातेमालो गर्न मधेस सरकार तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका थिए । 

महानगरमा ६ गतेदेखि पुष्टि भएका हैजाका १०३ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । जसमध्ये आरडीटी किटको परीक्षणअनुसार अहिलेसम्म ७९ जनामा हैजा पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय, पर्साका शाखा अधिकृत जयमोद ठाकुरले बताए । 

१५१ जना उपचारपछि डिस्चार्जसमेत भइसकेका छन् । जनचेतनामूलक कार्यक्रमपछि अहिले अस्पतालमा हैजा संक्रमित बिरामीहरूको संख्या भने घट्दो अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयको विश्लेषण छ ।
वीरगञ्ज महानगरको वडा नम्बर–१२ मुर्ली टोलबाट हैजाका संक्रमितहरू फेला पर्न थालेका थिए ।

त्यसपछि अहिले वडा नम्बरहरू ११, १२, १३, १४, १६ र ३ सहितका वडाहरूमा हैजाका संक्रमित फेला परेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप