तीज भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीक: राष्ट्रपति
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वलाई भावनात्मक एकताको प्रतीकका रूपमा संरक्षण गर्नुपर्ने बताए।
- उनले स्वदेश तथा विदेशमा रहेका महिला दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
- राष्ट्रपति पौडेलले तीज पर्वले महिलाको सम्मानजनक सहभागिता बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक रहेको बताएका छन् ।
नेपाली हिन्दु महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरेका छन् ।
यस पर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रूपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।
परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । “महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
“शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले हरितालिका (तीज) पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण