आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्जको हैजा नियन्त्रणका लागि निजी अस्पतालहरूको प्रतिबद्धता, आवश्यकताअनुसार लागि बेड र जनशक्ति नि:शुल्क उपलब्ध गराउने

मङ्गलबार, १० भदौ २०८२, ११ : २१
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • वीरगन्जमा हैजाको प्रकोप बढ्दै गएपछि निजी स्वास्थ्य संस्थाहरूले बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्य सरोकारवालाहरूबीच छलफल भई महामारी नियन्त्रणका लागि विभिन्न कदम चाल्ने सहमति भएको छ।
  • पर्साका प्रमुख जिल्ला अधिकारीले सरकारी र निजी अस्पतालको समान जिम्मेवारी रहने बताउँदै आर्थिक लाभ उठाउने प्रवृत्ति रोक्न चेतावनी दिए।

वीरगन्ज । झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै पर्साको वीरगन्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यकताअनुसार बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। वीरगन्ज महानगरमा सोमबार साँझ बसेको बैठकका क्रममा निजी अस्पतालका सञ्चालकहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

 छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन , युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरू सहभागी थिए।

महानगर प्रमुख राजेशमान सिंहले वीरजन्जमा फैलिएको महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह गरे । 

छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमति गरिएको छ।

नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उपचार पद्धति अपनाए धेरै मात्रामा सहज हुने बताए । 

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने उल्लेख गर्दै, आवश्यक नपर्दा पनि जबरजस्ती आइसीयुमा बिरामी राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोक्न चेतावनी दिए । उनले औषधि उपलब्धता र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै अन्य स्थानीय तहलाई पनि अग्रिम तयारीमा जुट्न निर्देशन दिए । 

स्वास्थ्य विज्ञहरूले हाल हैजाका बिरामीहरूको सङ्ख्या क्रमशः घट्दो अवस्थामा रहेको भए पनि सबै पक्षको हातेमालो र सहकार्यबाट मात्र महामारी नियन्त्रण सम्भव हुने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप