फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
सारांश
- फिफा विश्वकप २०२६ मेक्सिको सिटीमा उद्घाटन समारोह, नृत्य प्रस्तुति र विश्वप्रसिद्ध गायिका सकिराको विशेष प्रस्तुतिसहित सुरु भयो ।
- यसका अलावा मेक्सिकन गायक फेर ओल्भेरा, कोलम्बियाका जे बाल्भिन, अफ्रोबीट्स स्टार बर्ना बोय र ल्याटिन संगीत कलाकार ड्यानी ओसियनले पनि प्रस्तुति दिएका थिए ।
- यस के देखिन्छ भने अब विश्वकप लगायतका ठुला खेलउत्सवको लागि सांगितिक प्रस्तुति पूर्णतया परिपूरक बनिसकेका छन् ।
फिफा विश्वकप २०२६ मेक्सिको सिटीमा चमकधमकपूर्ण उद्घाटन समारोह, नृत्य प्रस्तुति र विश्वप्रसिद्ध गायिका सकिराको विशेष प्रस्तुतिसहित सुरु भयो । मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियममा हजारौँ समर्थकमाझ भएको उद्घाटन समारोहमा सकिरासहित कोलम्बियाका जे बाल्भिन, अफ्रोबीट्स स्टार बर्ना बोय र ल्याटिन संगीत कलाकार ड्यानी ओसियनले प्रस्तुति दिएका थिए ।
यसका अलावा मेक्सिकन गायक फेर ओल्भेरा पनि स्टेजमा देखा परे । स्टेडियममा दर्शकहरू झुमिरहेका थिए र वातावरण अत्यन्तै उल्लासपूर्ण देखिएको थियो ।
मेक्सिकोले जसैगरी अन्य दुई सहआयोजक संयुक्त राज्य अमेरिका र क्यानडाले पनि आ–आफ्ना मुलुकमा भव्य उद्घाटन समारोह आयोजना गरे । सन् १९९४ पछि पहिलो पटक आफ्नै भूमिमा विश्वकप आयोजना गरिरहेको संयुक्त राज्य अमेरिकाले लस एन्जलसमा गरेको भव्य उत्सवमा दक्षिणी क्यालिफोर्नियाकी चर्चित गायिका केटी पेरी खेलाडीहरू मैदानमा प्रवेश गर्नुअघि नै मञ्चमा उत्रिइन् । उनीभन्दा पहिले पूर्वी तटका र्यापर फ्युचर तथा अन्य लोकप्रिय कलाकारहरूले पनि प्रस्तुति दिएका थिए । यस समारोहमा ग्रामी पुरस्कार विजेता दक्षिण अफ्रिकी गायिका टायला, ब्राजिली गायिका तथा गीतकार अनिट्टा र के–पप समूह ब्ल्याकपिङ्ककी सदस्य लिसाले पनि प्रस्तुति दिएका थिए ।
सेलिब्रिटीहरूको उपस्थिति मञ्चमा मात्र सीमित रहेन । हलिउडका अभिनेता ओवेन विल्सन, पेरिस हिल्टन र सोफिया भेर्गारा समेत दर्शकदीर्घामा देखिएका थिए । अभिनेता जेसन सुडेकिसले मैदानमा सानो झण्डा परेडको नेतृत्व गर्दैथिए । खेल सुरु हुनुअघि नै हजारौं समर्थक भेला भएका थिए । केही समर्थक एल्भिस प्रेस्ली, जर्ज वासिङ्टन, अंकल स्याम र डेभी क्रोकेटजस्ता अमेरिकी प्रतीकात्मक व्यक्तित्वको भेषमा देखिएका थिए ।

यसैगरी क्यानडाले टोरोन्टोमा आफ्नै उद्घाटन समारोह आयोजना गरेको थियो । त्यहाँ गायक–गायिका एलानिस मोरिसेट र माइकल बुब्लेले प्रस्तुति दिएका थिए ।
त्यस्तै फिफाले जुलाई १९ मा हुने न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमको फाइनल खेलका लागि करिब १०० वर्षको इतिहासमा पहिलोपटक विश्वकप फाइनलमा सुपर बाउल शैलीको हाफटाइम शो आयोजना गर्दै छ । यस कार्यक्रममा कोल्डप्लेका क्रिस मार्टिन, म्याडोना र सकिरा मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन् । विश्वकपको फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेलाइनेछ ।
यस के देखिन्छ भने अब विश्वकप लगायतका ठुला खेलउत्सवको लागि सांगितिक प्रस्तुति पूर्णतया परिपूरक बनिसकेका छन् । एउटा पपुलर कल्चरका रूपमा संगीत र फुटबल अभिन्नसँग जोडिएका छन् । विश्वकप अब खेलको उत्सव मात्र नभएर विश्वभरिका संस्कृति, भावना र संगीतलाई एउटै सुत्रमा बाँध्ने एउटा महाकुम्भ पनि भएको छ । त्यसैले पनि रंगशालामा खेल सुरु हुनुअघि र समापनका क्रममा हुने सांगीतिक प्रस्तुतिहरूले खेलजत्तिकै महत्त्व पाउने गरेका छन् । निश्चय नै खेलको जोसलाई संगीतको तालले थप उचाइमा पुर्याउने परम्परा विश्वकपजत्तिको पुरानो नभए पनि ६ दशकयता भने यसले विश्वभरिका दर्शकहरूलाई मन्त्रमुग्ध पार्दै आएको छ ।
सांगीतिक परम्पराको सुरुवात (१९६२–१९८० को दशक)
फिफा विश्वकपमा आधिकारिक रूपमा संगीतको समावेश गर्ने परम्परा सन् १९६२ को चिली विश्वकपबाट सुरु भयो । चिलीका ब्यान्ड लोस र्याम्बलर्सले गाएको ‘एल रक डेल मुन्डायल’लाई अनौपचारिक तर आम दर्शकले मान्यता दिएको पहिलो विश्वकप गीत मानिन्छ । त्यसपछि सन् १९६६ मा इङ्गल्याण्डमा भएको विश्वकपका लागि लोनगानको ‘वर्ल्ड कप विली’ र सन् १९७० मा मेक्सिकोमा भएको ‘फुटबल मेक्सिको ७०’ जस्ता गीतहरूले स्थानीय संस्कृति र फुटबलको भावनालाई उजागर गरे । यस अघिका सांगीतिक प्रस्तुति केवल मार्चिङ ब्यान्ड वा स्थानीय परम्परागत धुनहरूमा सीमित थिए ।
आधुनिक पप युग र फिफाको आधिकारिकता (१९९० को दशक)
सन् १९९० को इटाली विश्वकपबाट फुटबल संगीतले व्यावसायिक रूप लियो । जर्जियो मोरोडरको नेत्तृत्वमा एडोआर्डो बेन्नाटो र जियाना नानिनीले गाएको ‘अनेस्टेटे इटालिना’ गीत निकै चर्चित बन्यो, जसलाई आजसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप संगीतमध्ये एक मानिन्छ ।

यद्यपि विश्वकप सांगीतिक प्रस्तुतिमा वास्तविक क्रान्ति भने सन् १९९८ को फ्रान्स विश्वकपमा आयो । पोर्टोरिका का गायक रिकी मार्टिनले गाएको ‘ला कोपा डे ला भिडा’ले विश्वभरि तहल्का मच्चायो । उद्घाटन र समापन समारोहमा उनको ऊर्जावान् प्रस्तुतिले रंगशालालाई नै एउटा डान्स स्टेजमा परिणत गरिदियो अनि विश्वकप फुटबल र संगीतबिचको अन्तरलाई पपुलर कल्चररुपी डोरीले कहिल्यै नछुटिनेगरी बाधिँदियो । अब भने विश्वकप गीतहरू केवल खेलको प्रचार गर्ने माध्यम मात्र भएनन् बरु अपेक्षित रूपमा आफै विश्वव्यापी ‘हिट पप’को रूपमा उभिने थाले । सुन्दर खेलले जत्तिकै ध्यान र चासो विश्वकप गीतले पनि पाउन थाले ।
सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मञ्च (२०००–२०१८)
त्यसैगरी सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा अनास्तासियाको ‘बुम’ र सन् २००६ को जर्मनी विश्वकपमा इल डिभो र टोनी ब्राक्सटनको ‘टाइम अफ आवर लाइभ्स’जस्ता गीतहरूले शास्त्रीय र आधुनिक पपको सुन्दर संयोजन प्रस्तुत गरे ।
सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा कोलम्बियन पप स्टार सकिराले गाएको ‘वाका–वाका, दिस टाइम फर अफ्रिका’ले इतिहासकै सबैभन्दा बढी रुचाइएको विश्वकप गीतको कीर्तिमान बनायो । अफ्रिकी संगीत र आधुनिक बिट्सको फ्युजन रहेको यस गीतको उद्घाटन समारोहको प्रस्तुतिले विश्वलाई नै झुमायो ।
यसैगरी सन् २०१४ को ब्राजिल विश्वकपमा पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटको ‘इभी इबी’ तथा सन् २०१८ को रुस विश्वकपमा निकी ज्याम, विल स्मिथ र इरा इस्ट्रेफीको ‘लाइभ इट अप’ले विश्वकपको सांगीतिक विरासतलाई निरन्तरता मात्र दिएन, संगीतको उपस्थिति र अश्तित्वलाई थप बलियो बनायो ।
आधुनिक समय र बहु–सांस्कृतिक संगीत (२०२२–२०२६)
सन् २०२२ को कतार विश्वकपमा फिफाले एउटा मात्र गीतको सट्टा बहु–सांस्कृतिक कलाकारहरू समेटिएको सिङ्गो साउन्डट्र्याक एल्बम नै सार्वजनिक गर्यो । त्रिनिदाद कार्डोना, डाभिडो र आयशाको ‘हाया हाया–बेटर टुगेदर’ तथा बीटीएस समूहका सदस्य जङकुकले कतारको अल बायत रंगशालाको उद्घाटन समारोहमा दिएको ‘ड्रिमर्स’ले पनि विश्वभरिका युवा पुस्तामाझ ठुलो चर्चा कमायो ।
वर्तमान समयमा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरिरहेको २०२६ फिफा विश्वकपमा सांगीतिक प्रस्तुतिले अझै विशाल रूप लिएको छ । चर्चित डीजे डेभिड गुएट्टा, प्रसिद्ध इटालियन टेनोर एन्ड्रिया बोसेली, अमेरिकी र्यापर मेगन थी स्टालियन र कोरियन गायिका ईजेको सहकार्यमा तयार पारिएको आधिकारिक एन्थम ‘डिएनए’को मेक्सिको सिटीको अज्टेका स्टेडियममा भएको भव्य उद्घाटन प्रस्तुतिले शास्त्रीय र आधुनिक हिप–हपको अभूतपूर्व फ्युजन प्रदर्शन गरेको छ । साथै शकिरा र बर्न ब्वाईको ‘डाई डाई’ तथा नोरा फतेहीको ‘सिर सिर’ जस्ता बहुभाषिक गीतहरूले रंगशालाको माहोललाई थप रोमाञ्चक बनाएका छन् ।
फिफा विश्वकपमा सांगीतिक प्रस्तुतिको इतिहासले कसरी खेलकुद र कला एकअर्काका परिपूरक हुन् भन्ने कुरालाई स्पष्ट पारेको छ । सुरुवाती दिनका सामान्य मार्चिङ धुनहरूबाट विकसित हुँदै आज विश्वकपका प्रस्तुतिहरू बहु–सांस्कृतिक, बहुभाषिक र करोडौं डलरको लगानीमा आधारित विश्वव्यापी सांगीतिक उत्सव बनिसकेका छन् ।

विश्वकपमा प्रश्तुत गरिने संगीतले रंगशालामा खेलाडी र दर्शकको ऊर्जा बढाउने मात्र नभई, भाषा र भूगोलको सिमाना भन्दा माथि उठेर ‘फुटबलले संसारलाई जोड्छ’ भन्ने भावनालाई जीवन्त बनाएको छ ।
रंगशाला र गीतसंगीतको आलोचना
यद्दपि फुटबल र संगीतको फ्युजनलाई आलोचनात्मक दृष्टिकोणबाट पनि हेरिने गरिन्छ । माक्र्सवादी दृष्टिकोणले खेलकुद र संगीतलाई ‘सांस्कृतिक उद्योग’ कै एउटा हिस्सा मान्छ । ट्रिग्भे बि ब्रोचले ‘द कल्चरल सोसियोलोजी अफ स्पोट्र्स’मा उल्लेख गर्छन् कि खेलकुद रंगशालाको संगीतले आम जनताको ध्यान सामाजिक–आर्थिक वास्तविकताबाट हटाएर निष्क्रिय उपभोक्ता बनाउने काम रंगशालाको पप संगीतले गर्ने गर्छ । यसले आम मानिसका क भावनाहरूो वस्तुकरण गर्छ ।
अर्कोतर्फ सांस्कृतिक समाजशास्त्रीहरूले यस्ता प्रस्तुतिहरूलाई आधुनिक धर्मनिरपेक्ष अनुष्ठानको रूपमा व्याख्या गर्छन् । निकोलाई ग्रागजारको ‘पपुलर म्युजिक एण्ड फुटबल’ले उल्लेख गरे अनुसार, संगीतले सामूहिक पहिचान निर्माण गर्छ र मनोविज्ञानमा ‘कानुनी डोपिङ’ जस्तै काम गरी प्रदर्शन र उपभोक्ता संलग्नता बढाउँछ । अथात् फुटबलमा यस्ता गीतसंगीतले उत्प्रेरकको भूमिका निभाउँछ ।
यसरी खेलकुदका क्षेत्रमा खेलाडीको प्रदर्शन र उपभोक्ता (दर्शक) को संलग्नता उक्साउन हतिहारका रुपमा गीतसंगीत प्रयोग हुने गरेको भनेर यसको तीव्र आलोचना पनि हुने गरेको छ । तर धेरैको राय खेलकुद र संगीतलाई केवल पूँजीवादी चलखेलको रूपमा मात्र हेर्नु हुदैँन भन्ने नै छ बरु अरु सांस्कृतिक रुपान्तरणका सकरात्मक पक्षलाई पनि हेर्नुपर्छ भन्ने छ । कोस्टास काराग्रेसिसका अनुसार, खेलकुदको प्रदर्शन र सांगीतिक प्रस्तुतिको फ्युजन (मिश्रण) ले परम्परागत धार्मिक जमघटहरूलाई प्रतिस्थापन गरिरहेका छन् र धर्मनिरपेक्ष समाज निर्माण गरिरहेका छन् ।

कस्तो छ त नेपाली खेलकुदमा गीतसंगीतको प्रयोग ?
नेपालमा समेत खेलकुद प्रतियोगितामा गीतलाई समावेश गर्ने परिपाटी भने छ तर निश्चित प्रतियोगिताका लागि आधिकारिक गीत चयन गर्ने र त्यसलाई खेलकै हिस्सा बनाउने अभ्यास भने देखिँदैन । सातौं राष्ट्रिय खेलकुद (२०७३) : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका लागि टङ्क उप्रेतीको शब्द, सुमित खड्काको स्वर र मनराजा नकर्मीको संगीत रहेको ‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी’ बोलको आधिकारिक गीत सार्वजनिक गरेको थियो ।
पछिल्लो समय नेपालमा क्रिकेट र फुटबलको लोकप्रियता बढेसँगै चर्चित व्यावसायिक गायकहरूले खेल र खेलाडीलाई प्रोत्साहन गर्न विशेष गीतहरू गाउने अभ्यास बढेको छ । क्रिकेट गीतः नेपाली क्रिकेट टोलीको सफलता र समर्थकहरूको जोसलाई समेटेर चर्चित गायक प्रमोद खरेलले गाएको गीत ‘हामी नेपाली, क्रिकेट खेलाडी’ निकै लोकप्रिय छ ।
यसभन्दा पनि खासमा नेपाली खेलाडी सम्मिलित खेलमा ‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ ‘रातो र चन्द्रसूर्य’ जस्ता देशप्रेमी गीतहरूले स्टेडियममा स्वस्फूर्त रूपमा गुञ्जन थाल्छन् । प्रायजसो यस्ता गीत राष्ट्रियताको भावबाट अभिप्रेरित छन् ।
चाहे आधिकारिक गीत बनाइयोस् या नबनाइयोस् ठुला प्रतियोगितामा राष्ट्रियधुन बजाउने तथा विभिन्न समुदायका झाँकी तथा बाजागाजा प्रश्तुत गर्ने हाम्रो परिपाटी पुरानै हो । उपत्यकामा हुने प्रतियोगितामा निश्चय नै धिमेबाजा सहितको लाखे नाच प्रस्तुत गरिन्छ नै । नेपालका ग्रामीण भेगमा खेलिने परम्परागत खेलहरूमा पनि गीत गाउने चलन छ । उदाहरणका लागि, सुदूरपश्चिम क्षेत्रका खेलकुद प्रतियोगितामा स्थानीय मेला र चाडपर्वहरूका झै देउडा गीत गाउने परम्परा बसिसकेको छ ।
यसरी गीत गाउने अभ्यासले केवल मनोरञ्जन दिदैँन, बरु खेलाडीहरूको मनोबल बढाउने तथा राष्ट्रिय एकता सुदृढ गर्ने गर्छ । खासमा, खेलकुद एक उत्सव हो, अनि जब यसमा संगीत मिसाइन्छ यो महा–उत्सवमा बदलिन्छ, कार्निभलमा बदलिन्छ, यसले सबैखाले उचोनिचो तहलाई भत्काइदिन्छ र हरेकलाई यस महा–उत्सवमा सरिक हुन उत्तिकै अवसर र स्पेस दिन्छ ।
यो ठ्याक्कै ग्रीसेली सभ्यताको अंगुर भित्रियाइसकेपछिको उत्सव (कार्निभल) जस्तै हो जहाँ उत्सवभर दासदेखि शासकसम्म सबै बराबरीको हैसियतमा हुन्थे ।
(तस्बिरहरूः उल्लिखित तस्बिरहरू विभिन्न समयमा भएका फिफा विश्वकपमा कलाकारहरूले दिएका प्रस्तुतिहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण