बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

इम्बोस्ड नम्बर प्लेटबारे जान्नैपर्ने प्राविधिक कुरा

मङ्गलबार, १० भदौ २०८२, १२ : ५०
मङ्गलबार, १० भदौ २०८२

सरकारले असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरिसकेको छ । यो निर्णयको कतिपयले आलोचना पनि गरिरहेका छन् ।  

यसमा मैले इम्बोस्ड नम्बर प्लेटको प्राविधिक विषय बुझाउन खोजेको छु । विरोध वा समर्थन गर्ने तपाईंहरुको आफ्नो निजी विषय हो ।

- इम्बोस्ड नम्बर प्लेट भनेको प्रविधिको प्रयोग भएको प्लेट हो । यो अहिले हामीले प्रयोग गर्दै आएको साधारण नम्बर प्लेटको डिजिटाइज्ड फर्म हो ।

- अहिले जसरी हामीले हातहातमा मोबाइल बोकिरहेका छौँ, पहिला ल्यान्डलाइन फोन थियो, त्यसपछि प्रविधिमा सुधार गरिएको मोबाइल फोन आयो । यस्तै नम्बर प्लेटको प्रविधि सुधार गरिएको रूप इम्बोस्ड नम्बर प्लेट हो ।

- इम्बोस्ड नम्बर प्लेटमा साधारण नम्बर प्लेटको जस्तो नम्बर पनि भयो र त्यसमा एउटा चिप पनि जडान गरिएको हुन्छ । त्यो चिपमा सवारीको सम्पूर्ण विवरण राखिन्छ । जे–जे जानकारी चाहिए पनि त्यो चिपमा राख्न सकियो । यो जीपीएस प्रविधि होइन, निजी गोपनीयता भन्ने विषय लागु हुँदैन । 

- इम्बोस्ड नम्बर प्लेट रिडर भनेर गेटहरू (आरएफआईडी) पनि बनाउनुपर्छ । त्यो गेटबाट सवारी छिरेपछि यो यहाँबाट छिर्‍यो, यता गयो भन्ने पनि थाहा हुन्छ ।

- अहिलेको इम्बोस्ड नम्बर प्लेटले सामान्य जानकारी मात्र दिने भयो । आरएफआईडी गेट जुन ठाउँमा छ, त्यहाँ पुग्दा मात्र जानकारी थाहा हुने भयो । त्यो कुन–कुन गेटबाट छिर्‍यो ? जस्तो- नागढुंगाबाट सवारी छिरेको थाहा हुन्छ, त्यसपछि कता गयो भन्ने थाहा हुँदैन । तर जीपीएस जडान भएको भए रियल टाइममा कहाँ छ भन्ने कुरा थाहा हुन्थ्यो ।

- तैपनि, हालको साधारण प्लेटभन्दा सरकारले लागु गर्दै गरेको इम्बोस्ड नम्बर प्लेट प्रविधिमैत्री छ । थोरै भए पनि जानकारी पत्ता लगाउन सकिने भयो । सवारी कहिले आयात भयो ? यसको धनी को हो ? कर तिरेको छ कि छैन ? यसको ग्रीन स्टिकर, वातावरण चेकजाँचका सबै जानकारी चिपमा राख्न सकिन्छ र त्यो चिप रिडरले यो समयमा दर्ता भयो कि भएन लगायतका विवरण पत्ता लगाउँछ । कुन सहरमा कति सवारीसाधन गुडेका छन् भन्ने जानकारी पनि हुन्छ । कुन सडकमा कति सवारी गुडेको पनि थाहा पाउन सकिन्छ, जसले यातायात व्यवस्थापनमा सहज हुन्छ ।

- सवारीसाधन हराउँदा खोज्न सजिलो हुन्छ । त्यस्तै, इम्बोस्ड नम्बर प्लेट भएपछि ब्लुबुक, लाइसेन्स, नवीकरण गरेका कागजातहरू केही पनि बोक्नु परेन ।

- इम्बोस्ड नम्बर प्लेटको शुल्क महँगो भयो भनेर विरोध भइरहेको छ । अब मानिसहरू त भइरहेकोमा खर्च गर्न चाहँदैनन् । त्यही भएर अहिले जो–जो नयाँ दर्ता हुन्छन्, त्यसमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरी त्यसपछि चरणबद्ध रूपमा लागु गरिनुपर्छ । आजको मितिबाट पाँच वर्षभित्र चरणबद्ध गर्ने, आफूसँग पैसा भएपछि यसलाई परिवर्तन गर्ने भनेर एउटा योजना बनाएको भए अझ उत्तम हुन्थ्यो । शुल्क महँगो चाहिँ हो, घटाउन अनुरोध गर्न चाहन्छु । अधिकतम १ हजार रुपैयाँमा सीमित गर्न सके विरोध हुँदैन थियो होला । 

- यो केका लागि प्रयोग गर्ने ? अहिले भइरहेको साधारण प्लेट र यो डिजिटल इम्बोस्ड प्लेटमा के फरक छ ? के फाइदा हो ? यो खर्च गरेपछि हामीलाई के फाइदा हुन्छ ? यसबारे राज्यले जनतालाई बुझाउनुपर्‍यो । नबुझाउने, अनि खाली २५ सय, ३ हजार खर्च गरेर नयाँ नम्बर प्लेट राख भनेजस्तो जनताले बुझेकाले उनीहरू यो राख्न उत्साहित नभएको अवस्था छ ।

- धेरैले यो नम्बर नेपालीमा हुनुपर्ने आवाज उठाएका छन् । आफ्नो भाषामा हुँदा उत्तम नै हुन्छ । हामी अब सबै क्षेत्रमा नेपाली भाषा तथा संकेत प्रयोग गर्ने गरौँ ।

- पैसा पनि तिर्ने, झन्झट पनि हुने भनेर पनि ठुलो विरोध छ । पूर्ण व्यवस्थापन भएको छ त ?

- देशभर ६५ लाख भन्दा बढी सवारी दर्ता छन् । विना झन्झट व्यवस्थित तवरबाट सेवा दिन तयार छौँ ?

- शुल्क पनि तिर्नु, अनि फेरि स्मार्ट लाइसेन्स जस्तो २-३ वर्ष कुर्नु पर्दैन ?

- समयतालिका बनाएर लागु गर्ने योजना बनाएको भए हुन्थ्यो । 

- आवश्यक पूर्वाधार पनि तत्काल बनाउनुपर्छ । जस्तै- आरएफआईडी गेट । रिडर मेसिनको व्यवस्थापन तत्काल हुनुपर्छ ।

- राज्यले यो विषय प्रयोगकर्तासँग छलफल नगरी, बुझाउन नसकी लागु गर्न खोज्दा समस्या आएको हो । छलफल र सूचना दिन ढिला नगरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गजुरेल
आशिष गजुरेल
लेखकबाट थप